+
+
Shares

माओवादीले भन्यो– गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।
  • बैठकले मन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए।
  • माओवादी केन्द्रले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मन्त्रीको राजीनामा आवश्यक भएको ठहर गरेको छ।

१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’

नेपाली कांग्रेसको आजै बिहान बसेको पदाधिकारी बैठकले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकाल्दै उनले राजीनामा दिनु नपर्ने जनाएको छ ।

नेकपा माओवादी केन्द्रले हुलाकीमार्ग केन्द्रित अभियानपछि सुरु भएको मध्यपहाडी लोकमार्ग अभियान झन् राम्रो हुँदै गएको निष्कर्ष पनि निकालेको छ ।

बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘यो अभियान निकै नै प्रभावकारी हुँदै गएको छ । अभियान सुरु भएदेखिका अनुभव र शिक्षाहरुलाई समेट्दै यो प्रभावकारी भएको छ । खासगरी जनताको उपस्थिति, आकर्षण, गुणात्मक ढंगले बढिरहेको छ ।’

बैठकले आज गंगा नारायण श्रेष्ठ नेतृत्वको नेसपा र विजय सैंजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग समायोजन वा एकीकरण गर्ने निर्णय पनि गरेको छ ।

‘यसमा सबै कुरा टुंगिएका छन् । हाम्रा बीचमा भएका समझदारीहरु, त्यसैगरी छलफल, बहस गर्नुपर्ने विषयहरु सबै टुंगिएको छ । अब ती दुबै पार्टीसित समायोजन वा एकीकरणको घोषणा हुँदैछ,’ प्रवक्ता सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?