+
+
Shares

एमालेसँग असुरक्षित ठाने राजावादीले

प्रधानमन्त्रीको बोलीले राजावादीहरूमा सुरक्षा चिन्ता

राजधानीको एक होटलमा मंगलबार सम्पादकहरूसँग राजावादी-हिन्दूवादी नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्ति र नेकपा एमालेको तयारीका कारण सुरक्षा खतरा देखिएको चिन्ता गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजावादीहरूले १५ जेठदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारी गरेका छन्।
  • प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेको तयारीले सुरक्षा चिन्ता बढाएको उनीहरुले बताएका छन्।
  • राजावादी र हिन्दूवादी समूहहरू एकताबद्ध भएर संविधान र व्यवस्थाप्रति चुनौती दिने तयारीमा छन्, सरकार र सुरक्षा निकायको ध्यानाकर्षण भएको छ।

१३ जेठ, काठमाडौं । संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको मागसहित पर्सि, १५ जेठदेखि निर्णायक आन्दोलन थाल्ने तयारी गरिरहेका राजावादीहरूले गम्भीर सुरक्षा चिन्ता जनाएका छन् ।

राजधानीको एक होटलमा मंगलबार सम्पादकहरूसँग राजावादी-हिन्दूवादी नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्ति र नेकपा एमालेको तयारीका कारण सुरक्षा खतरा देखिएको चिन्ता गरेका हुन् ।

‘हामीले रत्नपार्कबाट आन्दोलन सुरु गर्दैछौं । यो थाहा पाएपछि प्रधानमन्त्रीको पार्टीले त्यही छेउमा कार्यकर्ता उतार्ने भनेको छ,’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘यसबाट प्रधानमन्त्री आफैं मुठभेड चाहन्छन् भन्ने देखियो ।’

तर, आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने लिङ्दनले प्रतिबद्धता जनाए । ‘राज्य आफैं भड्काउने खेलमा लागेको छ, तर हामी संयम गुमाउँदैनौं,’ उनले भने ।

लिङ्देनकै जस्तो चिन्ता राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति पार्टीका अध्यक्ष केशरबहादुर बिष्ट र राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनाए ।

‘हामी शान्तिपूर्ण र निर्णायक आन्दोलन थाल्दैछौं । तर प्रधानमन्त्रीको भाषाले हामीलाई चिन्तित बनाएको छ,’ सुवेदीले भने, ‘सत्याग्रहकै स्वरूपमा हुने आन्दोलनको पक्षमा साथ दिन अपिल गर्छु ।’

राप्रपा नेपालका अध्यक्ष थापाले आफूहरूको आन्दोलन संविधानसम्मत नै हुने भए पनि प्रधानमन्त्री र मन्त्रीहरूले आपत्तिजनक अभिव्यक्ति दिइरहेको बताए । ‘मैले सरकारको प्रवक्ताको कुरा सुनें, व्यवस्था विरोधीहरूलाई प्रतिबन्ध लगाइदिन्छौं भन्नुभयो,’ थापाले भने, ‘जबकि हामीले संविधानको केही दफा संशोधन गरौं मात्र भनेका हौं ।’

राजसंस्था र हिन्दूराज्य पुनर्स्थापनाको माग गर्नेहरूमाथि प्रतिबन्ध लगाइदिने मन्त्रीहरूको अभिव्यक्ति अनि तीनकुने घटनाका कारण सुरक्षा चिन्ता गर्नुपरेको उनीहरूले बताएका थिए ।

व्यवस्थामाथि प्रश्न उठाउनेलाई राज्यद्रोहकै मुद्दा चलाउने गरी कानुन नै बनाउन लागिएकोप्रति नेताहरूको चिन्ता थियो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरामाथि २५ वर्षसम्म जेल पठाउने गरी मुद्दा चलाउनुलाई उनीहरूले भय सिर्जनाकै प्रयास रहेको तर्क गरे ।

संविधान जारी गर्दाका एक सहयात्री शक्तिमाथि फरक विचार राखेकै कारण निषेध गर्न खोजिएकाले यसपटक अस्तित्व रक्षाको लडाइँ पनि लड्ने राप्रपा नेपालका अध्यक्ष थापाले बताए ।

शृङ्खलाबद्ध घटनाक्रममा प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति उनीहरूको विशेष आपत्ति थियो । ‘विधिको शासनमा मुलुक चल्ने हो भने, मुलुकमा विपक्षी शक्ति बलियो हुने हो भने प्रधानमन्त्रीको बोली राजीनामा गर्नुपर्ने तहको हो,’ अध्यक्ष लिङदेनले भने । तर व्यवस्था ठिक ढंगले नचलाएकाले सुरक्षा चिन्ता लिएर आफूहरूले गुहार माग्नुपर्ने अवस्था आएको लिङदेनको तर्क थियो ।

