
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रचण्डले बिहीबार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बाबुराम भट्टराई विरुद्ध अशोभनीय टिप्पणी गरे।
- टिप्पणीले नेताहरूको मानसिकता र सभ्यताको प्रश्न उब्जाएको छ, जसलाई गाली बेइज्जतीका रुपमा हेरिएको छ ।
- बाबुरामको बुद्धिमत्ता र योगदानलाई प्रचण्डको टिप्पणी र आलोचनाले प्रश्न गरेको छ, र सबैले स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव दिइएको छ।
जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वमा बिहीवार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट डा. बाबुराम भट्टराई विरुद्ध अशोभनीय टिप्पणी भयो— ‘बुद्धि नभएको डाक्टर’, ‘दिमाग ठाउँमा नभएको’, ‘हाँसोको पात्र’ इत्यादि।
जनयुद्धका नाइके, पूर्वप्रधानमन्त्री, विपक्षी दलका नेता जस्तो जिम्मेवार व्यक्तिको यस्तो टिप्पणीले गहन प्रश्नहरू उब्जाएको छ। प्रचण्डको यस्तो टिप्पणीले नेताहरूको मानसिकता अझै पनि उदार हुनसकेको छैन भन्ने देखाउँछ। यो पढेलेखेको सभ्य सबै मानिसहरूलाई कलंकित गर्ने दुष्प्रयास हो।
सभ्य देशमा कसैको शारीरिक अवस्थाप्रति पनि अभद्र टिप्पणी गर्यो भने त्यसलाई शरीरप्रति गाली बेइज्जती (बडी सेमिङ) भनिन्छ र यस्तो गर्नुलाई अपराध मानिन्छ। यहाँ त व्यक्तिको बुद्धिमताप्रति (विज्डम) नै गाली बेइज्जती गरिएको छ र मन्चमा आसीन नेताहरू नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटाहरू गलल्ल हाँसेका छन्, परिस्थिति अशोभनीय हुने गरी।
यहाँ प्रश्न उब्जिएको छ, साँच्चै बुद्धि नभएको चाहिं को हो ? प्रचण्ड कि बाबुराम ? बाबुरामको बुद्धि छ कि छैन भनेर जाँच्न उनका पहल र परिणामहरूको फेहरिस्त लामो छ। जस्तो, उनले विधावारिधि गरे र शोधबाट जे कुराको निष्कर्ष निकाले, त्यही कुराको निदान (आर्टिकुलेसन) मा आफूलाई आजीवन समर्पण गरे। यस्तो कमैले गर्छन्। यो कुरालाई एउटा बुद्धिमान मानिसको बुद्धिहीनता भन्ने कि बुद्धिमत्ता भन्ने वा समर्पण ?
बाबुरामले ४५-५० वर्ष अगाडि विधावारिधि शोधमा नेपालको अविकासका कारणहरू पत्ता लगाए र ती कारणहरूको निवारणमा आजपर्यन्त लागिरहेका छन्। उनी केही कुरामा सफल पनि भएका छन्। जस्तो कि, सामन्तवादको खम्बा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना तथा संविधानसभा मार्फत देशको संविधानको निर्माण। तर अविकासका अन्य कतिपय कारणहरू अहिले पनि विद्यमान छन् र त्यसमा बाबुराम अविराम लागिरहेका देखिन्छन्। उनको यो इमानदार प्रयासलाई बुद्धिहीनता भन्ने कि बुद्धिमत्ता ?
थाहा छ, प्रचण्डले पनि आम मनोविज्ञानकै कुरा गरेका हुन्। यहाँ भाले बन्नु, पैसा कमाउनु, चतुर बन्नु, छक्कापन्जा गरेर भए पनि मोजमस्ती गर्नु, रबिनहुड स्टाइलमा लुट्नु र लुटाउनु इत्यादि कुराहरूलाई गौरव र आमविचार (कमनसेन्स) को रूपमा लिइन्छ र प्रचण्डले पनि त्यही कुरा भनेका हुन्। तर सबैका आफ्ना-आफ्ना छनौट हुन सक्छन्। बाबुरामले आफ्नै अलग बाटो छाने। यसमा उनलाई गाली-बेइज्जती गर्नुपर्ने खतबात कहाँ छ र ?
बाबुरामको बुद्धि नभएको भन्ने हो भने प्रचण्डसँग एकता गरेर ४० बुँदे माग शेरबहादुर देउवाको तत्कालीन सरकारलाई उनैले बुझाएका थिए। जनयुद्ध शुरु र अन्त्य प्रचण्डसँग मिलेर गरेकै हुन्। शिरमा कफन बाँधेकै हुन्। जनयुद्धमा लाग्न हजारौं लाखौंलाई प्रेरित गरेकै हुन्। जनयुद्धको वैचारिक नेतृत्व र बैठान गरेकै हुन्। प्रचण्ड काल्पनिक हुन् भन्ने बेलामा जनयुद्धको अनुहार बनेकै हुन्। के यी सबै बाबुरामको बुद्धिहीनता हो र ? र, जनयुद्धमा रत्तिभर योगदान नभएका नारायणकाजी गलल्ल हाँस्नु बुद्धिमत्ता हो र ?
