
News Summary
Generated by OK AI. Editorially reviewed.- ताजकिस्तानले महिलाहरूलाई 'ताजिक स्टाइल'को पहिरन लगाउन सुझाव दिएको समाचार ६ मार्च २०२५ मा सार्वजनिक भयो।
- नेपालमा महिलाका लुगाका विषयमा सामाजिक र राजनीतिक विवादहरू जारी छन्, जबकि व्यक्तिगत निर्णयलाई सम्मान गर्नुपर्ने चर्चा छ।
- इतिहास र विश्वका विभिन्न देशहरूमा महिलाको पहिरन र अधिकारप्रति पितृसत्ताले गरेको नियन्त्रणको चर्चा गरिन्छ।
६ मार्च २०२५ को दिन, समाचार संस्था एएफपीको स्रोत दिएर ‘फ्रान्स २४’ अनलाइनमा ताजकिस्तानका महिलाहरूलाई कस्तो लुगा लगाउने भनेर एउटा सल्लाह दिएको समाचार सार्वजनिक भएको थियो।
उक्त समाचारमा ताजकिस्तान सरकारले महिलाहरूलाई पश्चिमा शैलीको शरीरको भाग देखिने लुगा वा मुस्लिम देशका महिलाले जस्तो टाउको छोप्ने लुगा लगाउने होइन कि, ‘ताजिक स्टाइल’को लुगा लगाउनू भनेर सल्लाह दिइएको रहेछ। त्यसो गर्नुको कारण, देशको पहिचान झल्काउने पहिरनलाई बढावा दिनु रहेछ।
उक्त सल्लाह वा निर्देशन सबै उमेरका महिलाका लागि रहेछ। सल्लाहअनुसार, काममा कस्तो लुगा लगाउने, घरमा कस्तो लगाउने, थिएटर जाँदा कस्तो र पर्वहरू मनाउँदा कस्तो लगाउने भन्ने म्यानुएल बनाइएको रहेछ।
हुन त, सन् २०१८ मा पनि शरीरको कुनै पनि अङ्ग देखिने युरोपियन लुगाहरू, मिनीस्कर्टस्, गला तलसम्म देखिने लुगा र कालो र टाउको छोप्ने कपडा नलगाउन म्यानुअल बनाएर जारी गरिएको रहेछ। त्यसको सट्टा, चमकदार ‘ताजिक रोब्स’ (लामो, माथिदेखि तलसम्मको गाउन)मात्रै लगाउने निर्देशन दिइएको रहेछ।
उक्त समाचार पढ्दै गर्दा नेपालमा प्राज्ञ जगमान गुरुङको केटीहरूको लुगा लगाइ बारेको टिप्पणीवाला भिडियो भाइरल भैरहेको थियो। त्यो भिडियोमा भनिएका कुराहरूलाई सही थाप्दै लेखिएका कमेन्टहरू पढेर त दिमाग भनन्न पारिरहेको थियो।
नेपालमा पनि बेलाबखत, देशले ‘सेलिब्रेटी’ मानेका व्यक्तिहरूदेखि बलात्कार किन भैरहेछ भनेर तर्क दिनेहरूसम्मका व्यक्तिहरू महिलाका लुगामा केन्द्रित भैरहेका हुन्छन्। अझ, आजकल त ‘राष्ट्रवादी’ देखिन, हिन्दुवादीको परिचय दिन विशेष परिधानलाई जोड दिएको पाइन्छ।
हुन त, लुगा कस्तो लगाउने भन्ने कुरा आफूलाई के लगाउँदा हिंड्न, डुल्न, बस्न, उठ्न लगायत दैनिकीका चर्याहरूमा सरल र सुलभ हुन्छ र ती कुराहरू नितान्त व्यक्तिगत निर्णयमा आधारित हुन्छन् भनेर सोचिनुपर्ने हो; तर त्यो त स्यालको सिङ खोज्नु जस्तै हुन लागिसक्यो।
