
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले १८ वडाका २१६ सडकको नयाँ नामकरण र संशोधन स्वीकृत गरेको हो।
- नामकरणको उद्देश्य सडकहरूको वैज्ञानिक, मौलिक र एकीकृत नामकरण, नक्सांकन र तथ्याङ्क संकलन हो।
- यसले सडक, पूर्वाधार, ट्राफिक र आपतकालीन सेवाका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउनेछ।}]}# End of JSON ៚ 1.{
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका १८ वटा वडाभित्र २ सय १६ सडकको नयाँ नाम कायम हुने भएको छ । १८ वटा वडाबाट पुराना नाम संशोधन र नयाँ नामकरण अनुमोदन भएको हो ।
महानगरका वडाहरूले १ हजार ३७ पुराना नाम प्रमाणित गर्दै नाम नभएका सडकको नयाँ नाम अनुमोदन गरेको हो । महानगरका अनुसार वडा नम्बर १, २, ८, ९, ११, १२, १४, १६, १८, १९, २०, २१, २४, २५, २७, २८, २९ र ३० वडाका सडकको नयाँ नाम कायम भएको हो । वडा नम्बर ६, २२, २३, २६ र ३२ मा छलफल हुन बाँकी रहेको अन्य वडामा नक्सामाथि छलफल चलिरहेको महानगरले जनाएको छ ।
किन भइरहेको छ नामकरण ?
महानगरपालिकाका सूचना प्रविधि महाशाखा प्रमुख तथा नापी अधिकृत अशोक श्रेष्ठका अनुसार काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमबाट नामकरण भइसकेका सडक एकीकृत गर्ने, सडकहरूको मौलिक र वैज्ञानिक नामकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधार विवरण संकलन तथा नक्सांकन भइरहेको हो ।
यसरी पथ, सडक, मार्ग र गल्लीको नक्सांकन तथा नामकरणबाट सूची तयार गर्ने, सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रुत सेवा लगायत क्षेत्रका तथ्य र तथ्यांक प्राप्त हुने श्रेष्ठले बताए ।
ड्रोन म्यापिङ, वडागत नक्सा प्रिन्ट
श्रेष्ठका अनुसार सडकको इन्भेन्ट्री बनाउने, वैज्ञानिक र मौलिक नामकरण गर्ने, पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जीआईएस) नक्सांकनपछि नयाँ नाम राख्ने काम भइरहेको छ ।
९ पुस २०८१ देखि ५ जना भौगोलिक जीआईएस इन्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्सांकनको काम थालिएको हो ।
उनका अनुसार महानगरपालिकाले २०५८ सालमा काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमबाट संकलन गरिएको तथ्यांक, अहिले गरिएको ड्रोन म्यापिङ (अर्थोफोटो) का आधारमा सबै वडाको वडागत नक्सा प्रिन्ट भएको छ । नक्सामा नाम भएका र नाम नभएका सडकलाई संकेत गरिएको छ । यो संकेतका आधारमा वडास्तरीय छलफलबाट पुरानालाई अनुमोदन गर्ने र नयाँ नामलाई वडाबाट अनुमोदन गराउने काम भइरहेको छ ।
२०५८ सालमा सञ्चालन भएको काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमबाट पथ, सडक, मार्ग र गल्ली गरी २ हजार ५ सय ७८ वटा नामांकन र नक्सांकन गरिएको थियो । ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो ।
महानगरमा १ हजार ४९ सडक सञ्जाल
नक्सामा महानगरपालिकाभित्र १ हजार ४९ किलोमिटर सडक देखिएको श्रेष्ठले जानकारी दिए । यसभित्र पथ, सडक, मार्ग र गल्ली ४ हजार ९ सय ७७ छन् । तीमध्ये २ हजार ४ सय १६ वटाको नाम दिइएको छ । २ हजार ५ सय ६१ वटाको नाम दिइएको छैन ।
म्यापिङ कार्यक्रमले जारी गरेको ठेगाना प्रणाली निर्देशिका २०५७ ले १४ मिटर, ४ लेन वा त्योभन्दा धेरै चौडाइ भएको सडकलाई पथ भनेको छ । १० मिटरदेखि १४ मिटरसम्मको चौडाइ भएकालाई सडक भनेको छ । ३ मिटरदेखि १० मिटर चौडाइ भएकालाई मार्ग र ३ मिटरभन्दा कम चौडाइ भएकालाई गल्ली भनेर वर्गीकरण गरेको छ ।
प्रतिक्रिया 4