प्रचण्डको लाइनमा रहेको भए हुनसक्छ, १२ बुँदे सम्झौता नै हुने थिएन। २०६२/६३ को जनआन्दोलन नै हुने थिएन। तुलसी गिरी र कीर्तिनीधि विष्टपछि हुनसक्छ, प्रचण्ड ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा उपाध्यक्ष बनेका हुन्थे र केही समयपछि अयोग्यताको आरोपमा जेलमा हुन्थे। यो हुने धेरै सम्भावना थियो। तर धन्न बाबुरामको बुद्धिहीनता जसले, तीन पटक पिएम बनिसकेका प्रचण्ड आज जादुको छडी लिएर घुमिरहेका छन्।
बाबुराम योग्यता र हकले अर्थमन्त्री र प्रधानमन्त्री पनि बने। उनले अर्थमन्त्रीको रूपमा आफूलाई सावित पनि गरे। प्रधानमन्त्रीको रूपमा पनि उनले नयाँ नेपालको खाका कोरिदिए। उनले रातारात माओवादी सेनाको एकीकरण र व्यवस्थापन नगरिदिएका भए वर्षमान पुन र अग्नि सापकोटाहरू अहिले पनि युद्ध सरदारको रूपमा लडिरहेका हुन्थे।
खैर, यस्ता कुराहरू धेरै छन्। सबैको बेलीबिस्तार लगाउन सम्भव छैन। अलिकति कुरा प्रचण्डको गरौं र सोधौं कि, पटक-पटक प्रधानमन्त्रीको रूपमा तपाईंले के बुद्धि लगाउनुभो र परिणाम के निकाल्नुभो ? यद्यपि, जनयुद्ध र नयाँ नेपालको नायक र सर्जकको रूपमा उनको भूमिका इतिहासमा दर्ज भैसकेको छ, त्यसमा विवाद छैन।
रुक्माङ्गत कटवाल काण्डमा गल्ती भयो भनेर आफैं भनिसकेका छन् प्रचण्डले। व्यवस्था बनाउने र अवस्था सुधार्ने सवालमा योगदान के त भन्दा नगन्य। अरूले गरेको पहल र काममा माओवादी प्राधिकारको रूपमा अन्तिम सहमति गर्ने बाहेक प्रचण्डको कुनै एउटा मौलिकता देखिंदैन।
नयाँ नेपालका लागि भनेर बाबुरामले सजाएका सम्पूर्ण एजेन्डाहरू मिल्काउनुमा बरु प्रचण्डको महारथ देखिन्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई उनले कांग्रेसको संसदीय खेलबेलका अगाडि बलि चढाइदिए। संसदीय खरिद फरोख्तको विरुद्धमा जनयुद्ध गरेका प्रचण्ड आफैं खरिद फरोख्तको व्यवस्था र त्यही फरोख्तमा लागे। यसलाई प्रचण्डको कमाल बुद्धि भन्ने कि के भन्ने ?
भूकम्प २०७२ पछि कांग्रेस-एमालेसँग गरिएको सहमतिमा प्रचण्डले सम्पूर्ण रूपमा आत्मसमर्पण (सरेन्डर) गरे। पहिचान सहितको संघीयतामा जनजातिहरूलाई खुलेआम धोका दिए। जुन जनजातिको बलमा प्रचण्डले जनयुद्ध लडे र पहिलो संविधानसभामा लगभग बहुमत ल्याए, त्यही जनजाति र उनीहरूका चाहनालाई लत्याइदिए। यसलाई प्रचण्डको बुद्धिमत्ता भन्ने कि बेवफाई ?
संविधान २०७२ जारी हुँदा प्रदेश सिमाङ्कनमा खुलेआम दादागिरी भयो कांग्रेस र एमालेबाट। अर्थपूर्ण संघीयताको माग हुँदाहुँदै नाम मात्रको प्रशासनिक संघीयता जारी भयो। र, यो दादागिरीको किनारा साक्षी प्रचण्ड बसे। कांग्रेस-एमालेसँग मिलेर प्रचण्डले आफ्ना सभासद्हरूलाई विवेकको मत प्रयोग गर्न दिएनन्। कथित फास्ट ट्रयाकबाट आधा-अधुरो संविधान जारी गरेर शहीदको रगतलाई अपमान गरियो।
जहाँसम्म मार्क्सवाद र कम्युनिष्ट नाम बारेको प्रश्न छ, प्रचण्ड आफैंमा कतिको मार्क्सवाद बाँकी छ, त्यो कुरा विचारणीय छ। संसदीय खालमा दिनरात जुवा खेल्ने, दलाल पूँजीवाद र दक्षिणपन्थको सिकार बन्ने प्रचण्डले मार्क्सवादको धुन रटिरहनु कुनै कोणबाट सुहाउँदिलो देखिंदैन।
बाबुरामले कम्युनिष्टको नामै सुन्न चाहँदैनन् भन्ने कुरा व्यर्थ हो। प्रचण्डहरू आफैं के कति कम्युनिष्ट छन् अब ? खालि जनतालाई झुक्याउन र उल्लु बनाउन हो भने कुरा बेग्लै, नत्र बाबुरामले समाजवादी केन्द्र बनाऔं भन्दा के गलत भनेका थिए ? त्यो समाजवादी केन्द्रका आईडलग बाबुरामलाई नै फेरि किनारा गरी धोका गरी नक्कली केन्द्र खडा गर्ने प्रचण्डलाई के भन्ने ?
जुन गोरुको सिङ छैन, उसको नाम तिखे राख्नुपर्ने ?
वास्तविकता के हो भने, प्रचण्डले जनताको धड्कन छाम्न सकिरहेका छैनन्। उनीसँग सम्पूर्ण संयन्त्र छन्। पूरा शरीर छ तर आत्मा गायब छ। बाबुराम त्यही आत्मा हो। अब त्यो आत्मा वरिपरि थोरबहुत शरीर पनि पलाउन थालिसक्यो। प्रचण्डको छटपटी त्यो हो।
तर, चुनावी राजनीतिमा प्रचण्डको लेखाजोखा हमेसा गलत रहेको देखिन्छ। उनको चुनौती बाबुराम हुँदै होइन। उनको चुनौती उनी आफैं हो। अस्थिर स्वभाव, एजेन्डामा उछलकुदले उनको कुनै न्यारेटिभ बन्न सकेन। जनयुद्ध र भावनाको दोहन जति गर्न सकिन्थ्यो, भैसक्यो। अब भन्ने विषयवस्तु (कन्टेन्ट) को चरम अभाव भैसक्यो प्रचण्डसँग। छटपटाहट त्यो हो।
र, यो छटपटाहट कम्युनिष्ट नामधारी सबै दलहरूसँग छ। विचारको ठहराव (स्टागनेशन) देखिन्छ उनीहरूमा। सत्ता, कब्जा, मन्त्री, प्रधानमन्त्री, पूरा पर्याप्त समय, सबै भैसक्यो, अब जवाफ केही छैन।
त्यसैले भएजति विषयवस्तु (कन्टेन्ट) कुम्ल्याएर बसेका बाबुरामलाई गाली र सत्तोसराप गर्नुभन्दा कम्युनिष्ट नामधारीहरूले बाबुरामले नै सुझाएका एउटा बाटोमा खुरुखुरु लाग्नु बेस हुन्छ। र, त्यो हो सबै कम्युनिष्ट नामधारीहरू एक हुने र समाजवादी केन्द्र खोल्ने।
जहाँसम्म बाबुरामको कुरा छ, युगानुकूल उनी सही ठाउँमा छन् र हिजोका सबै लिगेसी उपलब्धिहरूलाई यथावत् सुरक्षित राखी कम्युनिष्ट गन्जागोल भन्दा अगाडि बढिसकेका छन्। नयाँ युगमा नयाँ शक्तिहरूको विकास र नयाँ युवाहरूद्वारा मुलुकको शासन र समृद्धि यात्राको उनको लाइन कुनै पनि प्रकारले अनुचित छैन। कुनै बेला भारतमा जयप्रकाश नारायणले ‘सम्पूर्ण क्रान्ति’ को नारा दिएका थिए।। आज बाबुरामले नेपालमा ‘सम्पूर्ण परिवर्तन’ को नारा दिएर अगाडि बढेका छन्, जुन जायज हो।
२०४६-४७ को जनआन्दोलनपछि पनि उनी एक्लै थिए र बागबजारको पोस्टर काण्डमा माले-एमालेहरूले लखेटेका थिए। आज पनि उनी एक्लै छन्। प्रचण्डले पनि कहिले चुनाव चिह्न नदिएर, कहिले धोका दिएर त कहिले अपमान गरेर लखेटेकै हुन्। तर, अब फेरि यति विवेकहीन टिप्पणी गरेर लखेट्नु जरूरी देखिंदैन। बरु सबै आ-आफ्नो बाटोमा लाग्ने, खेलका दुरुस्त नियम बनाउने र पालना गर्ने, अनि स्वस्थ प्रतिस्पर्धा गर्ने। यसो गरे कसो होला ?
प्रतिक्रिया 4