+
+
Shares

‘पोहोर भत्किएका संरचना नबन्दा झन् खतरा बढ्यो’

पोहोर साल बिग्रेकै संरचना र बिग्रेको ठाउँ बनाउन नसक्दा अलिकति मात्र पानी पर्‍यो भने डिजास्टर निम्त्याउने हो । त्यही भएर यसपटक थप क्षति हुने सम्भावना बढ्ता छ ।

कमलराम जोशी, महानिर्देशक, जल तथा मौसम विज्ञान विभाग कमलराम जोशी, महानिर्देशक, जल तथा मौसम विज्ञान विभाग
२०८२ जेठ १६ गते १९:०२

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने भनेर आकलन छ । देशभरि सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ भन्ने कुरा हामीले यसअघि नै भनिसकेका छौं । त्यसमा पनि विशेषतः कर्णाली प्रदेश र गण्डकी प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशको उत्तरी भूभागमा ५५ देखि ६५ प्रतिशत वर्षा हुन्छ भन्ने आकलन छ । तर हामीले ठ्याक्कै यो जिल्लाको यो ठाउँमा यति पानी पर्छ भन्न चाहिं अझै सक्दैनौं ।

जल तथा मौसम विज्ञान विभागले नियमित गर्ने भनेको मौसमको पूर्वानुमान हो । हामीले मौसम पूर्वानुमान तीन–तीन दिनको गर्छौं । प्रत्येक दिन बिहान र बेलुका त्यसलाई अपडेट गर्छौं ।

१० गते पूर्वानुमान गर्‍यो भने १०, ११ र १२ गतेको हुन्छ । १० गतेको मिल्छ, १२ गतेको नमिल्न पनि सक्छ । तर ११ गते हामीले पूर्वानुमान गर्दा १२ गतेको पूर्वानुमान मिल्छ ।

त्यसैले पहिलो हाम्रो तयारी भनेको मौसम पूर्वानुमान नियमित र सकभर विश्वसनीय गर्नु हो । त्यसका लागि हामीले कार्ययोजना नै बनाइसकेका छौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय र सहकार्यमा हाम्रो कार्ययोजना पनि तोकिएको छ । त्यसअनुसार हामीले मनसुन अवधिभर चौबीसै घण्टा बाढी पूर्वानुमान सेवा शुरू गर्छौं र प्रत्येक तीन–तीन दिनमा मौसम पूर्वानुमान दिन्छौं । ठूला खोलाहरूमा तीन दिनको बाढी पूर्वानुमान र साना खोलाहरूमा एक दिनको बाढी पूर्वानुमान गरिन्छ ।

विशेष परिस्थितिको पूर्वानुमान पाँच दिन अगाडि नै गर्छौं । विशेष परिस्थिति भनेको कस्तो हो भने २०७८ सालको मनसुन बाहिरिइसकेपछि वर्षा भए जस्तो । त्यो दशैंको बेला थियो । सबै चाडबाडको मूडमा थिए । हामीले पानी पर्दैछ है भन्दा कसैले विश्वास गरेनन् । काटिसकेर भित्र्याउन ठिक्क भएको धान खेतमै डुबेर नष्ट भयो ।

यस्तो खालको विशेष परिस्थिति देखिए हामीले पाँच दिन अगाडि पनि पूर्वानुमान गर्छौं र त्यो बाहेक पनि अति विषम नै हुने स्थिति देखियो भने तुरून्तै प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिन्छौं । यसैगरी मनसुन अवधिभर ११५५ नम्बरको टोल फ्री सेवा चौबीसै घण्टा खुल्ला रहन्छ । त्यहाँ फोन गरेर मौसम पूर्वानुमान र बाढी पूर्वानुमानको जानकारी लिन सकिन्छ ।

