+
+
Shares

युवा संघमा सर्वसम्मत प्रयास : पोखरामा केन्द्रका नेतासहितको पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते २१:५५

८ जेठ, पोखरा । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट हुने नेतृत्व छनोट प्रक्रिया सर्वसम्मत गर्ने प्रयास थालिएको छ ।

सोही प्रयासस्वरुप पोखरामा एमाले नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत, किरण पौडेल लगायतका नेताहरूसहितको उपस्थितिमा बिहीबार साँझ युवा संघको पदाधिकारी बैठक बसेको छ ।

नेताहरूका अनुसार, नेतृत्व सर्वसम्मत गराउनेगरी बैठकमा छलफल भएको छ ।

यद्यपि सर्वसम्मतिले नेतृत्व चयन सजिलो भने देखिँदैन । एमालेको बदलिँदो निर्णय बमोजिम ९ सदस्यीय पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ ।

जबकि अहिले ३३३ सदस्यीय केन्द्रीय कमिटी र १७ जना पदाधिकारी छन् ।

४० वर्ष नाघेकाहरू स्वतः संगठनको नेतृत्वबाट बाहिरिने भएकाले केही सहज भने छ । उमेर हदका कारण उपाध्यक्षहरू अमित लामा, पुष्प श्रेष्ठ, रमेश तिवारी, सीता सुवेदी र अनिता कन्दङ्गवा संगठनबाट अलग भइसकेका छन् ।

बाँकी पदाधिकारीमा पनि अध्यक्षकै आकांक्षी चारजना देखिएका छन् । हालका अध्यक्ष क्षीजित थेबे, उपाध्यक्षहरू कृष्णहरी केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरी भावी नेतृत्वको दौडमा छन् ।

अरु पदाधिकारीमा पनि दाबेदार संख्या धेरै छन् । हालका सचिवहरू निरोज पौडेल, महेश चौलागाई, निशा लिम्बू, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, बलराम बेलवासे र पर्वत भण्डारी माथिल्लो पदमा जान चाहन्छन् ।

सचिवभन्दा माथि अध्यक्ष, एक महिलासहित दुई उपाध्यक्ष, एक महासचिव र एक उपमहासचिव पद मात्र छन् ।

धेरैको चाहना महासचिव पदमै छ । हालका उपमहासचिव राजन थापा स्वभाविक महासचिव पदका दाबेदार छन् । कोषाध्यक्ष राकेश राईले पनि दाबी गर्ने पद उपाध्यक्ष वा महासचिव नै छ ।

विधान बमोजिम चार जना सचिव निर्वाचित हुनेछन् । तर यो पदमा पनि आकांक्षी संख्या धेरै छन् । सचिवालय सदस्यहरू विनोद राई, मदन गिरी, मदन भण्डारी, मोहम मिजमलगायत सचिव पदका स्वभाविक आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?