+
+
Shares

बेलायती सैनिकले बनाएको सगरमाथा आरोहणको नयाँ विधि विवादमा

चारजना बेलायती पूर्व विशेष फौजका सैनिकहरूले सगरमाथा आरोहणको नयाँ कीर्तिमान स्थापित गरेका छन् । उनीहरूले हिमालमा कुनै ‘एक्लिमटाइज’ नगरी पाँच दिनभित्र सगरमाथा चढ्न सफल भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १४:०४
Photo Credit : Sandro Gromen
बेलायती पूर्व विशेष फौजका सैनिकहरू ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायती पूर्व सैनिकहरूले जेनन ग्यास प्रयोग गरी पाँच दिनमा सगरमाथा आरोहण गरे, जसले अन्तर्राष्ट्रिय चर्चा ल्याएको छ।
  • अक्लिमेटाइजेसन प्रक्रिया नपुगेर आरोहण खतरनाक हुन सक्ने र जेनन ग्यासको वैज्ञानिक प्रभाव विवादास्पद रहेको पर्वतारोही संघले बताए।
  • सामान्यतः ६ देखि ८ हप्तामा हुने आरोहण छोटो समयमा गर्न जेनन ग्यास प्रयोगले अनुकूलन प्रक्रिया छिटो गर्न मद्दत गर्दछ।

८ जेठ, काठमाडौं । चारजना बेलायती पूर्व विशेष फौजका सैनिकहरूले सगरमाथा आरोहणको नयाँ कीर्तिमान स्थापित गरेका छन् । उनीहरूले हिमालमा कुनै ‘एक्लिमटाइज’ नगरी पाँच दिनभित्र सगरमाथा चढ्न सफल भएका छन् ।

‘एक्लिमटाइज’ भनेको उचाइमा बाँच्न शरीरलाई अनुकूल बनाउने प्रक्रिया हो । यही प्रक्रिया अन्तर्गत सन् १९५३ मा सगरमाथाका प्रथम आरोहीद्वय तेन्जिङ नोर्गे र एडमन्ड हिलारी दुई महिनाभन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पुगेका थिए ।

तर बेलायती पूर्व सैनिकहरुले विवादास्पद जेनन ग्यास प्रयोग गरी पाँच दिनमै सगरमाथा आरोहण गरेर फर्किएको विषयले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । यो द्रुत गतिको आरोहण टोलीमा बेलायती सरकारका एक मन्त्री समेत सहभागी थिए । उनीहरूले बुधबार बिहान पृथ्वीको सर्वोच्च शिखर चुमेका हुन् ।

सामान्यतः आरोहीहरूले सगरमाथा चढ्न ६ देखि ८ हप्तासम्म समय खर्चिन्छन्, तर जेनन ग्यासको मद्दतले अघिल्लो तयारी (प्रि-एक्लिमटाइजेसन) सम्भव भएको आयोजकहरूको दाबी छ । यद्यपि, यस ग्यासको वैज्ञानिक प्रभाव विवादास्पद छ र हिमाल आरोहण उद्योगका थुप्रै व्यक्तिहरूले यसको आलोचना गरेका छन्।

सगरमाथा सबैभन्दा छोटो समयमा चढ्ने कीर्तिमान हाल नेपालका ल्हाक्पा ग्यालु शेर्पाको नाममा छ । उनी सन् २००३ मा १० घण्टा ५६ मिनेटमा सगरमाथाको शिखरमा पुगेका थिए ।

बेलायती समूहले पाँच जना शेर्पा गाइड र एक जना क्यामराम्यानको साथमा १६ मेको दिउँसो आरोहण सुरु गरेर २१ मेको बिहान शिखर चुमेको थियो । यसका लागि उनीहरूले कुल चार दिन र १८ घण्टाको यात्रा गरेका थिए ।