साथै यो सालदेखि मनसुन अवधिभर एक घण्टा ब्रिफिङको व्यवस्था गर्दैछौं । मनसुनबारे कसैलाई जानकारी चाहिए बिहान ११ देखि १२ बजेसम्म बबरमहलस्थित विभागमा आएर जानकारी लिन पाइन्छ ।

धनजनको क्षति न्यूनीकरण होस् भनेर हामीले अघिल्ला वर्षदेखि नै जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाउने गरेका छौं । तर मासमा एकैपटक एसएमएस पठाउँदा त्यसले प्रभावकारी काम गरेन । कतै बाढी आइसकेपछि एसएमएस जाने समस्या पनि देखियो । त्यसैले यसपालिदेखि हामीले एसएमएसको साथमा आईभीआर पनि शुरू गर्ने तयारी गरेका छौं ।

आईभीआर सेवा शुरू भएपछि जोखिम क्षेत्रका बासिन्दाको मोबाइलमा घण्टी बज्छ, मोबाइल फोन रिसिभ गर्नासाथ सुरक्षित हुन अनुरोध गरिएको सन्देश सुनिन्छ ।

एसएमएसमा राम्रो र नराम्रो दुवै पक्ष देखियो । म त्यसलाई अझ उदाहरण सहित बुझाउँछु । पोहोर साल कञ्चनपुरमा रेकर्ड ब्रेक पानी पर्‍यो । त्यसमा मानवीय क्षति शून्य भयो । किनभने कैलाली र कञ्चनपुर सधैं डुबान हुने ठाउँ पनि हुन् । त्यहाँ हाम्रो मौसम पूर्वानुमानलाई हेरेर चल्ने चलन छ । त्यहाँका मान्छेले मौसम पूर्वानुमानलाई विश्वास गरे, हामीले पठाएको सूचनालाई विश्वास गरे र एनडीआरआरएमए (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण)ले पनि तदारुकताका साथ सहकार्य गर्‍यो ।

तर काठमाडौंमा त्यसो भएन । किनभने काठमाडौंमा बस्ने कसैलाई पानी परेर त्यस्तो बाढी आउँछ भन्ने नै लागेन । उनीहरूले जिन्दगीमा त्यस्तो बाढी देखेकै थिएनन् । हाम्रो सूचनालाई पनि विश्वास गरेनन् ।

राज्यले पूर्वसूचनामा यत्रो लगानी गरेको छ । तुलनात्मक रूपमा शिक्षित मान्छेहरू नै बस्ने काठमाडौंमा नै पूर्व सूचनालाई विश्वास नगरेको भनेको त सचेतनाको कमी भयो नि !

त्यसैले हामी आईभीआरमा पनि जाने सोचमा पुगेका हौं । त्यसका केही प्राविधिक सीमितता र आर्थिक अप्ठ्याराहरू छन् । तर जनतालाई सचेत बनाउने र सुरक्षित राख्ने पहिलो दायित्व त राज्यको नै हो नि ! त्यसैले यसलाई हामीले अहिले पाइलट प्रोजेक्टको रूपमा अघि बढाउँछौं ।

शुरूमा आईभीआर विपद् व्यवस्थापन प्राधिकरण, ७७ जिल्लाका सिडिओ, ७५३ पालिकाका प्रमुख र सबै वडाका अध्यक्षहरूलाई पठाउँछौं । उहाँहरू मार्फत तल्लो तहका जनतामा सूचना प्रवाह हुन्छ भन्ने विश्वास छ ।

सर्वसाधारणले पनि दैनिक मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र सूचना हेर्नुपर्‍यो । आफूलाई सकेसम्म सुरक्षित राख्ने कोशिश गर्नुपर्‍यो ।

नेपालको सरदर वर्षा मनसुन सिजनमा १५ सय मिलिमिटर हो । पोहोर पनि हामीले सरदर भन्दा बढी वर्षा हुन्छ भनेका थियौं । पोहोर साल करिब–करिब १७ सय मिलिमिटर पानी पर्छ भनेर हामीले पहिले नै भनेका थियौं । पोहोर १६ सय ९१ मिलिमिटर पानी परेको थियो ।

