
१६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि सुन्नासाथ आफूले विरोध गरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर के भन्न खोजेको भन्दै प्रश्न गरे ।
वक्तव्य दिएकै भोलिपल्ट राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओली बहाना बनाएर नगएको कोइरालाको भनाइ छ ।
‘राष्ट्रिय मानव अधिकार आयोग जसलाई संवैधानिक अधिकार दिएको छ । उहाँहरूले पनि वक्तव्य जारी गरिकन प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भन्नुभयो । भोलिपल्ट १४ गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो,’ कोइरालाले भने, ‘उहाँले वार्षिकोत्सवमा बहाना बनाएर जानु भएन । प्रधानमन्त्रीज्यूलाई फुर्सद भएन भनियो । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौं ?’
उनले त्यस लगत्तै पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसेको र त्यहाँ यो विषय उठ्ला भन्ने लागेको भए पनि त्यस्तो नभएकोमा दुःख व्यक्त गरे ।
सरकारले गरेका गलत कामलाई गलत भन्न नसकेको कोइरालाको भनाइ थियो ।
‘मलाई त लागेको थियो, पदाधिकारीको बैठक यी विषयमा छलफल हुन्छ भनेको त मेरो विषयमा छलफल भएछ । हाँसो लाग्यो,’ कोइरालाले थप भने, ‘ठिकै छ सहनुपर्छ । राजनीतिमा सहशीलता हुनुपर्छ । हामी किन सरकारले गलत गरेका कामलाई गलत भन्न सकिरहेका छैनौँ ।’
फरक प्रसंगमा प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4