+

एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली महिला र पुरुष फुटबल टोली

२०८२ जेठ  ९ गते १३:४९ २०८२ जेठ ९ गते १३:४९
एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली महिला र पुरुष फुटबल टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पुरुष र महिला फुटबल टोलीहरू एएफसी एसियन कप छनोट तयारीमा छन्।
  • पुरुष टोलीले मलेसियासँग खेल्दै अन्तिम चरणको छनोट यात्रा सुरु गरेको छ।
  • महिला टोलीले सिधै अन्तिम चरणको छनोट खेलिरहेको छ र तयारी तीव्र पार्दैछ।

९ जेठ, काठमाडौं । नेपालको महिला र पुरुष दुवै फुटबल टोली अहिले एएफसी एसियन कप छनोटको तयारीमा लागिपरेका छन् । दुवै टोलीले एसियन कपका लागि अन्तिम चरणको छनोट खेल्नेछन् ।

पुरुष टोलीले मलेसियासँग खेल्दै एसियन कपको लागि अन्तिम चरणको छनोट यात्रा सुरु गरिरसकेको छ र अब समूहको दोस्रो खेलमा लाओससँग उसैको मैदानमा खेल्ने तालिका छ । महिलातर्फ भने यस पटक सिधै अन्तिम चरणको छनोट प्रतियोगिता हुन लागेको हो ।

पछिल्लो समयमा नेपाली महिला फुटबलले राम्रो प्रदर्शन गरेकोले धेरै चर्चा पनि पाइरहेको छ । त्यसैले महिला टिमले चाँडै एसिया कप खेल्ने सम्भावना रहेको फुटबल जानकारहरु बताउँछन् ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एफएफसी मेन्स एसियन कपका लागि तेस्रो समूहको छनोट खेलिरहेको नेपाल समूह एफमा छ । नेपालले समूहको दोस्रो खेल आगामी जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ ।

अहिले नेपाली पुरुष फुटबल टिम त्यसैको तयारीमा छ । अष्ट्रेलियन प्रशिक्षक म्याट रसले नेपाली पुटबल टोलीलाई केही समयअघि मनाङ पुर्‍याएर उच्च स्थानमा ट्रेनिङ दिएर ल्याएका थिए । हाल टोलीले काठमाडौंमा प्रशिक्षण गरिरहेको छ ।

नेपालले लाओससँग खेल्नुअघि जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । लाओससँग खेल्नुअघि तयारी स्वरुप हङकङसँग खेल्न लागेको हो । यसअघि समूह एफको पहिलो खेल नेपालले मलेसियामा गएर खेलेको थियो । जहाँ नेपाल घरेलु टोलीसँग १-० ले पराजित भएको थियो ।

पुरुष पुटबलको प्रशिक्षणमा अहिले ३० खेलाडी तयारी गरिरहेका छन् । त्यसैबाट रसले अन्तिम टोली घोषणा गर्नेछन् । नेपालको पुरुष टिमले अहिलेसम्म एसियन कप फुटबल खेल्ने सकेको छैन । अहिले भइरहेको तेस्रो चरणको छनोटमा २४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र ६ टोली मात्र एसियन कपमा छनोट हुनेछ ।

सहभागी टिमलाई ६ समूहमा विभाजन गरेर छनोट खेलाइएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टिम मात्र एसियन कपमा पुग्नेछन् । नेपाल रहेको समूह एफमा भियतनाम, मलेसिया जस्ता टिम रहेकोले नेपाललाई समूहको शीर्ष स्थानमा रहनु ठूलो चुनौतीको रुपमा छ ।

यस्तै महिला टोली एएफसी वुमन्स एसिया कप खेल्ने लक्ष्यका साथ तयारीमा जुटिसकेको छ । महिलाको एसियन कप छनोट जुन अन्तिममा हुँदैछ । जसमा नेपाल समूह एफमै छ । यस समूहमा नेपाल र उज्वेकिस्तानसँगै लाओस र श्रीलंका पनि छन् । यस समूहको खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरु जुन २९ देखि जुलाई ५ सम्म सञ्चालन हुनेछ ।

छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कपमा छनोट हुनेछ । त्यसैले महिला टोली एसियन कप खेल्ने लक्ष्यका साथ तयारीमा छन् ।

छनोटमा सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरिएको छ र हरेक समूहको विजेताले महिला एसियन कप खेल्नेछ ।

सन् १९७५ मा सुरु भएको महिला एसियन कप नेपालले सन् ८० र ९० को दशकमा गरी तीन पटक खेलिसकेको छ । तर त्यसयता नेपालले खेल्न सकेको छैन । नेपालले महिला एसियन कपको लागि लगातार दोस्रो पटक छनोट खेल्दैछ ।

यसअघि सन् २०२२ मा भारतमा भएको महिला एसियन कपको लागि पनि नेपालले छनोट खेलेको थियो तर छनोट चरण पार गर्न सकेन ।

एसियन कप छनोट छनोट अघि नेपाली महिला टोलीले तयारी स्वरुप थाइल्याण्डसँग दुई खेल खेल्दैछ । पहिलो खेल यही मे ३० मा हुनेछ । उक्त खेल क्लोज डोरमा खेलाइने एन्फाले जनाइनेछ । यस्तै जुन २ मा भने नेपालले थाइल्याण्डसँग अन्तरारष्ट्रिय मैत्रीपूर्ण खेल नै खेल्नेछ ।

महिला टोलीको प्रशिक्षणमा अहिले ३१ खेलाडी छन् । त्यसमध्ये कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो लिम्बु, फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल देश बाहिर छन् । उनीहरु विदेशी लिग खेल्ने क्रममा बाहिर छन् ।

यस्तै भुटानमा महिला लिग खेलिरहेकी डिफेण्डर पुजा राना भने नेपाल आएर प्रशिक्षणमा समावेश भइसकेकी छन् ।

तस्वीरहरू : एन्फा

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय