+
+
Shares
शिक्षा विधेयक प्रतिवेदन :

शिक्षक महासंघ फेरि असन्तुष्ट, सबै सहमति लत्याइएको आरोप

दर्ता भएको विधेयकभन्दा पनि प्रतिवेदन अनुदार र शिक्षक-कर्मचारी  विरोधी भएको आरोप शिक्षक महासंघको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गर्‍यो, किनभने यसले सहमति भएका बुँदाहरूलाई सम्बोधन गरेन।
  • सहयोगी समितिले विधेयकको प्रतिवेदन पेस गरेपछि महासंघले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
  • महासंघले सडक आन्दोलन गरेको र सरकारसँग सहमति भए पनि ऐन जारी नभएको अवस्थामा असन्तुष्टि व्यक्त गर्‍यो, र रणनीति बनाइरहेको छ।

५ जेठ, काठमाडौ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार गरेको प्रतिवेदनले असन्तुष्ट बनेको छ । महासंघसँग भएको सहमति अनुसार प्रतिवेदन नबनेको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको हो ।

आइतबार प्रतिनिधिसभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेको थियो ।

प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । ‘हामीसँग भएका अधिकांश सहमति सम्बोधन नगर्नेगरी आएको छ । सहमतिमा भएका बुँदा पनि घुमाउरो ढंगले सर्त राखेर आएको छ । सहमति कार्यान्वयन भएन’, अनलाइनखबरसित अध्यक्ष सुवेदीले भने ।

कुन-कुन बुँदामा असहमति हो ती बुँदामा महासंघले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए । ‘महासंघको आज बैठक बस्दै छ । बैठकले आधिकारिक धारणा तय गर्छ’, अध्यक्ष सुवेदीले भने ।

गत चैत २० देखि महासंघले काठमाडौंमा २९ दिन लामो सडक आन्दोलन गरेको थियो । १७ वैशाखमा सरकारसँग सहमति भएपछि महासंघले सहमति अनुसार ऐन जारी नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो । यसबारे महासंघले बैठक बसेर रणनीति बनाउने जनाएको छ ।

१५ असारभित्र ऐन जारी गर्ने सहमति भएको छ तर विधेयकमा रहेको प्रावधानमा महासंघले असन्तुष्टि जनाएको छ  । यद्यपि, उपसमितिले तयार पारेको प्रतिवेदनमाथि समितिमा पनि छलफल हुने छ ।

दर्ता भएको विधेयकभन्दा पनि प्रतिवेदन अनुदार र शिक्षक-कर्मचारी  विरोधी भएको आरोप अध्यक्ष सुवेदीले लगाए । ‘अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी / करार, सिकाइ अनुदान, प्राविधिक धार,  विशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमति बमोजिम न्याय गरेन ।  आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको  घडेरी जस्तै हुने भयो’, उनले भने ।

विधेयकमा व्यवस्था भए अनुसार शिक्षकको सरुवा झन् शिक्षक मारा भएको सुवेदीको टिप्पणी छ । अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन नभएको उनले बताए । उनले अघि थपे, ‘विभागीय कारबाही जस्ताको तस्तै रहयो । बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन ।  सबैलाई अन्याय गर्न खोजियो’, अध्यक्ष सुवेदीले भने ।

वि.स. २०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्याइएको अध्यक्ष सुवेदीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?