+
+
Shares

अफताब आलमलाई सफाइ दिने उच्चको आदेशमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १९:२२

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई इट्टाभट्टामा हालेर पोलिएको भन्ने ठोस प्रमाण विपक्षीले पेस गर्न नसकेको भन्दै उच्च अदालत वीरगञ्ज इजलासले सफाइ दिएको छ ।

आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।

जिल्लाको उक्त फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको हो ।

आदेशसँगै उच्च अदालत वीरगञ्जबाट पत्र आइपुगेको र केहीबेरमै छाड्ने तयारी गरिएको कारागार स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

‘अदालतबाट पत्र आइपुगेको छ, केहीबेरमा छाड्नेगरी आवश्यक प्रक्रिया अघि बढाएका छौं,’ स्रोतले भन्यो ।

उनी ललितपुरस्थित नख्खु कारागारमा छन् ।

संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

यस्तो छ आलमलाई सफाइ दिएको उच्चको आदेश :

मिति ०६४/१२/२७ मा बम विस्फोटको घटना भएको भनिएकोमा सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको । सो विषयमा जाहेरी गरी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरू मृत्यु भएका भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति ०६५/३/३० मा यसै कसैउपर मुद्दा नचलाउने भनी निर्णय भएको देखियो । सम्मानीत सर्वोच्च अदालतबाट उक्त मिति ०६५ ३ ३० को उक्त निर्णय बदर गरी पुनः प्रमाणित देखि प्रचलित कानुन बमोजिम गर्न गराउन मिति ०६९/२/१६ मा परमादेश जारी भइ ०७६/१२/११ मा पुन अनुसन्धान भएको देखिन्छ ।

संकलित सबुत प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति ०६४/१२/२७ मा बम विस्फोट वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको । विष्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रकाश सिंह र ओसी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा हाली पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनसमेत मृतकहरूलाई इट्टाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरुले गरेको सजाय नमिलेको देखिँदा उल्टी भई सफाइ पाउनू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?