+
+
Shares

रवि लामिछानेको आदेश आउन किन भइरहेको छ ढिलाइ ?

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल अहिले न्यायाधीशहरू आदेश लेखनको क्रममा रहेको र केहीबेरमा आदेश सार्वजनिक हुने बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते २०:२४

९ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने वा उनलाई छाड्ने भन्नेबारेमा तीन दिनदेखिको बहस शुक्रबार दिउसो २ बजे सकियो । त्यसपछिका ६ घण्टा बित्दा समेत न्यायाधीशहरूले आदेश तयार पारेका छैनन् ।

यस्ता विवाद सुनुवाइपछि न्यायाधीशहरूले आन्तरिक रुपमा आपसी सल्लाह गर्छन् अनि त्यसलाई मस्यौदा तयार गर्छन् । त्यसपछि मात्रै आदेशको रुपमा तयार गर्छन् । तर शुक्रबार भने आदेश लेखनमा लामो समय लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल अहिले न्यायाधीशहरू आदेश लेखनको क्रममा रहेको र केहीबेरमा आदेश सार्वजनिक हुने बताउँछन् । उनले भने, ‘उहाँहरू छलफलपछि आदेश लेखनको समयमा हुनुहुन्छ, अब केहीबेरमा आदेश तयार होला ।’

कतिपय मुद्दामा न्यायाधीशहरूले एकै पेजमा आदेश तयार गर्छन् भने कतिपय मुद्दाको विषयवस्तु, गम्भिरता र अरु विवरणहरू समावेश गरेर लामो आदेश तयार गर्छन् । कैयौं यस्ता विषयहरूमा न्यायाधीशहरूले ५० औं पेज लामो आदेश तयार पारेका उदाहरण समेत छन् । सामान्यतयाः विभिन्न आधार, तर्क र दृष्टिकोण समावेश भएको लामो आदेश तयार गर्न समय लाग्छ ।

शुक्रबार सुनुवाइ भएको विषयमा तीनवटा निवेदनहरू छन् ।

पहिलो, आफ्नो पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रवि लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन हालेकी छन् । दोस्रो, आफूलाई गलत ढंगले थुनामा पठाइएको भन्दै रवि लामिछानेले उच्च अदालतको बुटवल इजलासको आदेश बदर हुनुपर्ने माग राखेका छन् ।

तेस्रो, छविलाल जोशीले पनि आफू थुनामुक्त हुनुपर्ने माग राखेर दिएको निवेदन एकसाथ सुनुवाइ भइरहेको छ ।

‘यी तीनवटा विषयमा एकमुष्ट सम्बोधन हुनेगरी आदेश तयार हुँदैछ,’ सर्वोच्च अदालतका एक कर्मचारीले भने, ‘त्यो लगायत विविध कारणले आदेश लामो हुने भयो, अनि समय लागेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?