News Summary
Generated by OK AI. Editorially reviewed.- मधुमेहले रगतमा चिनीको मात्रा बढाउँदा रक्तनली र नसामा क्षति पुग्छ, जसले खुट्टामा घाउ र संक्रमण निम्त्याउँछ।
- रगतमा चिनीको मात्रा नियन्त्रण, नियमित जाँच र उचित जुत्ता प्रयोगले मधुमेह सम्बन्धी खुट्टाका समस्या रोक्न सकिन्छ।
मधुमेहको समस्यामा शरीरले रगतमा ग्लुकोजको मात्रा सही राख्न सक्दैन । रगतमा चिनीको मात्रा बढ्दा समयसँगै धेरै स्वास्थ्य समस्या निम्तिन सक्छ । मधुमेह छ भने उसको रगतमा चिनीको मात्रा उच्च हुन्छ । यस्तो अवस्थामा बिरामीको रक्तनली र नसामा क्षति पुग्छ । यसले प्रभावित व्यक्तिको खुट्टालाई पनि असर गर्न सक्छ ।
बिरामीहरूको खुट्टामा घाउ बन्न थाल्छ । यस्ता घाउहरू यस्तो तरिकाले बन्छन् कि तिनलाई निको पार्न निकै कठिन हुन्छ । यसलाई डायबेटिक फुटको नामले चिनिन्छ ।
मधुमेहले बिरामीकाे स्नायु प्रणालीमा पनि असर पुर्याउँछ जसले गर्दा खुट्टामा घाउचाेट लागि हालेपनि बिरामीले खुट्टामा कुनै चोटपटक वा घाउकाे महसुस गर्न सक्दैन । यदि समस्या बढ्दै गयो भने यसले अल्सर वा संक्रमण पनि निम्त्याउन सक्छ । यति मात्र होइन, यदि समस्या बढ्यो भने प्रभावित खुट्टा काट्नु पर्ने समेत हुन्छ, ताकि संक्रमण शरीरको अन्य भागमा नफैलियोस् ।
मधुमेहका बिरामीहरूको खुट्टामा घाउ किन हुन्छ ?
यो समस्या तब हुन्छ जब कसैको मधुमेह नियन्त्रण बाहिर जान्छ । मधुमेहमा स्नायुहरू क्षतिग्रस्त हुन थाल्छन् । यसलाई डायबेटिक न्युरोप्याथी भनिन्छ । स्नायुहरू क्षतिग्रस्त हुँदा खुट्टा लाटो हुन्छ ।
जसले गर्दा चोट वा दुखाइको अनुभव बिरामीलाई थाहा हुँदैन । उदाहरणका लागि, यदि बिरामीको खुट्टामा केही बिझ्यो वा चोट लाग्यो भने, बिरामीलाई थाहै हुँदैन । जब चोटमा ध्यान दिइँदैन, यो बिस्तारै ठूलो घाउमा परिणत हुन्छ ।
मधुमेहले रक्तनलीहरूलाई पनि हानि पुर्याउँछ । रक्तनलीहरूमा प्लाक बन्न थाल्छ, जसले रक्त प्रवाहमा अवरोध उत्पन्न गर्छ । जब खुट्टासम्म पर्याप्त रगत पुग्दैन, तब कोशिकाहरूलाई अक्सिजन र पोषक तत्त्वहरू प्राप्त हुँदैनन्, जसले गर्दा सानो चोट पनि घाउको रूप लिन्छ । खराब रक्त सञ्चारले घाउ निको हुने प्रक्रियालाई ढिलो गर्छ, जसले डायबेटिक फुटको जोखिम बढाउँछ ।
जब मधुमेह बढेको हुन्छ, शरीरमा ग्लुकोजका केही यस्ता उत्पादनहरू बन्छन्, जसले खुट्टा सुन्निने समस्यालाई बढाउँछ ।
यो समस्याबाट बच्न ध्यान दिनुपर्ने कुरा
रगतमा चिनीको मात्रा नियन्त्रण गर्नु अत्यन्त जरुरी छ किनभने रगतमा चिनीको मात्रा नियन्त्रण गरेर मात्र मधुमेहका कारण खुट्टामा हुने समस्याबाट बच्न सकिन्छ वा त्यसलाई ठिक गर्न सहयोग पुग्छ ।
साथै, चिकित्सकले दिएका सबै सल्लाहको पालना गर्नु र नियमित रूपमा रगतमा चिनीको मात्रा जाँच गर्नु आवश्यक हुन्छ । त्यसै गरी, समय–समयमा खुट्टाको निरीक्षण पनि गरिरहनुपर्छ ।
नियमित रूपमा आफ्नो खुट्टामा कुनै कट, फोका, घाउ वा अन्य असामान्यताहरू जाँच गरिरहनु पर्छ । यी समस्याहरू चाँडै पत्ता लगाउनाले उपचारमा धेरै सहयोग पुग्छ र यी गम्भीर सङ्क्रमणको रूप लिनुभन्दा पहिले उपचार गर्न सकिन्छ ।
यस्ता जुत्ताहरू छनोट गर्नुहोस्, जुन पूर्ण रूपमा फिट होस् र खुट्टालाई सही सहारा प्रदान गरोस् । जुत्ताको कारण खुट्टा नकस्सियोस् र नबाङ्गियोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । चोटको जोखिम कम गर्न नाङ्गो खुट्टा हिँड्नबाट बच्नुपर्छ र घरभित्र पनि चप्पल वा जुत्ता प्रयोग गर्नुपर्छ ।
यसबाहेक अन्य स्वास्थ्य समस्याहरू, जस्तै उच्च रक्तचाप र कोलेस्टेराेलको मात्रालाई पनि नियन्त्रण गर्नुपर्छ । किनभने यी समस्याहरूले पनि रक्तसञ्चारमा असर गर्छ, जसले मधुमेहको खुट्टाको अल्सरको जोखिमलाई बढाउँछ ।
प्रतिक्रिया 4