+

विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित

२०८२ जेठ  ६ गते १२:०६ २०८२ जेठ ६ गते १२:०६
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले थाइल्याण्डसँग ७८ रनले पराजित हुँदै एसिया छनोटको उपविजेतामा सीमित रह्यो।
  • थाइल्याण्डले १५९ रनको लक्ष्य पुरा गरी एसिया छनोटको उपाधि जित्यो।
  • नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन बनायो, कविता कुँवरले २४ रन गरे।

६ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।

नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित हुँदै एसिया छनोटको उपविजेतामै सीमित रह्‍यो । थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल रह्‍यो ।

थाइल्याण्डले दिएको १५९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा नटआउट रहिन् । रुबिना क्षेत्रीले १२ रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ह्‍याट्रिकसहित ४ विकेट लिइन् । उनले १९औं ओभरमा रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई आउट गरेकी थिइन् । त्यस्तै थिपाथ्चा पुथावोङले ३ विकेट लिइन् । सुलिपर्न लाओमीले १ विकेट लिइन् ।

त्यसअघि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको थियो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाएकी हुन् ।

ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।

नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।

त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय