News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सातौं प्रतियोगिता जितेका छन् ।
- उनले कोर्स रेकर्ड तोड्दै १७-अन्डर २५५ स्कोर बनाएर उपाधि जिते ।
- प्रतियोगितामा ४७ खेलाडी सहभागी थिए र पुरस्कार रकम ६ लाख नेपाली रुपैयाँ थियो ।
९ जेठ, काठमाडौं । पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राईले कोर्स रेकर्डसहित सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत शुक्रबार सम्पन्न सातौँ प्रतियोगितामा शुक्र बहादुरले समग्रमा १७-अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि जिते ।
शुक्रले एमेच्योर खेलाडी सदभाव आचार्यको नाममा रहेको १५-अन्डर ५७ को रेकर्ड तोडे । सदभावले यही सिजन सूर्य नेपाल काठमाडौँ ओपनमा सो रेकर्ड बनाएका थिए ।
अन्तिम दिन ६-अन्डर ६२ को स्कोर बनाएका शुक्रले उपाधिसँगै नगद १ लाख१० हजार प्राप्त गरे । उनको यो करियरको एघारौं उपाधि हो ।
यो सिजन तीन उपाधि जितेका निरजले आज ६-अन्डर ६२ को स्कोर जोडे । समग्रमा १३-अन्डर २ सय ५९ को स्कोरमा निरज दोस्रो भए। उनले नगद ७० हजार हात पारे ।
समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा दिनेश प्रजापतिले तेस्रो स्थानमा प्रतियोगिता सकाए । आज उनले ३-अन्डर ६५ को स्कोर बनाए । तेस्रो भएका उनले ५० हजार पाए ।
आज १-ओभर ६९ स्कोर सहित समग्रमा ७-अन्डर २ सय ६५ को नतिजमा भुवन कुमार रोक्का चौथो हुँदा ४२ हजार प्राप्त गरे । समग्रमा ५-अन्डर २ सय ६७ सहित सञ्जय लामा पाँचौं भए । उनले आज ३-अन्डर ६५ को स्कोर तयार पारे । उनले ३७ हजार नगर पुरस्कार आफ्नो नाममा लेखाए ।
तोरण विक्रम शाही, साबिक विजेता रवि खड्का र वसन्त राज गुरूङलेसमग्रमा ४-अन्डर २ सय ६८ सहित संयुक्तरुपमा छैटौं स्थान बाँडे । उनीहरूलाई जनही ३० हजार प्राप्त गरे ।
समग्रमा १-अन्डर २ सय ७१ बनाएका नेपाल नम्बर एक भुवन नगरकोटीले नवौं स्थानमा चित्त बुझाए । आज उनले २-अन्डर ६६ स्कोर गरे । समग्रमा २-ओभर २ सय ७४ सहित रमेश अधिकारी दशौं भए । भुवनले २४ हजार ररमेशले २१ हजार हात पारे ।
अन्तिम १८ होलको सुरूवात गर्दा आज शुक्रसँग ३ स्ट्रोकको अग्रता रहेको थियो । उनले दोस्रो देखि पाँचौं होलसम्म लगातार चार बर्डी प्रहार गरे । उनलाई अन्य खेलाडीले चुनौती समेत दिन सकेनन् । फ्रन्ट नाइन ४-अन्डर ३०मा सकाए । यसपछि ५-पारको १० औं होलमा इगलको सफलता प्राप्त गरे । १३औं र १४औं होलमा एक-एक सट बचाए । १२औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।
निरजले पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा सातौं होलको बोगीलेफ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे । यसपछि १०औं होलमा इगल तथा१२औं र १८औं होलको बर्डीले ब्याक नाइनमा ४-अन्डर ३० को नतिजा निकाले ।
दिनेशले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन २-अन्डर ३२ मा सकाए । उनले पहिलो, चौथो सातौं, एघारौं र १६ औं होलमा एक-एक सट बचाए । आठौं र नवौं होलमा बोगी खेपे ।
एमेच्योरतर्फ समग्रमा ३-ओभर २ सय ७५ सहित राहुल विश्वकर्माले निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले हराउँदै उपाधि जिते । समग्रमा ४-ओभर २ सय ७८ सहित निश्चय दोस्रो भए । दुवैले आज २-ओभर ७० मा खेल सकाएका थिए ।
७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागीता रहेको थियो ।कुल ६ लाख नगद पुरस्कार राशीरहेको प्रतियोगितामा शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल मेनेजर(मार्केटिंग) केशव प्रधान, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, एनपिजिएका सल्लाहकार घनश्याम थापा, नेपाल गल्फ संघका अध्यक्षटासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतिस्पर्धा हुनेछ । जसमा एमेच्योर खेलाडीले प्रोफेशनल गल्फरसँग खेल्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4