+
+
Shares

जब प्रहरीकै अगाडि नेविसंघले उपकुलपतिको कार्यालयमा तोडफोड गर्‍यो (भिडियोसहित)

सोही क्रममा काठमाडौंका विभिन्न क्याम्पसका स्ववियु अध्यक्षहरू उपकुलपति केसीलाई ध्यानकर्षण गराउन कीर्तिपुरस्थिति उपकुलपतिको कर्यालयमा पुगेका थिए । त्रिवि जानेमा अधिकांश नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्षहरू छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेवि संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड र तालाबन्दी गरेको हो।
  • नेविसंघका नेता कार्यकर्ताले स्नातक पहिलो वर्षको भर्ना खोल्न माग गर्दै तोडफोड गरेका थिए।
  • उपकुलपति खड्ग केसीले आफू अस्पतालमा रहेको र त्रिविले भर्ना रोकको निर्णय गरेको जानकारी दिए।

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड र रेक्टर कार्यालयमा तालाबन्दी गरेको छ । स्नातक पहिलो वर्षको भर्ना खुलाउनु पर्ने माग राखेर उपकुलपति केसीलाई ध्यानकर्षण गराउन पुगेका नेविसंघका नेता-कार्यकर्ताले तोडफोड र तालाबन्दी गरेका हुन् ।

गत ५ चैतमा स्ववियु चुनावको समयमा भर्नाको समय सकिएको भन्दै त्रिविले रोक लगाएको थियो । तर, स्ववियु चुनाव सकिएपछि निर्वाचित भएका स्ववियु सभापतिहरूले भर्ना खुलाउन माग गरिरहेका छन् ।

सोही क्रममा काठमाडौंका विभिन्न क्याम्पसका स्ववियु अध्यक्षहरू उपकुलपति केसीलाई ध्यानकर्षण गराउन कीर्तिपुरस्थिति उपकुलपतिको कर्यालयमा पुगेका थिए । त्रिवि जानेमा अधिकांश नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्षहरू छन् ।

 

‘१ बजे उपकुलपति सरलाई भेट्ने कार्यक्रम थियो । तर उहाँ आउनु भएको थिएन । त्यसपछि नेविसंघको एउटा समूहले तोडफोड गरेको हो । तोडफोडमा स्ववियु अध्यक्षहरूको सहभागित छैन,’ पद्यमकन्या क्याम्पसकी स्ववियु अध्यक्ष भुपेश्वरी ऐरले भनिन्, ‘स्नातक र स्नातकोत्तर पहिलो वर्षको भर्ना खुलाउन भीसी सरलाई भन्न गएका थियौं ।’

तोडफोड र नाराबाजी हुन थालेपछि आफूहरू त्यहाँबाट हिँडेको उनले बताइन् । ‘हामी तोडफोड गर्न गएका होइनौं । एउटा समूहले तोडफोड र नाराबाजी गर्न थालेपछि हामी हिँडेका हौं,’ उनले भनिन् ।

तोडफोड हुने समयमा उपकुलपतिको कार्यकक्ष अगाडि प्रहरी पनि थिए । तर, उपकुलपति कार्यालयका कर्मचारीले प्रहरी पनि मुखदर्शक बनेको गुनासो गरे । ‘प्रहरीले छेक्ने प्रयास गरेको हो तर, नेविसंघको भीडले कार्यालयको कुर्सी तोडफोड गरे,’ ती कर्मचारीले भने ।

उपकुलपति केसीले भने तोडफोड भएको समयमा आफू अस्पतालमा रहेको बताए । ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको लागि बिहानै गएको थिएँ,’ उपकुलपति केसीले भने ।

त्रिवि नेविसंघले भने तोडफोडमा विश्वविद्यालय समितिको संलग्नता नरहेको बताएको छ । ‘काठमाडौंको विभिन्न क्याम्पसबाट आएकाहरूले तोडफोड गरेको हो । त्रिवि नेविसंघको संलग्नता छैन,’ त्रिवि नेविसंघका अध्यक्ष विष्णु बडैलाले भने । त्रिवि अधिकारीका अनुसार विद्यार्थी भर्नाको समय सकिएको छ । ‘परीक्षाको तालिकासमेत आएको छ,’ ती अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?