जेनन प्रयोगविरुद्ध चेतावनी

जनवरीमा अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए) ले जारी गरेको वक्तव्यमा भनिएको थियो, ‘वर्तमान अनुसन्धान अनुसार, जेनन सास फेर्नुले हिमाली प्रदर्शनमा सुधार ल्याउँछ भन्ने कुनै प्रमाण छैन । यसको गलत प्रयोग खतरनाक हुन सक्छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘एक्लिमटाइजेसन एक जटिल प्रक्रिया हो, जसले मस्तिष्क, फोक्सो, मुटु, मिर्गौला र रगतजस्ता अंगहरूमा असर पार्छ र यो पूर्णरूपमा बुझिएको छैन ।’

किंग्स कलेज लन्डनका सुरक्षा अध्ययन विभागका वरिष्ठ प्राध्यापक आन्द्रियास क्रिगका अनुसार, बेलायत, फ्रान्स र क्यानडाको चेतावनीले अन्य पश्चिमा सरकारहरूलाई पनि इजरायलविरुद्ध उभिन हिम्मत दिन सक्छ ।

‘यसले इजरायलको व्यवहारमा प्रत्यक्ष असर पार्दैन होला, तर अन्तर्राष्ट्रिय छलफलको दायरा फराकिलो बनाउँछ,’ उनले भने ।

हिमाल चढ्न छोटो बाटो ?

एड्रियन बालिङ्गर, जो चीनतर्फबाट सगरमाथा आरोहण गराइरहेका छन्, आफ्ना ग्राहकलाई हाइपोक्सिक टेन्ट प्रयोग गर्न लगाउँछन् र जेनन प्रयोगको विरोध गर्छन् ।

‘यदि तपाईं जेननलाई ‘परफर्मेन्स इन्हान्सर’ को रूपमा प्रचार गर्दै हुनुहुन्छ भने त्यसले निष्पक्षता र नैतिकताको सवाल उठाउँछ,’ उनले बीबीसीसँग कुरा गर्दै भनेका छन् ।

‘मानिसहरू वास्तविक तयारी र प्रशिक्षण गर्नुभन्दा छोटो बाटो खोज्न थालेका छन्,’ उनले थपे ।

अब बेलायती समूहले यस्तो कीर्तिमान राखेपछि अन्य आरोहीहरूले पनि यो विधि अपनाउने सम्भावना बढेको छ।

नेपाल पर्वतारोहण व्यवसायी संघका अध्यक्ष डम्बर पराजुलीले भने यदि यस्तो हुन थाल्यो भने ‘पर्यटनमा नकारात्मक असर पर्ने र आरोहीहरूको बसाइ छोटिने’ बताउँछन् ।

उनले थपे, ‘एक्लिमटाइजेसन पर्वतारोहणको आधारभूत नियम हो। यदि त्यो नगरी चढिएको हो भने त्यस्ता मानिसलाई सर्टिफिकेट दिनु हुँदैन ।’

नेपाल पर्यटन विभागका निर्देशक नारायण रेग्मी बेलायती टोलीले जेनन ग्यास प्रयोग गरी सगरमाथा चढेको जानकारी त्यतिबेला नभएको बताए । उनले भने, ‘हामीलाई बेलायती टोलीले एक्लिमटाइजेसन नगरी चढेको जानकारी थिएन । अब हामी छलफल गरेर आगामी रणनीति तय गर्छौं ।’

किन यस्तो द्रुत आरोहण ?

हिमालमा द्रुत आरोहण गराइरहेका लुकास फुर्टेनबाख हिमालयमा लामो समय बिताउन नपर्ने भएकाले यस्तो आरोहण सुरक्षित र वातावरणीय असर पनि न्यून हुने तर्क गर्छन् । उनले बीबीसीसँग भनेका छन, ‘यो आरोहीहरूका लागि सुरक्षित हुन्छ, किनकि उनीहरू स्वस्थ अवस्थामा चढ्छन् र कम समय जोखिममा रहन्छन् । छोटो अभियानको कार्बन फुटप्रिन्ट पनि कम हुन्छ र वातावरणीय असर पनि न्यून हुन्छ । ‘

बेलायी पूर्व सैनिकहरू सगरमाथा आरोहणमा आउनुअघि शरीरलाई कम अक्सिजनमा बाँच्न तयार पार्ने उद्देश्यले ६ हप्तासम्म हाइपोक्सिक टेन्टमा सुतेका थिए । त्यसपछि उनीहरूले जर्मनीमा जेनन ग्यास सास फेरेर थप तयारी गरेका थिए ।

के हो जेनन ग्यास ?

