+
+
Shares

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न सर्च कमिटी गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति सिफारिस गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा सर्च कमिटी गठन भएको छ ।
  • सर्च कमिटीले उपकुलपति सिफारिसका लागि तीन जनाको नाम प्रधानमन्त्री समक्ष पेस गर्नेछ।
  • चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा दुई महिनादेखि उपकुलपति रिक्त छन्।

१४ जेठ, काठमाडौं । चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सर्च कमिटी बनेको छ ।

सरकारले उपकुलपति रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस गर्न सर्च कमिटी बनाएको हो ।

स्वास्थ्यमन्त्रीको संयोजकत्वमा बनेको सर्च कमिटीका सदस्यहरूमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य छन् ।

झन्डै दुई महिनादेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपुकलपतिविहीन छन् ।

ती प्रतिष्ठानमा निमित्त उपकुलपति तोकेर दैनिक आर्थिक र प्रशासनिक काम भइरहेको छ ।

‘अहिले सर्च कमिटीले उपकुलपति सिफारिसका लागि कार्यविधि बनाइरहेको छ । कमिटीले थप काम गरिरहेको छ,’ डा. देवकोटाले भने, ‘छिट्टै नै सार्वजानिक सूचना जारी गर्छौं ।’

मन्त्रालय स्रोतका अनुसार नीति योजना र समवन्य महाशाखाका प्रमुख बिदामा भएका कारणले मापदण्ड बनाउन ढिलाइ भइरहेको छ । राजनीतिक रूपमा भागबन्डा गरेर उपकुलपति नियुक्तिको गर्ने तयारी भइरहेको छ ।

सर्च कमिटीले उपकुलपतिका लागि प्रत्येक प्रतिष्ठानका लागि तीन जनाको नाम प्रधानमन्त्री ओली समक्ष पेस गर्ने छ । सिफारिस तीन जनाबाट प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन् ।

यी प्रतिष्ठानमा उपकुलपति रिक्त भएको पनि दुई महिनाभन्दा बढी समय भइसकेको छ । बीपी प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गत २७ चैतदेखि रिक्त भएको हो । पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति २२ चैतदेखि रिक्त छ ।

उपकुलपति रिक्त रहेका चार प्रतिष्ठानको उपकुलपतिको निमित्तको जिम्मेवारी रेक्टर र डिनले पाएका छन् । बीपी कोइरालामा डा. सञ्जीव शर्मा, पाटनमा डा. पवन शर्मा र कर्णालीमा डा. डबलबहादुर धामीले निमित्तको जिम्मेवारी पाएका हुन् । पोखरामा भने रेक्टर नभएका कारण डिन डा. श्रीकृष्ण श्रेष्ठले निमित्तको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?