News Summary
Generated by OK AI. Editorially reviewed.- मिचेल मार्शले आईपीएलमा पहिलो शतक बिहीबार गुजरात टाइटन्सविरुद्ध प्रहार गरे।
- दाजु शन मार्शले २००८ मा पञ्जाब किङ्सबाट शतक बनाएका थिए।
- यी दाजुभाइ आईपीएलमा शतक बनाउने पहिलो जोडी बने।
९ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सका अष्ट्रेलियन क्रिकेट खेलाडी मिचेल मार्शले आईपीएल खेल्न थालेको १५ वर्षपछि बिहीबार गुजरात टाइटन्सविरुद्ध पहिलो शतक प्रहार गरे ।
उनका दाजु शन मार्शले आईपीएलको पहिलो सिजन अर्थात् २००८ मै पञ्जाब किङ्स (किङ्स इलाभेन पञ्जाब)बाट खेल्दै शतक बनाएका थिए । त्यसको १७ वर्षपछि उनका भाइ मिचेल मार्शले बिहीबार शतक बनाउँदा यी दाजुभाइको नाममा दुर्लभ कीर्तिमान बनेको छ ।
दुई दाजुभाइबाट आईपीएलमा शतक बनाउने यो पहिलो जोडी बनेको छ। मिचेलले आईपीएलमा आफ्नो यात्रा सन् २०१० मा सुरु गरेका थिए र विभिन्न ६ वटा टिममा खेलिसकेका छन्। तर शतक बनाउने सपना भने २०२५ सिजनमा आएर मात्र पूरा भएको हो।
आईपीएलमा हालसम्म ९ वटा दाजुभाइको जोडीले सहभागिता जनाइसकेको भएपनि यो कीर्तिमान कसैको नाममा बनेको थिएन । अस्ट्रेलियाका माइक र डेभिड हस्सी, भारतका युसुफ र इरफान पठान, हार्दिक र क्रुनाल पाण्ड्या, दीपक र राहुल चहर, इंग्ल्याण्डका टम करान र साम करान, दक्षिण अफ्रिकाका एल्बी र मोर्ने मोर्केल, डुआन यानसेन र मार्को यानसेन, न्युजिल्याण्डका ब्रेन्डम म्याकलम र नेथन म्याकलम ।
यीमध्ये माइकल हस्सी, ब्रेन्डन म्याकलम र युसुफ पठानले शतक बनाएपनि अर्का दाई/भाइले भने शतक प्रहार गरेका थिएनन् । केही दाजुभाई विपरित रोल अर्थात् बलर भएकाले पनि यो कीर्तिमान हासिल गर्न कठिन थियो ।
मार्श दाजुभाईसँगै उनका बुबा पनि अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् जसले विश्वकप पनि जितेका छन् । शन मार्शले भने सन् २०१९ को विश्वकप खेलेपनि उनी चोटग्रस्त भए र अस्ट्रेलिया पनि सेमिफाइनलबाट बाहिरिएको थियो ।
मिचेल मार्शले अस्ट्रेलियाका लागि सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप तथा सन् २०२१ को टी-२० विश्वकप जितेका छन् ।
प्रतिक्रिया 4