+
+
Shares

काठमाडौंको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको प्रक्रिया सुरु गरिएको छ। यसले नागरिकलाई प्रशोधित र सफा पानी उपलब्ध गराउने उद्देश्य राखिएको छ।
  • मेलम्ची परियोजनाबाट दैनिक २७० मिलियन लिटर पानी काठमाडौंको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ।

२ जेठ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौं महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको हो ।

काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिए ।

‘काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान र मन्त्रीज्यूको निर्देशन पश्चात् हामीले उक्त कार्यका लागि आज बोलपत्र समेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो,’ चौधरीले भने ।

वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ ।

बालाजु ट्यांकीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले जनाएको छ ।

उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौं उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्‍याउने खानेपानी मन्त्रालयले विश्वास लिएको छ ।

उक्त प्रक्रिया सूचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन् । सो कार्यका लागि अहिले काठमाडौं उपत्यकाभरिका नागरिकहरूलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फास्ट ट्रयाकअन्तर्गत अगाडि बढेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?