यस वर्ष पनि हामीले सरदरभन्दा बढी वर्षा हुन्छ भनेका छौं । मान्छेको कन्सेप्ट चाहिं अब मनसुनभरि पानी परिरहन्छ भन्ने छ । तर त्यो हैन । मनसुन शुरू भएपछि दुई–तीन दिन पानी पर्न सक्छ । त्यसपछि फेरि सात–आठ दिन पानी नपर्न सक्छ । अनि फेरि चार–पाँच दिन पानी पर्न सक्छ । अथवा मनसुन अवधिभर केही दिन रोकिंदै पर्दै गरेर होस् अथवा केही दिन लगातार परेर होस् वर्षाको मात्रा सरदरभन्दा बढी हुन्छ भनेका हौं ।

जस्तो पोहोर सालको काठमाडौंमा असोज १०, ११ र १२ गतेको घटना सम्झिउँ । त्यतिबेला काठमाडौंमा पर्ने कुल सरदर पानीको १० प्रतिशत पानी त्यही दुई दिनमै परेर ठूलो क्षति भयो । मनसुनको १२०/१२५ दिनको अवधिमा लगातार पानी परेर पनि त्यो पूर्ति हुन सक्छ अथवा महिना दिनसम्म नपरेर चार–पाँच दिन मात्रै परेर पनि त्यो पूर्ति हुनसक्छ । पानी पर्ने यो तरिकालाई हामीले जलवायु परिवर्तनको असर पनि हो भनेका छौं ।

‘लो इन्टेन्सिटी, लङ ड्युरेसन’को पानी परोस् भन्ने हाम्रो चाहना हुन्छ । तर अहिले ‘हाई इन्टेन्सिटी, सर्ट ड्युरेसन’को पानी परिरहेको छ । अर्थात् थोरै–थोरै पानी केही दिनसम्म लगातार परिरहोस् भन्ने हुन्छ तर त्यसरी झमझम पानी नपरेर एक–दुई दिन ह्वात्तै परिदिन्छ । यसबाट विपत्का घटना धेरै हुन्छन् ।

त्यसैले विपद्का घटनाबाट जोगिन हामीले दुई किसिमका योजना बनाउनुपर्छ— एउटा दीर्घकालीन र अर्को अल्पकालीन ।

दीर्घकालीन योजनामा कहाँ–कहाँ पहिरो जान सक्छन्, कहाँ–कहाँ बाढी आउन सक्छ भन्ने आकलनका आधारमा पूर्वतयारी गरिन्छ । पहिरो जाने सम्भावित ठाउँमा डोजर तयारी अवस्थामा राख्ने, बाढी आउने सम्भावित ठाउँमा डुबान भयो भने डुङ्गाहरूको व्यवस्था गर्ने, उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, तिनीहरूलाई नाना, खाना र छानाको व्यवस्था गर्ने, स्वास्थ्यमा देखिने समस्या समाधानका लागि औषधि उपचार गर्ने योजना बनेका छन् ।

अल्पकालीन योजनामा तुरून्तै एक्सन लिनुपर्ने हुन्छ । पूर्व सूचना र पूर्वानुमान त हामी दिइहाल्छौं ।

हाम्रो पूर्वानुमान अनुसार यस वर्षको मनसुनमा करिब यो साढे चार लाख घरधुरी र २० लाख मानिस प्रभावित हुनसक्ने अनुमान छ । त्यसको व्यवस्थापनका लागि सरकारी निकाय बीच समन्वय र सहकार्य गर्नुपर्छ । तर ठ्याक्कै अगाडि बढेर कसले काम गर्ने भन्ने कुरा चाहिं अलिकति अप्ठ्यारो छ ।

 

