+
+
Shares

मानव तस्करी गिरोहसँग विमानस्थल अध्यागमनका प्रमुखको साँठगाँठ !

एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १७:२८
अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ।
  • प्रमाणहरू फेला परेपछि तीर्थराज भट्टराईलाई पक्राउ गरिएको र मोबाइल जफत गरिएको छ।
  • आयोगले अनुसन्धानका लागि थप कागजात र मोबाइल जाँच गरिरहेको छ।

७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएको छ ।

त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ ।

भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ । ‘मोबाइलमा यससँग सम्बन्धित महत्त्वपूर्ण विवरणहरू छन्’, एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’

अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारिरहेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चाहिँ आफू बाहिर रहेको भन्दै घटनाबारे बताएनन् ।

आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेकोबारे यथेष्ट आधारहरू फेला परेका छन् । यसबारे गृह मन्त्रालयसम्म पनि सूचना पुगेको थियो । त्यसपछि एकदिन अघि मात्र उनी सरुवामा परेका थिए ।

विवादित पृष्ठभूमि 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंबाट पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई पटकपटक विवादमा परिरहने निजामती कर्मचारी हुन् । उनीमाथि करिब एक दशकअघि नै भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ माघ, २०७२ मा काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी भट्टराई लगायत ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले त्यतिबेला विपद् र त्यसपछिको मानविय संकटको बेलामा समेत बदनियत राखि त्रिपाल खरिद गरिएको आरोप लगाएको छ । हुन पनि उनले भन्सार छुटमा ल्याएको त्रिपाल महंगो मूल्यमा खरिद गरेका थिए । उनीमाथि सोझै बजारबाट त्रिपाल खरिद गरेको जिविसले त्यसको गुणस्तर परिक्षण नगरेको भेटिएको छ ।

पछि विशेष अदालतले सफाइ दिएपछि उनी निजामती सेवामा फर्किए । त्यहीबीचमा असार २०७७ मा उनी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा बढुवा भए । बढुवापछि पनि उनी आकर्षक कार्यालयहरूमा पोस्टिङ भइरहे ।

भट्टराई राष्ट्रिय परिचयपत्र विभागको महानिर्देशक समेत भएका थिए । राष्ट्रिय परिचयपत्र रुजु गर्ने संयन्त्रसम्बन्धी ठेक्काका क्रममा उनी विवादमा मुछिएका थिए । त्यसबारेमा उजुरी परेपछि मोरङका प्रमुख जिल्ला अधिकारी रहेका उनलाई गृह मन्त्रालयमा तानिएको थियो । पछि भने थप छानबिन हुन सकेन ।

उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट अध्यागमन कार्यालय पुगेका थिए । त्यहाँ कार्यरत रहँदा मानव तस्करसँग मिलेमतो गरेको उजुरीपछि अख्तियारले छानबिन थालेको थियो । त्यसको सुँइको पाएपछि उनले गृह मन्त्रालयमा नै सरुवा मागेका थिए । मंगलबार मात्रै उनको सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?