+

नेपाल र चीनका सगरमाथा आरोहीहरूबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

२०८२ जेठ  १४ गते १२:१९ २०८२ जेठ १४ गते १२:१९
नेपाल र चीनका सगरमाथा आरोहीहरूबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको अवसरमा सगरमाथा आरोहीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना भयो।
  • खेलमा नेपालको सगरमाथा फ्रेण्डशिप टिम ४-१ ले विजयी भयो ।
  • यस कार्यक्रमले खेलकुदको माध्यमबाट दुई देशबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य राखेको थियो।

१४ जेठ, काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसर र अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को सम्मानमा नेपाल र चीनको सगरमाथा आरोहीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

दुई देशबीच कुटनितिक सम्बन्ध स्थापना भएको अवसरमा नेपाल र चीनका सगरमाथा आरोहीहरूबीच विशेष रुपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा बुधबार एन्फा कम्प्लेक्समा उक्त खेल भएको हो ।

नेपालका लागि चिनियाँ राजदुत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ,अल्पाईन स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष रोमनाथ ज्ञावली लगायतको सहभागिता थियो ।

चिनिया राजदुत चेन सोङले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेल उद्घाटन गरेका थिए । यस मैत्रीपूर्ण खेलमा सगरमाथा फ्रेन्डशिप टिम (नेपाल) र माउन्ट चोमोलोङ्मा फुटबल टिम (चीन) बीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालको सगरमाथा फ्रेण्डसिप टिम ४-१ ले विजयी भएको थियो ।

युनाईटेड बाई माउण्टेन, बोण्डेड थ्रु फुटबल भन्ने भावनाले जोडिएको नाराका साथ उक्त खेल आयोजना भएको थियो ।

यो सांकेतिक कार्यक्रमले खेलकुदको विश्वव्यापी भाषामार्फत मित्रता, आपसी सम्मान र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । जसले विख्यात पर्वतारोहीहरूलाई शिखरतिरको यात्राभन्दा बाहिर पनि आत्मीयता जोड्न मदत गर्नेछ।

यस कार्यक्रमको सबैभन्दा विशेष आकर्षणको रुपमा नेपाल र चीनका सगरमाथा आरोहीहरूबीचको मैत्रीपूर्ण फुटबल खेल थियो । साथै ‘समिटियर्स फुटबल हस्ताक्षर समारोह’ पनि थियो । जहाँसगरमाथा आरोहीले बलमा सामूहिक रुपमा हस्ताक्षर गरेका थिए । त्यसले एकता र आपसी सम्मानको प्रतीक प्रस्तुत गरेको छ ।

दुवै देशका विशिष्ट अतिथिहरूले प्रेरणादायक मन्तव्य दिँदै सहयोग र मित्रताको भावना उजागर गरे । खेलपश्चात दुवै टिमका खेलाडीहरूलाई मैत्री ट्रफीका साथै पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।

यसले सहभागीहरूको यो अविस्मरणीय अवसरमा योगदानलाई सम्मानित गर्‍यो। फुटबल खेललाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल बिग माउण्टेन ट्राभलले विशेष सहयोग गरेको थियो ।

अल्पाईन स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष रोमनाथ ज्ञवालीले सगरमाथा आरोहीहरूबीचको फुटबल खेलले दुई देशको सम्बन्धलाई अझ प्रगाढ र बलियो बनाएको बताए ।

सगरमाथा आरोहणको ७२ वर्षको ईतिहासमा मंगलबार एभरेष्ट एलायन्स नेपालले राजधानीमा एरभेष्ट समिटिएर्स समिट २०२५ मा आएका चिनियाँ सगरमाथा आरोहीहरूले खेलमा सहभागिता जनाएका थिए ।

एभरेष्ट समिटियर्स समिटमा नेपाल र चीनसहित २० भन्दा बढी देशका तीन सय सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो ।

पहिलो पटक आयोजना भएको एभरेष्ट समिटियर्स समिट अर्को वर्ष पनि गर्ने र दुई दिन सञ्चालन हुने एभरेष्ट एलायन्सका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए ।

मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय