+
+
Shares

स्विट्जरल्याण्डमा सगरमाथा आरोहीहरू सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते ७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको हिमाली भूगोलमा आरोहण गरेका स्वीस नागरिकहरूलाई स्विट्जरल्याण्डको राजधानी बर्नमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो।
  • कार्यक्रममा सहभागीहरूले नेपाली संस्कृतिको प्रशंसा गर्दै हिमालसँगको सम्बन्ध र मित्रता व्यक्त गरे।
  • स्विस पर्वतारोहीहरूले हिमाली चुनौती र नेपाली संस्कृतिलाई आत्मिक पुनर्जागरणको प्रतीक बताए।

बार्सिलोना । सगरमाथा आरोहण गरेका चार जना स्वीस नागरिकलाई नेपाली राजदूतावास,स्विट्जरल्याण्डले एक विशेष समारोहमार्फत सम्मान गरेको छ ।

नेपालको हिमाली भूगोलमा पाइला टेकेका ती अनुभवी आरोहीहरूलाई शनिबार स्विट्जरल्याण्डको राजधानी बर्नमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो।

एभरेष्ट डेको पूर्वसन्ध्यामा सम्पन्न उक्त कार्यक्रम एनआरएनए स्विट्जरल्याण्डको सहकार्यमा आयोजना गरिएको थियो । समारोहमा नेपाली र स्वीस समुदायका साथै विदेशी पाहुनाहरूको उल्लेखनीय उपस्थिति थियो । उनीहरूले नेपाली संस्कृतिको स्वाद, हिमाली भावनाको गहिरो अनुभूति र मित्रवत वातावरणको प्रशंसा गरेका थिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका ती साहसी पर्वतारोहीहरूले आफ्ना जीवनका अविस्मरणीय क्षण, हिमालसँगको सम्बन्ध र नेपालप्रतिको समर्पण कार्यक्रममै साझा गरे । छपटक सगरमाथा आरोहण गरिसकेका अनुभवी स्वीस पर्वतारोही करि कोब्लर कार्यक्रममा विशेष आकर्षण बने । उनले भावुक हुँदै भने, ‘शेर्पा साथीहरूको साथ, हिमालको मौनता र नेपाली संस्कृतिको आत्मीयताले मलाई बारम्बार तानिरह्यो।’

भेरोनिका आर. मेयर, जसले सन् २००७ मा सगरमाथा चढेकी थिइन्,आफ्ना फोटो र भिडियोमार्फत दर्शकहरूलाई भावुक बनाइन् । त्यस्तै, पिटर ग्स्वेन्ड्टनर,  जसले २००४ मा सगरमाथा र २००८ मा मकालु आरोहण गरेका थिए, उनले हिमाली चुनौतीलाई आत्मिक पुनर्जागरणको प्रतीकका रूपमा वर्णन गरे । प्याट्रिक जब्रुन, जसले सन् २००८ मा सगरमाथा सफलतापूर्वक चढेका थिए । उनले भने, ‘शेर्पाहरूले मलाई बाटो देखाए, ऊर्जा दिए, र हिमालको आत्मा सँगै बाँडे। म उनीहरूप्रति जीवनभर ऋणी छु।’

कार्यक्रमको औपचारिक सुरुवात नेपाल र स्विट्जरल्याण्डका राष्ट्रिय गान बजाएर गरिएको थियो।समारोहका प्रमुख अतिथि स्वीस विदेश मन्त्रालयअन्तर्गत एसिया-प्यासिफिक डिभिजनका प्रमुख हाइनरिख शेल्लेनबर्ग थिए।उनले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत राम प्रसाद सुवेदीले स्वागत मन्तव्य दिँदै नेपाल-स्विट्जरल्याण्ड सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, हिमाली मित्रता र पर्वतारोहणबारे बोलेका थिए । उनले पर्वतारोहणलाई दुई देशबीचको भावना र संस्कृतिको सेतुको रूपमा चित्रित गरे ।

कार्यक्रमको सञ्चालन नेपाली दूतावासका द्वितीय सचिव सुजन लामिछानेले गरेका थिए।सहभागीहरूले नेपाली परिकारसहित प्रस्तुत सांस्कृतिक कार्यक्रमको पनि भरपूर आनन्द लिएका थिए,जसले उनीहरूलाई नेपालमै रहेको अनुभूति गरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?