देशमा आर्थिक, राजनीतिक र अन्य समस्याहरू विकराल रूपमा देखिएका हुन्छन्। बिजुली बत्ती, स्वच्छ खानेपानीको समस्या, वायु प्रदूषण बढेर सास फेर्न कठिन भएको, त्यसले ल्याएको असरले बिरामी परेका मानिसहरूको अवस्था रेमिट्यान्सको लागि विदेशिएका युवा/युवतीले भोग्नुपरको सामाजिक र घरायसी समस्या; त्यसले ल्याएको पारिवारिक विखण्डनको समस्याबारे भन्दा बढी महिलाका पहिरन बारेमा बढ्ता चासो किन हुने होला, यो कहिल्यै बुझ्न सकिएन।
अर्को कुरा, कतिपय देशहरूमा (अझ, विशेषगरी मुस्लिम देशहरूमा), सत्ता परिवर्तन हुने बित्तिकै त्यसको कहर महिला तथा किशोरीहरूमा पर्छ। त्यसको उदाहरण, हामी इरान वा अफगानिस्तान जस्ता देशहरूलाई पनि लिन सक्छौं।
ती देशहरूको इतिहासलाई फोटोमा देख्दा वा अक्षरमा पढ्दा, व्यवस्था परिवर्तन हुनुअगाडि, महिलाहरूको पहिरनका तस्वीरहरूमा मात्रै होइन, महिलाका घर बाहिरको सक्रियतामा पनि घरपरिवार, समाज र शासकहरू पछिल्ला दिनहरूको जस्तो अनुदार भएको आभास हुँदैन । तर जब सत्ता परिवर्तन भयो, त्यसको असर महिलाको पहिरनमा मात्रै होइन, सक्रियता र गतिविधिमा पनि हदैसम्मको अंकुश लाग्न थाल्यो।
सन् १९८४ तिरको कुरा जस्तो लाग्छ, त्यतिबेलाको चर्चित म्यागेजिन ‘द रिडर्स डाइजेस्ट’मा एउटा लेख पढेकी थिएँ। त्यसमा लेखिएको एक लाइन अहिलेसम्म पनि मनमा फलामे किला ठोकेको जसरी गडेको छ। त्यहाँ लेखिएको थियो- इरानमा आयोतुल्ला खोमेनीको सरकारले कोही महिलाले लिपिस्टिक लगाएको देख्यो भने उनको ओठ नै काटिदिनेछ।
त्यसबेला न राजनीतिक विचारधाराको ज्ञान थियो, न त अहिलेको जस्तो विश्वबारे जान्न पाउने सञ्चारका माध्यमहरू नै थिए। बल्लबल्ल पढ्न पाएको र पढ्न सक्ने म्यागेजिनमा लेखिएको उक्त लेखका पंक्तिहरूले मनको कुनासम्म भयातुर बनाइदिएको थियो।
सन् १९७९ मा आयोतुल्ला खुमेनीले इरानको सत्ता आफ्नो हातमा लिएपछि महिलाहरूको विवाहको उमेर घटाइयो, अधिकार, सम्बन्धविच्छेदको अधिकारमा हेरफेर गरियो र आफ्नो बच्चामाथिको अधिकार पूरै खोसियो।
सन् १९६७ को इरानी ‘फ्यामिली प्रोटेक्सन ल’ ले त्यसभन्दा पहिले रहेको विवाहको उमेर बढाएर किशोरीको १५ र किशोरको १८ बनाएको थियो। त्यसपछि, सन् १९७५ मा त्यो उमेर पनि बढाएर महिलाको लागि १८ र पुरुषको लागि २० तोकेको रहेछ। आयोतुल्ला खोमेनीले शासनभार सम्हालेपछि महिलाको विवाह गर्ने उमेर १८ वर्षबाट घटाएर ९ वर्षमा झारेको थियो, जुन अहिलेसम्म पनि करिब-करिब यथावत् नै रहेको समाचार माध्यमहरूमा बेलाबखत पढ्न सकिन्छ।
इरानको कानुन सन् १९६२ तिर पनि महिलाको पक्षमा सकारात्मक थिएन। त्यतिबेला महिलाहरूलाई नाबालिग, अपराधी वा मानसिक सन्तुलन गुमाएकाहरूको श्रेणीमा राखिन्थ्यो भन्ने इतिहास पढ्न पाइन्छ।
