News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले लगातार दोस्रो पटक गोदावरी मेयर कप फुटबलको उपाधि जित्यो।
- फाइनल खेल सडन डेथमा ८–७ गोल अन्तरले जितिएको थियो।
- प्रतियोगिताले उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबल विकासमा मद्दत गरेको छ।
३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले दोस्रो पटक लगातार गोदावरी मेयर कप फुटबलको उपाधि जितेको छ। फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा ८–७ गोल अन्तरले पराजित गर्दै काठमाडौं विजेता बनेको हो।
टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा सम्पन्न खेलमा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यसपछि पेनाल्टी सुटआउटमा पनि ५–५ को बराबरी भएपछि सडन डेथमार्फत खेलको निर्णय गरिएको थियो।
उपाधिसँगै काठमाडौंले ५ लाख रुपैयाँ नगद र विश्वकै दुर्लभ चरा काँडेभ्याकुर अंकित सुनौलो ट्रफी जित्यो। उपविजेता गोदावरी नगरपालिकाले ३ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गर्यो। अनुशासित टिमको रूपमा मध्यपुर ठिमी नगरपालिकाले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भयो।
प्रतियोगितामा गोदावरीका पासाङ तामाङलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरियो। उनी अघिल्लो संस्करणमा इमर्जिङ प्लेयर बनेका थिए। गोदावरीकै अरुण लामाले ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बने। फाइनल खेलको म्यान अफ द म्याच काठमाडौंका गोलकिपर सुदीप गिरी भए।
त्यस्तै गोदावरीका विवेक सिलवाल उत्कृष्ट गोलरक्षक घोषित भए भने काठमाडौंका सरोज तामाङ उत्कृष्ट डिफेन्डर बने। काठमाडौंका सन्तोष न्यौपानेले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते। गोदावरीका समिर तामाङ इमर्जिङ प्लेयर घोषित भए। यी सबै विधामा विजेताहरूलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो।
प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका गरी १३ वटा पालिकाका टिमहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताले उपत्यकामा नयाँ खेलाडी उत्पादन र स्थानीय तहमा फुटबलको विकासमा टेवा पुर्याएको छ। गोदावरी नगरपालिकाले आयोजना गर्दै आएको यो प्रतियोगिता भविष्यमा अझै व्यापक बनाउने योजना रहेको छ।
प्रतिक्रिया 4