
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सुमन पुरीको प्रशंसा गरेका छन् ।
- थापाले राष्ट्रिय युवा संघको महाधिवेशनलाई निर्वाचनसम्म लगेको भन्दै प्रशंसा गरेका हुन् ।
- पोखरामा सम्पन्न महाधिवेशनमा पुरी अध्यक्ष पदमा पराजित भएका थिए ।
१४ जेठ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले राष्ट्रिय युवा संघको महाधिवेशनलाई निर्वाचनसम्म लगेको भन्दै सुमन पुरीको प्रशंसा गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोलीमा चीन भ्रमणमा रहेका थापाले सुमन पुरीलाई धन्यवाद दिएका हुन् । ‘संगठनलाई आन्तरिक लोकतान्त्रिकरणको अभ्यासमा पुनःस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने शालिन साहस गरेकोमा प्यारो भाइ सुमन पुरीलाई धेरै धेरै धन्यवाद !’, थापाले फेसबुकमा स्टाटस लेखेका छन् ।
संस्थापनको धक्कु देखाएर अलोकतान्त्रिक अभ्यास गरिने प्रवृत्ति एमालेको आठौं महाधिवेशनबाटै बिराम लागिसकेको पनि उनले तर्क गरेका छन् । ‘पार्टी र जनवर्गीय संगठनमा संस्थापनको धाकधक्कु लगाएर स्वार्थको रोटी सेक्ने गलत र अलोकतान्त्रिक सोचलाई पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमै पुर्ण विराम लगाइसकेको हो’, उनले लेखेका छन् ।
स्थायी कमिटी सदस्य थापा पूर्वराष्ट्रपति भण्डारीलाई आगामी महाधिवेशनबाट एमाले अध्यक्ष बनाउनुपर्ने वकालत गर्दै आएका नेता हुन् । र अहिले पूर्वराष्ट्रपतिसँगै चीन भ्रमणमा छन् ।
भण्डारी नेतृत्वको टोली चीन भ्रमणमा हुँदा पोखरामा युवा संघको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट क्षितिज थेबे दोहोरिएर अध्यक्ष निर्वाचित भएका छन् । थेबेलाई सर्वसम्मत बनाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए ।
तर तत्कालीन महासचिव पुरीले अध्यक्ष पदमा दाबी छोडेनन् । मतदान हुँदा पुरी पराजित भएका छन् । स्थायी कमिटी सदस्य थापाले सुमन परी पराजित भएपनि एमालेमा टिके प्रणालीलाई पराजित गरिएको तर्क गरेका छन् ।
‘पार्टी बचाउनुपर्ने विशेष परिस्थितिको समयमा अबलम्बन गरिएको अभ्यासलाई टीका प्रणालीका रुपमा संस्थागत गर्न खोज्ने प्रवृत्तिलाई युवा संघको यस महाधिवेशनले पराजित गरेको छ,’ थापाले लेखेका छन् ।
प्रतिक्रिया 4