प्रधानमन्त्री ओलीले ‘१५ जेठमा काठमाडौं एमालेको नियन्त्रणमा’ हुनेगरी सडक प्रदर्शनमा उत्रन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । त्यसैअनुसार गणतन्त्र उत्सव मनाउन भन्दै एमालेले भृकुटीमण्डपमा कार्यकर्ता उतार्ने तयारी गरिरहेको छ । जनप्रदर्शनका निम्ति एमालेका सबै पदाधिकारी जिम्मेवारी सहित परिचालित भएका छन् ।

रत्नपार्कमा राजवादीहरूले आन्दोलन थाल्ने भनेकै दिन प्रधानमन्त्री ओलीकै भाषामा काठमाडौं कब्जा गर्ने एमाले तयारीपछि राजावादीहरूमा सुरक्षा चिन्ता देखिन्छ । उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग पुगेरै आन्दोलनको निष्पक्ष अवलोकनको आग्रह गरिसकेका छन् ।

‘नेतृत्व पंक्ति नै अग्रभागमा उभिएर हुने हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । नियन्त्रण बाहिर जान दिँदैनौं,’ थापा भन्छन् । तीनकुने घटनाबाट पाठ सिकेर अगाडि बढ्न लागेको पनि उनीहरूको भनाइ थियो । तर मुठभेडको सम्भावना टार्न भनेर रिङरोड बाहिर जान नसकिने पनि नेताहरूले तर्क गरे ।

‘हामीले कुनै सभा/समारोह गर्न लागेको होइन । आन्दोलन गर्ने भनेपछि त्यो निश्चित ठाउँमा खुम्चिँदैन,’ लिङदेनले भने, ‘प्रभावै नपर्ने ठाउँतिर गएर कसैले आन्दोलन गर्छ र ?’
रत्नपार्कबाट आन्दोलन थाल्ने भनेपछि त्यही छेउ भृकुटीमण्डपमा एमालेको शक्ति प्रदर्शन सही नियतले नराखिएको उनले बताए ।

अस्तित्वको संघर्ष

सुरक्षा चिन्ता देखिए पनि अस्तित्व रक्षाको संघर्ष नरोक्ने उनीहरूले चेतावनी पनि दिएका छन् । संविधान जारी गर्दाका एक सहयात्री शक्तिमाथि फरक विचार राखेकै कारण निषेध गर्न खोजिएकाले यसपटक अस्तित्व रक्षाको लडाइँ पनि लड्ने राप्रपा नेपालका अध्यक्ष थापाले बताए ।

रत्नपार्कमा राजवादीहरूले आन्दोलन थाल्ने भनेकै दिन प्रधानमन्त्री ओलीकै भाषामा काठमाडौं कब्जा गर्ने एमाले तयारीपछि राजावादीहरूमा सुरक्षा चिन्ता देखिन्छ ।

‘फौजदारी संहिता संशोधन गरेर संघीय गणतन्त्रको विरोधमा बोल्नेहरूमाथि राज्यद्रोहको मुद्दा लगाउन खोजिँदैछ,’ थापाले भने, ‘यो त हाम्रो वैचारिक अस्तित्व संकटमा पार्ने काम भयो । त्यसो हुनाले हामी एकताबद्ध भएका छौं,’ उनले भने ।

गत १५ वैशाखमा राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभाका सहभागी राजावादी अगुवाहरू । तस्वीर: आर्यन धिमाल/अनलाइनखबर

थापाका अनुसार तीन दल (राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति पार्टी) बाहेक ४५ वटा राजावादी-हिन्दूवादी समूह एकताबद्ध बनेका छन् । जसलाई राजावादीहरूले ऐतिहासिक अवसर (सर्वाधिक अनुकूल वातावरण) भनेका छन् ।  ‘२०६२/०६३ सालको परिवर्तनपछि राजावादी-हिन्दूवादीहरू एक ठाउँमा उभिएका छौं,’ उनले भने ।

राज्यका तर्फबाट अस्तित्व संकटमा पार्नेगरी वातावरण तयार पारिएकै कारण राजावादी-हिन्दूवादीहरू एकताबद्ध हुन पुगेको अरु नेताहरूले पनि बताए । ‘देशको प्रधानमन्त्रीकै कारण हामी असुरक्षित भयौं । त्यसैले साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्‍यो,’ पूर्वमन्त्री समेत रहेका बिष्टले भने ।

१५ जेठपछिको आन्दोलनले देशमा एउटा नवीन समझदारीको वातावरण सिर्जना गर्ने विश्वास पनि उनीहरूमा छ । राजावादीहरूले भन्ने गरेको नवीन समझदारीमा संवैधानिक राजादेखि माओवादीसम्म अट्नेछन् । कमल थापाले त नवीन समझदारीका क्रममा ज्ञानेन्द्र शाह नमान्ने हो भने हृदयेन्द्र शाहलाई नयाँ राजा बनाउन सकिने समेत बताए ।

‘राष्ट्रिय सहमति हुन्छ भने हृदयन्द्रलाई राजा बनाऔं, २०/२१ वर्षको पनि हुनुभयो,’ थापाले भने, ‘तर त्यसका लागि राजा पनि सहमतिमा आउनुपर्छ, सहमति हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?