News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्रबहादुर राई शीर्ष स्थानमा छन्।
- प्रोफेसनल र एमेच्योर गल्फरहरू सहभागी भएका छन् ।
- प्रतियोगितामा कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ।
७ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सातौं प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’को दोस्रो दिनपछि पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई शीर्ष स्थानमा छन्।
समग्रमा ६-अन्डर १३० को स्कोरमा उनले दिनेश प्रजापतीलाई १ स्ट्रोकले पछि पारेका छन्। आज शुक्रले १-ओभर ६९ को स्कोर गरे। समग्रमा ५-अन्डर १३१ को स्कोरसहित दिनेश दोस्रो स्थानमा उक्लिएका छन्। उनले आज १-अन्डर ६७ को कार्ड खेले।
भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवनकुमार रोक्का समग्रमा ३-अन्डर १३३ को स्कोरमा तेस्रो स्थानमा छन्। रामेले १-अन्डर ६७ को स्कोर बनाए भने भुवनले खराब प्रदर्शन गर्दै ४-ओभर ७२ को स्कोर गरे।
समग्रमा १-अन्डर १३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीपकुमार लामा पाँचौँ स्थानमा संयुक्त छन्। सञ्जयले २-अन्डर ६६ को स्कोर गरे भने निरज र प्रदीपले इभन-पार ६८ को स्कोर बनाए।
त्यस्तै, समग्रमा १-ओभर १३७ को स्कोरमा तोरण विक्रम शाही, वसन्तराज गुरुङ र साबिक विजेता रवि खड्का आठौँ स्थानमा संयुक्तरूपमा रहेका छन्। तोरणले आज १-अन्डर ६७ स्कोर गरे भने वसन्तले इभन-पार ६८ र रविले २-ओभर ७० को स्कोर गरे।
पहिलो दिन ७-अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन्। पहिलो होलमा बर्डी गरे पनि नवौँ होलमा बोगी खेलेर फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। १३औं होलमा एक सट बचाए पनि १५औं र १८औं होलमा बोगी खेले। ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।
दिनेशले तेस्रो होलमा एक सट खेर फाले। छैटौँ होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३४ मा पुरा गरे। त्यसपछि १०औं र १३औं होलमा बर्डी प्रहार गरे। अन्तिम होलको बोगीका बाबजुद ब्याक नाइन १-अन्डर ३३ मा समाप्त गरे।
रामे मगरले नवौँ होलको बोगीका कारण फ्रन्ट नाइनमा १-ओभर ३५ को स्कोर गरे। तर १०औं र १५औं होलमा बर्डी गर्दै ब्याक नाइन २-अन्डर ३२ मा सकाए।
पहिलो दिनका लिडर भुवनले कमजोर प्रदर्शन गर्दा तेस्रो स्थानमा झरे। उनले फ्रन्ट नाइन र ब्याक नाइन दुवै २-ओभर ३६ मा पुरा गरे। उनले छैटौँ, नवौँ, १४औं र १८औं होलमा बोगी खेले।
एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १-ओभर १३७ को स्कोरसहित शीर्ष स्थानमा छन्। उनले आज १-ओभर ६९ को स्कोर जोड्दै निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्। निश्चयले पनि आज १-ओभर ६९ खेलेर समग्रमा २-ओभर १३८ को स्कोर बनाए।
३६ होलको समाप्तिमा ९-ओभर १४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र २ एमेच्योरसहित २५ गल्फरले कट गरेका छन्।
प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धनबहादुर थापा, सुनिल केसी, टंकबहादुर कार्की, किशन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट गरेका छन्।
७२ होलको चारदिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता रहेको छ।
प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार रुपैयाँ हात पार्नेछन्।
साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। चारदिने मुख्य स्पर्धा पश्चात शनिबार ‘प्रो–एम’ प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया 4