+
+
Shares

मेलोनीलाई अल्बानियाका प्रधानमन्त्रीको घुँडा टेकेर नमस्कार 

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र अल्बानियाका प्रधानमन्त्री एडी रामाले अनौठो र सम्मानजनक शैलीमा भेटवार्ता गरेका छन् । जहाँ एडीले मेलोनीलाई घुडा टेकेर नमस्कार गर्दै स्वागत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र अल्बानियाका प्रधानमन्त्री एडी रामाले अनौठो र सम्मानजनक शैलीमा भेटवार्ता गरेका थिए।
  • रामाले मेलोनीलाई सम्मान गर्न घुँडा टेकेर स्वागत गरे र यसले उनीहरूको राम्रो समझदारी र रणनीतिक सम्बन्धलाई दर्शाउँछ।
  • भविष्यमा युरोपेली संघमा अल्बानियालाई समावेश गर्न र आर्थिक सहयोग जारी राख्न इटाली र अल्बानियाबीच सहमति भएको छ।

३ जेठ, काठमाडौं । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी अल्बानियाको भ्रमणमा छिन्। त्यहाँ शुक्रबार अल्बानियाका प्रधानमन्त्री एडी रामाले घुँडा टेकेर मेलोनीको स्वागत गरे।

रेड कार्पेटमा घुँडा टेकेर बसेका रामाले मेलोनीलाई ‘नमस्ते’ गर्दै अभिवादन पनि गरे। मुसलधारे वर्षाका बाबजुद पनि उनको आकर्षक र प्रभावशाली स्वागत गर्ने शैली अहिले चर्चामा रहेको छ ।

चर्चामा अनौठो स्वागत

कहिलेकाँही स्वागतका लागि दुई नेताले हात मिलाएर औपचारिकता निभाउनु मात्र पर्याप्त हुँदैन ।

शुक्रबार अल्बानियाँको तिरानामा आयोजित युरोपियन पोलिटिकल कम्युनिटी समिटका लागि नेताहरूका लागि ओछ्याइएको रातो कार्पेट हुँदै इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी अघि बढिरहेकी थिइन्।

त्यसैबेला, अल्बानियाका प्रधानमन्त्री एडी रामाले छाता फ्याँकेर वर्षामै एउटा घुँडा टेकेर हात जोड्दै स्वागत गरे।

‘एडी, होइन!’ नजिक जाँदै मेलोनीले मुस्काउँदै भनिन् ।

त्यसपछि उनले त्यहाँ उपस्थित पत्रकारहरूलाई अंग्रेजीमा मजाक गर्दै भनिन्, ‘उनी (रामाले) यस्तो गर्छन् ताकि मेरो उचाइ बराबर देखियोस्।’

रामाको उचाइ ६ फिट ७ इन्च छ भने मेलोनी केवल ५ फिट ३ इन्चकी । उनी युरोपका सबैभन्दा होचो नेताहरूमा पर्छिन्।

तर उनीहरूबीच केवल भौतिक बनावटमा मात्र भिन्नता छैन।

रामाले अल्बानियाको समाजवादी पार्टीको नेतृत्व गर्छन् भने मेलोनी युरोपको राजनीतिक स्पेक्ट्रमको दक्षिणपन्थी धारकी नेतृ हुन्। यद्यपि, यी दुई नेताबीच स्पष्ट रूपमा राम्रो समझदारी देखिएको छ।

रामाको शैली कि रणनीति ?

रामाले मेलोनीप्रति सार्वजनिक सद्भाव देखाएको यो पहिलो घटना भने होइन। यस वर्षको सुरुमा अबुधाबीमा आयोजित कार्यक्रममा पनि उनले पत्रकार र युएईका प्रतिनिधिहरूको अगाडि घुँडा टेकेर मेलोनीलाई उपहारस्वरूप स्कार्फ दिँदै ४८औँ जन्मदिनको शुभकामना दिएका थिए।

सन् २०२४ मा अजरबैजानमा भएको शिखर सम्मेलनमा भेट हुँदा पनि उनले यस्तै सम्मानजनक शैली अपनाएका थिए।

‘उनी सज्जन व्यक्ति हुन् र मेलोनीसँग आकर्षण छ,’ इटालीको भू-राजनीतिक पत्रिका लाइम्सका वैज्ञानिक सल्लाहकार बोर्ड सदस्य जर्मानो डत्तोरीको तस्बीरबारे टिप्पणी टेलिग्राफमा प्रकाशित छ ।

मेलोनीले चर्चित प्रविधि उद्यमी एलन मस्कलाई समेत प्रभावित पारेकी छिन्, जसले मेलोनीको नीतिको खुलेर समर्थन गरेका छन्। बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग पनि मेलोनीको हाँसोठट्टाले भरिएको सम्बन्ध देखिन्छ।

सुनकका प्रवक्ताले भनेका छन्, ‘उनीहरू स्पष्ट रूपमा एकअर्कासँग मिल्छन्, किनभने दुवै एकै समयमा निर्वाचित भएका थिए।

तर एडी रामाको यस्ता सद्भावनापूर्ण शैलीहरू रणनीतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण देखिन्छन्। इटालीले अल्बानियामा आप्रवासी केन्द्र सञ्चालन गर्न ठूलो आर्थिक सहयोग प्रदान गर्दै आएको छ, साथै अल्बानियालाई युरोपेली संघमा समावेश गराउन पनि समर्थन गर्दै आएको छ।

शुक्रबार तिरानामा सम्पन्न भेटघाटहरूले आगामी दिनमा रोममा हुने कूटनीतिक भेटघाटहरूको मञ्च तयार गरेको छ। संसारभरका नेताहरू र धार्मिक प्रतिनिधिहरू आइतबार पोप लियो चौधौंको उद्घाटन समारोहमा भाग लिन रोम आउँदै छन्।

क्याथोलिक सम्प्रदायका रहेका अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो आइतबारको औपचारिक उद्घाटनमा सहभागी हुनेछन्, जुन नयाँ पोपको कार्यकालको आधिकारिक सुरुवात हुनेछ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थनी अल्बानीज, साथै बकिङ्घम प्यालेसका अनुसार एडिनबरा ड्युक प्रिन्स एडवर्डले राजा चार्ल्सको प्रतिनिधित्व गर्दै कार्यक्रममा भाग लिनेछन्।

प्रधानमन्त्री रामाले सन् २०३० भित्र अल्बानियालाई युरोपियन युनियनमा समावेश गराउने वाचा गरेका छन्। यही लक्ष्यका लागि उनले शुक्रबार राजधानी तिराना शहरमा युरोपेली नेताहरूको आतिथ्य गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?