
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले अनेरास्ववियुको २४औं महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ।
- महासचिव शंकर पोखरेलले २५ जेठदेखि हुने महाधिवेशनमा उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिए।
- अनेरास्ववियुको महाधिवेशन २५ देखि २७ जेठसम्म काठमाडौंमा आयोजना हुनेछ।
१६ जेठ, काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुको आसन्न २४औं महाधिवशेनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ ।
महासचिव शंकर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही २५ जेठदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन् ।
मल्लले महासचिव पोखरेलको परिपत्र शुक्रबार प्राप्त भएकाले आसन्न महाधिवशेनबाट उमेर हद लागू गर्ने जानकारी दिए । एमालेको यही ११ जेठमा बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो ।
परिपत्रमा भनिएको छ, ‘३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।’
परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीमा लागू हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ ।
यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेरहद तोकेका थिए । एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेरहद तोकेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ । अनेरास्ववियुको महाधिवेशन २५ देखि २७ जेठसम्म काठमाडौंमा तोकिएको छ ।
प्रतिक्रिया 4