
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले १५ जेठदेखि हुने आन्दोलन जनताका विरुद्ध भएको टिप्पणी गरे।
- उहाँले राजावादीले गरेको आन्दोलन कुनै दल वा व्यवस्थाका विरुद्ध नभई जनताका विरुद्ध भएको बताए।
- पोखरेलले राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको र विदेश जाने युवाहरूको संख्या बढ्दो रहेको बताए।
६ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले १५ जेठदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्धमा भएको टिप्पणी गरेका छन् ।
४१औं नेत्रलाल पौडेल अभागी स्मृति दिवसलाई मंगलबार सम्बोधन गर्न गृह जिल्ला दाङ आएका पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्ध नभई जनताका विरूद्व भएको बताए ।
‘गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर १५ जेठदेखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन्,’ महासचिव पोखरेलले भने, ‘त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन, नेपाली जनताका विरूद्ध हो । हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?’
राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको दाबी गर्दै पोखरेलले गलत कुराका पक्षमा नलाग्न आग्रह गरे । राजावादीले जनतालाई निरंकुशताको जाँतोमुनि पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै महासचिव पोखरेलले उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ता विरूद्व प्रहार गरिरहेको बताए ।
स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवाहरू विदेश गएर देश नबन्ने समेत टिप्पणी गरे । विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने भन्दै देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्ने बताए ।
विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेको उनको दावी छ । ‘रहरले विदेश जाने पनि छन्,’ उनले भने, ‘देश छोडेर देश निर्माणका कुरा गर्नेको संख्या दिनदिनै बढ्दो छ ।’
प्रतिक्रिया 4