+
+
Shares

पर्यटन बोर्ड पुनर्संरचना गरिँदै, सञ्चालक समितिमा नयाँ प्रावधान

बोर्ड सञ्चालक समितिमा यसअघि निजी क्षेत्रको प्रतिनिधित्वका लागि क्षेत्र तोकिएको थिएन । अब भने ५ जना निजी क्षेत्रका सञ्चालक समिति सदस्यमा क्षेत्र नै तोकिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ जेठ ७ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको सञ्चालन संरचना परिवर्तन गर्न प्रस्तावित विधेयक तयार पारेको छ।
  • प्रस्तावित विधेयकअनुसार, सञ्चालक समितिमा नयाँ सदस्यहरू र योग्यता, अनुभव र उमेर हदको प्रावधान थपिएको छ।
  • मन्त्रालयले ऐन संशोधन गर्नुपरेको भन्दै सर्वसाधारणसँग राय माग गरेको छ।

७ जेठ, काठमाडौं । राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डको सञ्चालन संरचना परिवर्तन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड ऐन २०५३ संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ । जसमा बोर्ड कार्यकारी समितिमा व्यापक परिवर्तनको प्रस्ताव गरिएको छ ।

सञ्चालक समिति अध्यक्ष मन्त्रालयका सचिव रहने प्रावधान यथावत राखिएको छ । सदस्यमध्ये यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहने प्रावधान रहेकोमा त्यसको सट्टा पर्यटन विभागका महानिर्देशक सदस्य रहने प्रावधान समेटिएको छ । मन्त्रालयले प्रत्यक्ष रूपमा सम्बन्धित निकाय समावेश गर्न यस्तो प्रावधान राखिएको स्पष्ट पारेको छ ।

सञ्चालक समितिमा यसअघि निजी क्षेत्रको प्रतिनिधित्वका लागि क्षेत्र तोकिएको थिएन । अब भने ५ जना निजी क्षेत्रका सञ्चालक समिति सदस्यमा क्षेत्र नै तोकिएको छ । जसमध्ये होटल तथा आतिथ्य उद्योगीबाट एक जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव गरिएको छ । ट्राभल, टुर, ट्रान्सपोर्ट तथा डेस्टिनेसन म्यानेजमेन्टबाट एक जना रहने गरी नयाँ प्रावधान राखिएको छ ।

पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक गतिविधिबाट एक जना, नेपालस्थित हवाई सेवा वा हवाई उड्डयन क्षेत्रबाट एक जना र पर्यटन क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीकर्ताबाट एक जना सदस्य रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।

मन्त्रालयले विभिन्न सरोकारवाला क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरी कार्यसमितिको काम कारबाही प्रभावकारी बनाउन यस्तो प्रावधान ल्याउन लागिएको समेत स्पष्ट पारेको छ ।

सञ्चालकको योग्यता तोकियो

विद्यमान पर्यटन बोर्ड ऐनमा सञ्चालकको योग्यता तोकिएको छैन । प्रस्तावित विधेयकमा सञ्चालकको योग्यता समेत तोकिएको छ । अब आफ्नो व्यवसायमा कम्तीमा १० प्रतिशत र त्यसभन्दा धेरै सेयर भएको व्यक्तिमात्र निजी क्षेत्रबाट सञ्चालक बन्न पाउने छ ।

त्यस्तै राजनीतिक दलको सदस्य हुनु हुँदैन । विद्यमान ऐनमा यो प्रावधान नहुँदा व्यवसायी कम, दलका कार्यकर्ता भर्ती केन्द्रका रूपमा बोर्ड सञ्चालक समिति बदनाम भइरहेको थियो । सञ्चालक समिति सदस्य स्नातकोत्तर तह उत्तीर्ण भएमा पर्यटन क्षेत्रमा ५ वर्षको अनुभव भए पुग्ने छ ।

एसएलसी वा सो सरहको योग्यता भए २० वर्षको अनुभव चाहिने गरी योग्यता तोकिएको छ । उमेर हद ६० वर्ष रहने प्रस्ताव गरिएको छ । सञ्चालक समितिमा नियुक्तिको सिफारिस कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठन हुने समितिले नै गर्ने गरी नयाँ प्रावधान राखिएको छ ।

बोर्डमा कर्मचारी नियुक्त गर्दा अधिकृत स्तरको पदमा सेवा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने प्रावधान थप भएको छ । यसअघि सञ्चालक नियुक्तिका लागि मनोनयन सिफारिस समितिको प्रावधान रहेकोमा अब उक्त प्रावधान हटाइएको छ ।

बोर्डबाट व्यवसायको सिफारिस लिनुपर्ने नियम खारेज

विद्यमान ऐनमा कसैले पर्यटन व्यवसायसँग सम्बन्धित कुनै व्यवसाय सञ्चालन गर्ने अनुमति माग्नु अगाडि बोर्डको सिफारिस लिनुपर्ने नियम रहेकोमा त्यसलाई खारेज गरिएको छ । यसको कार्यक्षेत्र पर्यटन विभागको रहेको भन्दै उक्त नियम खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बोर्डको ऐन समसामयिक र अध्यावधिक बनाउन तथा पर्यटन क्षेत्रमा आएका नयाँ अवसर र चुनौती सम्बोधन गर्न ऐनमा संशोधन गर्नुपरेको जनाएको छ ।

राय माग

सरकारले पर्यटन बोर्ड ऐनमा गरिएको प्रस्तावित संशोधनमा राय दिन सर्वसाधारणसँग आह्वान गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै मन्त्रालयले विधेयकमा राय भएमा पठाउन आह्वान गरेको हो ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?