पोहोर साल सरकारी निकायबीच समन्वय नहुँदा पनि जनधनको क्षति बढी भयो । अब त्यस्ता गल्ती दोहोरिन दिनुहुँदैन ।

जल तथा मौसम विज्ञानको काम भने जल तथा मौसमी सूचना र पूर्वानुमान दिने हो, हामी त्यसका लागि सम्पूर्ण तरिकाले तयारी अवस्थामा छौं ।

पोहोर समन्वय नहुँदा क्षति बढी भयो, अब गल्ती दोहोर्‍याउनुहुँदैन

बीपी राजमार्गमा पोहोर त्यति धेरै क्षति हुने गरी बाढी आयो । भत्किएको संरचना एक वर्षसम्म बन्नै सकेको छैन । त्यसको असर यसैपालि देखियो । १५ दिन अगाडि काभ्रेको पनौतीमा दुई घण्टामा परेको पानीले बाढी नै ल्यायो । पोहोरको बाढीले थुपारेको गेग्रान नहटाउँदा अहिले समस्या आएको हो ।

पोहोर साल बिग्रेकै संरचना र बिग्रेको ठाउँ बनाउन नसक्दा अलिकति मात्र पानी पर्‍यो भने डिजास्टर निम्त्याउने हो । त्यही भएर यसपटक थप क्षति हुने सम्भावना बढ्ता छ ।

त्यसैले अब सर्वसाधारणले पनि दैनिक मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र सूचना हेर्नुपर्‍यो । आफूलाई सकेसम्म सुरक्षित राख्ने कोशिश गर्नुपर्‍यो ।

तपाईंलाई जोखिमको सूचना आयो भने रेस्पोन्स गर्नुपर्‍यो । पोहोर सालको ललितपुरको नक्खुमा जस्तो सुतेर बस्न भएन । कैलाली, कञ्चनपुरमा गरेको जस्तो क्विक रेस्पोन्स गर्नुपर्‍यो । त्यसका लागि व्यक्ति आफैं सचेत हुनुपर्छ ।

अर्को कुरा यो साल प्रि–मनसुनमा बढ्ता पानी परेको छ । यसले हाम्रो अहिले माटो भिजेको छ । एकातिर बिग्रे भत्केका संरचना, अर्कोतिर माटोमा चिस्यान भइसकेको अवस्था । यो अवस्थामा गेग्रान बाढी बग्ने र भिजिसकेको जमिन कमजोर भएर पहिरो जाने सम्भावना हुन्छ ।

आकाशबाट परेको पानी जमिनले सोस्न नपाई सिधा खोलामा जान्छ अथवा जमिन भित्रै गयो भने पनि ग्राउन्ड वाटर टेबल भन्छ, त्यो माथि आएपछि फेरि खोलामै जान्छ । यसले पनि खोलानालाको सतह बढाएर डुबानको समस्या ल्याउँछ ।

हाम्रो भौतिक संरचना र अव्यवस्थित शहरीकरणले पनि डुबानको समस्या निम्त्याएको छ ।

काठमाडौंमा पोहोर साल असोज १०, ११ र १२ गते ४८ घण्टा पानी पर्दा त्यो हालत भयो । परिकल्पना गरौं, हप्ता दिनसम्म त्यस्तै पानी पर्‍यो भने के हुन्छ ? नपर्ला भन्न सकिन्न ।

त्यसैले मौसम सम्बन्धी सूचनामा अपडेट भएर चनाखो भइरहने र नागरिकको सुरक्षाका लागि सरकारले पनि अलिकति कडा कदम चाल्नै पर्छ । पोहोर साल सरकारी निकायबीच समन्वय नहुँदा पनि जनधनको क्षति बढी भयो । अब त्यस्ता गल्ती दोहोरिन दिनुहुँदैन । नागरिकको जनधनको सुरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्छ । यसमा कम्प्रोमाइज गर्नुहुँदैन ।

(महानिर्देशक जोशीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?