१ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार समूह सी को अन्तिम खेलमा हङकङ र बहराइन खेल्दै छन् ।
नेपाली टोलीले आफ्नो सबै खेल खेलिसकेको भएपनि यस खेलले नेपालका लागि पनि अर्थ राख्नेछ । त्यसकारण नेपालले पनि यस खेल नजिकबाट नियाल्ने छ ।
यस खेलको नतिजाले नेपाल समूह चरणबाट सुपर थ्री चरणमा अघि बढ्ने वा नबढ्ने निष्कर्ष निस्कनेछ ।
यस खेलमा बहराइन विजयी भएमा नेपाल सबैभन्दा बढी अंकसहित समूहविजेता बनेर अघिल्लो चरण अर्थात् ‘सुपर थ्री’मा पुग्नेछ । यद्यपी यस खेलमा हङकङ विजयी भएमा भने नेपालको यात्रा समूह चरणबाटै समाप्त हुनेछ।
तर वर्षाका कारण खेल रद्द भएमा अंक बाँडिदा नेपाल र हङकङको समान ५ अंक हुनेछ भने त्यसपछि नेपाल नै अघि बढ्ने सम्भावना रहन्छ । सबैभन्दा धेरै २ जित निकालेको आधारमा नेपाल समूहविजेता बन्न सक्नेछ ।
यसभन्दा पहिलेको प्लेइङ कन्डिशन अनुसार अंक बराबर भए धेरै जित निकालेको टोली अगाडि बढ्ने प्रावधान भएकाले यसपटक पनि सोही नियम लागु हुने देखिन्छ ।
नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक छ । हङकङको ३ खेलमा १ जित र २ नतिजाविहीन हुँदा ४ अंक छ । हङकङ विजयी भएमा ६ अंकसहित समूहविजेता बन्नेछ भने वर्षाले अंक बाँडिएमा नेपालसँग समान ५ अंक हुनेछ तर हङकङ १ जितमै सीमित हुनेछ ।
९ टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका ३-३ टोलीबाट शीर्ष टोली सुपर थ्री मा पुग्नेछन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् ।
प्रतिक्रिया 4