News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीमा विद्यालयस्तरको टी–२० क्रिकेट लिग अक्सनसहित आयोजना हुने भएको छ।
- प्रतियोगिता २६ देखि २९ जेठसम्म भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछ र चार टिमले प्रतिस्पर्धा गर्नेछन्।
- खेलाडीको अक्सन १७ जेठमा हुनेछ र विजेतालाई नगद पुरस्कार सहित विभिन्न पुरस्कार प्रदान गरिनेछ।
१२ जेठ, बुटवल । विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले रुपन्देहीमा अक्सनसहितको प्यारामाउन्ट क्रिकेट लिग हुने भएको छ ।
विद्यालय स्तरको प्रतियोगितामा अक्सनबाट खेलाडी किनेर टी–२० लिग हुन लागेको आयोजक प्यारामाउन्ट क्रिकेट कमिटीले जानकारी दिएको छ ।
२६ जेठदेखि २९ जेठसम्म भैरहवाको सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा चार टिमले प्रतिस्पर्धा गर्ने प्यारामाउन्ट क्रिकेट कमिटिका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए ।
‘विद्यालयस्तरमा अक्सन सहितको टी–२० लिग यस क्षेत्रमा पहिलोपटक हो,’उनले भने, ‘विद्यार्थी खेलाडीलाई व्यवसायिक बन्न यसले प्रोत्साहन गर्ने छ ।’
प्रतियोगितामा प्यारामाउन्ड बोल्ड, प्यारामाउन्ट गोर्खाज, प्यारामाउन्ट किङ्स र प्यारामाउन्ट रोयलले प्रतिस्पर्धा गर्नेछन् ।
यी चार टिमले आफ्नो विद्यालय बाहेक जुनसुकै जिल्लाका विद्यालयका कक्षा ६ देखि १२ सम्मका ५ देखि ६ जनासम्म विद्यार्थीलाई टिममा राखेर खेलाउन सक्ने नियम रहेको खेल संयोजक सुरज बस्यालले बताए ।
प्रत्येक टिमले १५ जना खेलाडी किन्न पाउँछन् । प्रति खेलाडी न्यूनतम एक हजार र अधिकतम ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतियोगितामा ६ वटा खेल राउन्ड रोबिन लिग र फाइनल गरी ७ खेल हुनेछन् । प्रतियोगितामा सहभागी हुन २ सय जना खेलाडीले आवेदन दिइसकेका र ती मध्येबाट अक्सनका आधारमा टिम बन्ने बस्यालले बताए । १६ जेठ साँझ खेलाडीहरूको सूची आउने र १७ जेठमा अक्सन गरिने छ ।
२० देखि २४ जेठसम्म बन्द प्रशिक्षण रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १५ हजार रुपैयाँ र उपविजेता टिमले १० हजार रुपैयाँ, प्लेयर अफ टुर्नामेन्टलाई १ हजार ५ सय, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई १ हजार तथा प्लेयर अफ म्याचलाई समेत पुरस्कृत गरिने संयोजक बस्यालले बताए ।
गतवर्ष ई प्लानेटको आयोजनामा भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेटमा प्यारामाउन्ट विजेता बनेको थियो ।
प्रतिक्रिया 4