
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत मोरङले अवैध उत्खनन मुद्दामा क्रसर व्यवसायी भीम पौडेल र उनका भाइलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
- मोरङको मिक्लाजुङ गाउँपालिका–५ स्थित सोल्टी खोलाको वन क्षेत्रमा अवैध उत्खनन गरेको भेटिएपछि उनीहरू लाई नियन्त्रणमा लिइएको थियो।
१३ जेठ, विराटनगर । मोरङको वन क्षेत्रमा अवैध उत्खनन आरोपी क्रसर व्यवसायीलाई जिल्ला अदालत मोरङले धरौटीमा छाडेको छ । वन क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन गरेपछि परेको मुद्दामा क्रसर व्यवसायी भीम पौडेलसहित उनका भाइ र दुई चालकलाई अदालतले धरौटी छाड्ने आदेश दिएको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका–५ स्थित सोल्टी खोलाको वन क्षेत्रमा अवैध उत्खनन गरेको भेटिएपछि सब डिभिजन वन कार्यालय मंगलबारेले गत १३ वैशाखमा २ वटा टिपरसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
वन क्षेत्रमा उत्खनन गरी मिक्स गिट्टी लोड गरेको प्रदेश १–०२–००१ क ५३०८ र प्रदेश १–०२–००१ क ५२१३ नम्बरको टिपरसँगै चालक मिक्लाजुङ–४ का ४१ वर्षीय धनजीत विश्वकर्मा र मिक्लाजुङ–९ का ४० वर्षीय मानबहादुर विश्वकर्मा पक्राउ परेका थिए ।
अनुगमनमा पुगेको टोलीलाई अवरोध गरेपछि सुन्दरहरैँचा–५ का ४२ वर्षीय लोकबहादुर पौडेल पनि पक्राउ परेका थिए । लोकबहादुर क्रसर व्यवयायी भीम पौडेलका भाइ हुन् ।
दुई वटै टिपर विनिता श्री कन्स्ट्रक्सन एन्ड सप्लायर्स इटहरीको देखिएपछि पक्राउ परेका तीनसहित भीम पौडेललाई फरार प्रतिवादी बनाएर ६ जेठमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो ।
वन ऐन, २०७६ अनुसार मुद्दा दर्ता भएको मुद्दामा टिपर चालक धनजीत विश्वकर्मा र मानबहादुर विश्वकर्मा र लोकबहादुर पौडेललाई न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले ७ जेठमा जनही १५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।
मुद्दा दर्ता गर्दा फरार रहेका प्रतिवादी भीम पौडेल भने सोमबार अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि न्यायाधीश घिमिरेकै इजलासले पौडेललाई पनि पछि ठहरे बमोजिम हुने गरी १५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
आदेशपछि धरौटी बुझाएर उनी छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अदालतले टिपरका लागि भने ४२ लाख ७० हजार ७९ रूपैयाँ ५९ पैसा धरौटी माग गरेको थियो । टिपरको धरौटी पनि बैंक ग्यारेन्टी मार्फत सोमबार नै बुझाएको बुढाथोकीले बताए ।
प्रतिक्रिया 4