+
+
Shares

सीमित व्यापारी पोस्ने गरी ‘हाइब्रिड’ गाडीको भन्सार घटाउने तयारी

विद्युतीय सवारीसाधन (ईभी) मा भन्सार कर बढाउने तर पेट्रोलियम पदार्थ र विद्युतीय शक्तिले सञ्चालन हुने हाइब्रिड मोडेलको गाडीमा सरकारले भन्सार घटाउन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले प्लग इन हाइब्रिड गाडीको कर घटाउने तयारी गरेको र ईभीको कर बढाउने योजना रहेको स्रोतले दाबी गरेको छ।
  • अटो व्यवसायीहरूले हाइब्रिड प्रवद्र्धन गर्न खोजिएको भन्दै यसले वातावरणीय लाभ नहुने र व्यापारिक स्वार्थको लागि हो भन्ने आरोप लगाएका छन्।
  • आयात विभागका अनुसार हालसम्म ५८ युनिट हाइब्रिड गाडी आयात भएको र सरकारलाई कर र भन्सारबाट करोडौं राजस्व संकलन भएको छ।

९ जेठ, काठमाडौं । सरकारले प्लग इन हाइब्रिड गाडीको कर घटाउने तयारी गरेको छ । अर्थ मन्त्रालय मूलढोका थुनेर बनाइरहेको बजेटमा केही सीमित व्यापारिक समूह पोस्ने गरी कर नीति ल्याउने तयारी गरिएको स्रोतको दाबी छ ।

विद्युतीय सवारीसाधन (ईभी) मा भन्सार कर बढाउने तर पेट्रोलियम पदार्थ र विद्युतीय शक्तिले सञ्चालन हुने हाइब्रिड मोडेलको गाडीमा सरकारले भन्सार घटाउन लागेको हो ।

‘नेपालमा सीमित ब्रान्डसँग मात्रै हाइब्रिड गाडी छ । उनीहरूको स्वार्थका लागि सरकारले हाइब्रिड प्रवद्र्धन गर्न खोजेको बुझिएको छ । किनभने, हामी ग्रिन इनर्जीमा भनिरहँदा हाइब्रिडमा जानु उल्टो बाटो छ । ठूला ब्रान्डका व्यापारी लागेको देखिन्छ,’ एक चर्चित अटो व्यवसायी भन्छन् ।

एक गाडी आयातकर्ताका अनुसार हाइब्रिडमा पनि प्लग इन हाइब्रिडका लागि विशेष कर छुट गर्न खोजिएको बुझिन्छ । ‘हाइब्रिड भन्नु नै पेट्रोलियम पदार्थबाट चल्ने गाडी जस्तै हो । बढीमा ५० किलोमिटर विद्युतीय ब्याट्रीबाट सञ्चालन हुन्छ । बाँकी त फेरि डिजेल–पेट्रोलबाट नै चल्ने हो । यसले बल्ल भएको ईभीको प्रमोसनमा झन उल्टो बाटो खेल्छ,’ उनी भन्छन् ।

अटोमोबाइल क्षेत्रका व्यवसायी अहिले ईभीमा कर बढ्ने हल्लाले त्रसित छन् भने हाइब्रिड नेपालमा सस्तोमा भित्र्याउन पाउने कर नीतिले सीमित व्यापारी भने उत्साहित छन् ।

‘सरकारलाई उनीहरूले नेपालको बाटोमा भन्ने बित्तिकै ईभी गाडी चार्ज नहुने, ईभी गाडी बाटोमै रोकिने जस्ता अनेक बहाना देखाएर हाइब्रिडलाई जोड दिन खोजिरहेका छन् । यसका लागि राम्रै लगानी गरेर व्यापारीले लबिङ थालेका छन्,’ ती व्यवसायीले भने ।

ईभी आयात नगर्नेहरू नै हाइब्रिड लबिङमा

व्यापारीहरूको लबिङमा सरकारले सवारीसाधन आयातमा उल्टो बाटो हिँड्ने तयारी गरेको छ । सरकारी राजस्व संकलन कमजोर भएको भन्दै एकातिर ईभीको कर बढाउने तयारी भइरहेको छ भने अर्कातिर हाइब्रिडका नाममा पेट्रोल गाडीको भन्सार छुट दिने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।

खासगरी प्लग इन हाइब्रिड गाडीको भन्सार घटाउने तयारी भइरहेको एक विश्वस्त स्रोतले बतायो ।

प्लग इन हाइब्रिड गाडी भनेको पेट्रोल गाडीमा नै सानो ब्याट्री राखेको गाडी हो । यो पेट्रोल गाडीको एउटा मोडिफाइड रूप मात्रै हो, जसबाट वातावरणीय हिसाबले खास लाभ हुँदैन ।

तर, ईभी आयात नगर्ने केही गाडीका डिलर भने यस्ता हाइब्रिड गाडीको कर घटाउने लबिङमा छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ५८ युनिट हाइब्रिड गाडी आयात भएको छ । ११ युनिट प्लग इन र ४७ युनिट प्लग आउट हाइब्रिड गाडी आयात भएको हो ।

भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म हाइब्रिड गाडीका लागि २४ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । यस्तै सरकारलाई ५८ करोड ९७ लाख राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?