हुनत, त्यतिबेलाको समयमा विश्वका थुप्रै देशमा महिलालाई इज्जतका साथ हेरिंदैनथ्यो। मतदान, सम्पत्तिको अधिकारबाट वञ्चित गरिन्थ्यो। तर अन्य देशका महिलाले अनवरत संघर्ष गरेर केही न केही परिवर्तन ल्याउन सक्षम भएका छन् वा हुँदै छन्। इरानको कुरा भने त्यस्तो देखिन्न।
‘इरानवायर’ नामक अनलाइन पत्रिकाले सन् २०२१ मार्च ८ मा, त्यतिबेला आयोतुल्ला खोमेनीसँग अन्तर्वार्ता लिन सफल भएकी, सन् १९७० देखि ‘केहान’ नामक पत्रिकामा कार्यरत भेटरान महिला पत्रकार नूशाब्हे अमिरीसँगको कुराकानी छापेको थियो। त्यसबेलाको महिला पत्रकारहरूको स्थिति बताउँदै, त्यहाँ उनले भनेकी छिन्, ‘त्यतिबेला फ्याकल्टी अफ कम्युनिकेसन साइन्सेजमा महिला र पुरुष ५०/५० प्रतिशत थिए। ‘जान-ए-रूज’ साप्ताहिक र ‘केहान’मा पत्रकार मानसुरेहपिर्मिया थिइन्। परी आबासल्ली ‘विमेन्स इन्फर्मेसन’की एडिटर-इन-चीफ थिइन् र सीमा दाबिरमनेश ‘इलेलाएट’ समाचारपत्रमा संवाददाता थिइन्।’
साथै, उनका अनुसार, ‘केहान’को एक सय जना बलियो सम्पादकीय बोर्डमा ६ जना संवाददाता थिए। यसको मतलब, महिलालाई पत्रकारिताको क्षेत्रमा पनि कुनै छेकबार रहेनछ।
तर, त्यो बेलाको समयभन्दा अहिलेको समयसम्म पनि त्यति धेरै परिवर्तन आइसकेको छैन। लुगा लगाउने, स्वतन्त्र भएर हिंड्ने, घरबाहिर काम गर्ने जस्ता नितान्त व्यक्तिगत कुराहरूमा पनि महिलाको आफ्नो निर्णय चल्दैन।
सेप्टेम्बर २०२२ मा सार्वजनिक स्थानमा बुर्का नलगाई कपाल देखाएर हिंडेको बहानामा इरानी सत्ताको मोर्यालिटी पुलिसले म्हाशा जिना अमिनीलाई थुनेर कस्टडीमा भएको उनको मृत्युपश्चात् इरानको सत्ताले ठूलो विरोध र्यालीहरूको सामना गर्नुपरेको थियो। यस्तै, अर्को देश अफगानिस्तानमा तालिवानको सरकारले महिलामाथि गरेको अत्याचारको कुरा पनि त्यति पुरानो भएको छैन।
खासमा यो लेखको उद्देश्य, महिलाहरूलाई धर्म र संस्कृतिको नाममा लगाइएको वा लगाउने बन्देजभन्दा पनि, महिलालाई मात्रै किन बलिको बोको बनाइन्छ भन्ने हो।
अठारौं शताब्दीदेखि नै पनि महिलाले महिलाको पढ्न/लेख्न पाउने अधिकारको कुरा उठाएको तथ्य फ्रेन्च रेभोलुसनको इतिहास पढ्दा पनि जान्न पाइन्छ। फ्रेन्च रेभोलुसनको हरेक आयाममा महिलाले भाग लिएको तथ्य इतिहासले कतै न कतै समेटेको छ। तर महिलालाई पुरुषसरहको स्थान दिइएको पाइँदैन।
त्यतिबेला पनि उनीहरू घरभित्रकै काममा उपयुक्त हुन्छन्, बच्चा हेर्नु, बच्चालाई दूध चुसाउनु, घरको काम मात्रै गर्नु भनेर उनीहरूलाई निर्धारित गरिदिएको थियो। त्यसको असर आजसम्म पनि हटेको देखिंदैन। सायद, त्यतिबेलैदेखि महिलाहरू राजनीतिमा सक्रिय हुनसकेको भए, सम्पत्तिमा महिलाको अधिकार भएको भए, आजसम्म महिलाले यति पिछडिएर बस्नुपर्ने थिएन कि ? त्यतिबेलाको कुरा छाडिदिउँ। अहिले पनि समाज किन महिलाको बारेमा अनुदार भैरहन्छ ?