जेनन ग्यासको सहयोगमा मानिसहरूले हिमाल चढ्नुपूर्व गरिने अनुकूलनका कामहरू छल्न सक्छन् र छिटो हिमाल चढ्न सक्छन् । यसको विभिन्न क्षेत्रबाट विरोध पनि भइरहेको छ ।

पहिले पहिले हिमाल चढ्दा लामो समय तयारी र उचाइमा अनुकूलनका अभ्यासहरू गर्नुपर्ने हुन्थ्यो । अहिले सहयोगीहरूले तयार बनाएको बाटो र सुरक्षा तयारीका बीचमा २ महिना जति तयारीमा हिमाल चढ्ने अभ्यास छ ।

तर जेनन ग्यास प्रयोगपछि अनुकूलनको समय घटेर दुई हप्तामै हिमाल चढ्न सकिने जानकारहरू बताउँछन् ।

याे कृत्रिम उचाइ भएको हाइपोक्सिक टेन्ट, जहाँबाट जेनेरेटर प्रयाेग गरेर अक्सिजन बाहिर निकालिन्छ/Lukas Furtenbach

बुधबार बेलायती टोलीले त यसलाई पनि छोट्याएर एक हप्ता भन्दा कम समयमा सगरमाथा आरोहण गरेको हो । बीबीसीका अनुसार एक व्यक्तिलाई त्यसरी छोटो समयमा आरोहण गर्न करिब १ लाख ७० हजार डलर प्रतिव्यक्ति खर्च लाग्छ ।

अस्ट्रियाली गाइड लुकास फर्टनबाखले ल्याएको यो विधिमा एउटा नौलो जेनन ग्यासमा भर पर्नुपर्ने हुन्छ । जुन एकप्रकारले एनेस्थेटिकको रूपमा प्रयोग गरिन्छ । जेनन ग्यासले शरीरमा रोचक असर पार्छ जसले एरिथ्रोपोएटिन (ईपीयो) भनिने प्रोटिन उत्पादन बढाउँछ ।

एरिथ्रोपोएटिन भनेको के हो ?

यो मानिसको मिर्गौलाले अक्सिनको मात्रा कम हुँदा उत्पादन गर्ने एउटा ग्लाइको प्रोटिन हो । ईपीयोले हाइपोक्सिया अर्थात् शरीरले पर्याप्त अक्सिजन प्राप्त गर्न नसक्ने अवस्थासँग लड्छ ।

रातो रक्त कोशिकाहरूको संख्या र तिनीहरूसँग हुने महत्वपूर्ण प्रोटीन र हेमोग्लोबिन बढाउन यसले भूमिका खेल्छ । जसको मद्दतमा शरीरभरि अक्सिजन पुग्छ ।

सामान्य भाषामा भन्दा उचाइमा पुग्दा कम अक्सिजनको तहमा पनि शरीरलाई अभ्यस्त गराउन जेनन ग्यासले सहयोग पुर्‍याउँछ ।

पर्वतारोही समाजको विरोध

जेनन सबै अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिबन्धित रहेको र यसको प्रयोग पर्वतारोहणमा गर्नु खेदजनक भएको भन्दै पर्वतारोही समाजले विरोध गरेको छ ।

जेनन प्रयोगको सुरक्षा र दक्षताको बारेमा क्लिनिकल अनुसन्धान वा वैज्ञानिक प्रमाणको अभाव बारे पनि प्रश्न उठाइने गरेको छ ।

ईपीओलाई उत्प्रेरित गर्न डिजाइन गरिएका औषधिहरूले मष्तिष्कघात वा फोक्सोसम्बन्धी समस्या निम्त्याउन सक्ने गरी रगत जम्ने जोखिमलाई सम्भावित रूपमा बढाउन सक्ने चेतावनी पनि दिइएको छ ।

(बीबीसीका लागि नविनसिंह खड्काको रिपोर्ट लगायतको नेपाली भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?