
News Summary
Generated by OK AI. Editorially reviewed.- न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको छ ।
- रौतहट बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई उनीहरुले सफाइ दिएका थिए ।
- उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने उजुरीमा माग छ ।
१६ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।
युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन् ।
उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ ।
यसअघि पीडित एवं साक्षीको संरक्षणका लागि जिल्ला अदालतले नै विशेष प्रकारको आदेश जारी गरेको थियो । जिल्ला अदालतले विभिन्न आधार देखाउँदै व्यक्तिहत्याको आरोपमा आलम लगायतलाई दोषी किटान गरेको थियो ।
तर जिल्ला अदालतले औंल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरुको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरु थारू र महर्जनमाथि छानबिन हुनुपर्ने माग भएको हो । उनले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।
न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भीर उल्लंघनको आरोपमा न्यायाधीशहरुमाथि छानबिन हुनसक्ने व्यवस्था छ । निवेदनमा कुनै उल्लेख नगरेपछि पौडेलले न्यायाधीशद्वयको कार्यक्षमतामा प्रश्न उठाई निवेदन दिएका हुन् ।
गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो । फैसलापछि न्यायाधीशद्वय थारू र महर्जनको कार्यसम्पादनमाथि प्रश्न उठिरहेको छ ।
प्रतिक्रिया 4