पहिले-पहिले महिलाले (विशेषगरी हिन्दु समाजमा) खानमा समेत बन्देज खप्नुपर्थ्यो। जन्मिएदेखि खाएको खानेकुरा लोग्नेको मृत्यु हुनेबित्तिकै छाड्नुपर्थ्यो। विधवा महिलाले खाटमा सुत्न नहुने, भटमास, लसुन, प्याज, गोलभेंडा, मासु जस्ता खाद्यान्न खान नहुने जस्ता बन्देज थोपरिएका थिए। त्यही ठाउँमा श्रीमतीको मृत्यु हुँदा श्रीमानले जे खान पनि हुने, जता जान पनि हुने, पहिरन पनि बार्न नपर्ने व्यवस्था थियो।
अहिले महिलामा आएको चेतनाले गर्दा परिवर्तन त हुँदैछ तापनि, सबै महिलाहरू आर्थिक रूपले आत्मनिर्भर नभएको खण्डमा घर, परिवार या समाजले आफ्नो निर्णय थोपर्न अझै पनि छाडेको छैन।
कसले के लगाउने वा नलगाउने भन्ने इतिहास खोज्दै जाँदा, तेह्रौंदेखि अठारौं शताब्दीसम्म एउटा कानून नै रहेछ। उक्त कानूनले कसले कस्तो लुगा लगाउने, के-कस्ता लग्जरीका सामान प्रयोग गर्न पाउने वा नपाउने भन्ने तय गर्दोरहेछ।
‘सम्पचुअरी ल’ नामको कानून बनाउनुपरेको कारण, समाजमा सामाजिक, आर्थिक र नैतिक स्तर कायम गर्न तथा आपराधिक गतिविधि रोक्नको लागि हो भनिएको रहेछ। सो कानून आधुनिक युरोपकाल सुरु हुनुभन्दा अगाडिदेखि युरोप र इङ्ल्यान्डमा लागू भए तापनि, त्यस्तै खालको कानून २२१ बीसीमा चीनको ‘किन डाइनेस्टी’मा रहेछ।
‘ब्रिटानिका अनलाइन’मा लेखिएअनुसार, सन् १६३० देखि १८६८ सम्म जापानमा ‘सम्पचुअरी ल’ कडाइका साथ लागू गरिएको रहेछ। जसअनुसार, एरिस्ट्रोक्र्याट वर्गका समुराईहरूले लगाउने लुगाहरू अन्य वर्गले लगाउन नपाउने रहेछन्।
मध्ययुगदेखि नै महिलाले लगाउने लुगामा चर्चले भूमिका खेल्थ्यो भनेर लैंगिक अभियन्ता तथा लेखक लक्ष्मी पिल्लई गुप्ताले १६ डिसेम्बर २०२४ मा अनलाइन प्रकाशन ‘मिडियम’मा लेखेकी छन्।
उनका अनुसार, चौधौं शताब्दीमा ‘सम्पचुअरी ल’ले महिलालाई कस्तो लुगा लगाउने मात्रै होइन, कुन वर्गका महिलाले कस्तो रङको लुगा लगाउने भन्नेसम्म निर्देश गर्थ्यो। यसको कारण, महिलाको पहिरनले उनको पतिको स्तर प्रदर्शन गर्दथ्यो; न कि उनको आफ्नो पहिचान।
उनले आफ्नो लेखमा, भिक्टोरियन एराको पहिरनको उदाहरण दिंदै लेखेकी छिन्- त्यतिबेला महिलाहरूले लगाउने टनक्क परेको, क्रोसेट गाउनले महिलालाई नाजुक तथा सजाउने ‘एन्जल इन द हाउस’को रूपमा प्रस्तुत गरिन्थ्यो।
हुन पनि, भिक्टोरियन एरा, उच्च, धनाढ्य वर्गका महिलाहरूको फोटोमा देखिने लुगाहरू वा त्यतिबेलाका सिनेमामा देखाइएका लुगाहरू हेर्दा महिलाहरूको त्यस्तो पहिरनले उनीहरूले सुविधापूर्वक चहलपहल गर्न पाएको जस्तो देखिंदैन।
समग्रमा भन्नुपर्दा, उहिलेदेखि अहिलेसम्म पितृसत्ताले महिलाको पहिरनलाई पनि मुठ्ठीमै बाँधेर राखेको छ। यो सिलसिला अझै कहिलेसम्म रहने हो ?
प्रतिक्रिया 4