
९ जेठ, बुटवल । रास्वपा सभापति रवि लामिछानेले छुट्ने आशा बोकेर रुपन्देही जिल्ला अदालत पुगेका नेता कार्यकर्ताहरू निराश भएर फर्किएका छन् ।
सर्वोच्च अदालतमा रविले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा केहीबेर अघिमात्रै उच्च अदालतको आदेश सदर भएको छ ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत, तुल्सीपुर बुटवल इजलासको आदेश सदर गरेको हो ।
यससँगै जिल्ला कारागार, रुपन्देही अगाडि पुगेका रास्वपा कार्यकर्ता निराश भएर फर्किएका हुन् ।
सर्वोच्चको आदेश लगत्तै जिल्ला कारागार बाहिर पुगेका रास्वपा लुम्बिनी प्रदेश सदस्य एवं प्रचार विभाग प्रमुख महेन्द्र उपाध्यायले आफूहरूको आशा अनुसारको आदेश नआएपछि स्वभाविक रुपमा निराश भएको प्रतिक्रिया दिए ।
‘यसले हामीलाई पक्कै दुखी तुल्याएको छ । विश्वास छ उहाँले न्याय पाउनुहुनेछ । पार्टीमा रवि लामिछानेज्यूको देशमा एउटा जुन विश्वास उहाँलाई गर्नुभएको छ, त्यो निरन्तर रहनेछ,’ उपाध्यायले भने ।
त्यस्तै, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मधु अर्यालले राज्य संयन्त्रको दबाबका कारण रवि लामिछाने थुनामा बस्नुपरेको प्रतिक्रिया दिए ।
‘भर्खरै सर्वोच्चको आदेश हामीले भर्खरै सुन्यौं । हजारौं समर्थक थियौं । सर्वोच्चको अगाडि पनि त्यति नै समर्थक थियौं,’ उनले प्रतिक्रिया दिँदै भने, ‘रवि दाई भागेर कहीँ जाने या पदमा भएको कारणले कुनै प्रमाण नष्ट गर्ने परिस्थिति थिएन । तर, राज्य संयन्त्रले दबाब दिएकै कारणले रवि दाई थुनामा बस्नुपरेको भन्ने हाम्रो बुझाइ हो ।’
उनले जुन न्याय पाउने आशा आज गरिएको भए पनि नभएपछि निराश हुनपरेको बताए ।
पार्टी सभापति लामिछानेले अब कारागार भित्रबाटै पार्टी पंक्तिलाई सुझाव सल्लाह दिएर अघि बढ्नुपर्ने पनि बताए ।
सभापति लामिछानेको रिटमा सर्वोच्चले आदेश जारी गर्ने भएपछि जिल्ला कारागार अगाडि ठूलो संख्यामा भिड जम्मा भएको थियो ।
यद्यपि उक्त भिड सुखद समाचार सुन्न नपाएपछि फर्किएको छ ।
प्रतिक्रिया 4