+
+
Shares

भारतीय लडाकु जेट पाकिस्तानले खसालेको दाबीमा भारतीय सेनाका जनरलले दिए जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते ८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनरल अनिल चौहानले भने, ‘मलाई लाग्छ जरुरी कुरा यो होइन कि जेट खसालिए, बरु किन खसालिए भन्ने हो।’।
  • उनले थपे, ‘हामीले आफ्ना रणनीतिक कमजोरीहरू पत्ता लगायौं, त्यसलाई सच्यायौं र दुई दिनपछि कार्यान्वयन गर्यौं।’।
  • पाकिस्तानले भारतका ६ लडाकु विमान खसालेको दाबीलाई उनले अस्वीकार गरे र मुख्य कुरा किन खसे र के गरियो भन्ने हो।।

१८ जेठ, काठमाडौं । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले गत मे महिनामा भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान पाकिस्तानले खसालिदिएको भन्ने प्रश्नको जवाफ दिएका छन् ।

शनिबार ब्लूमबर्ग टिभीले सिंगापुरमा सोधेको प्रश्नमा सीडीएस जनरल चौहानले भनेका छन्, ‘मलाई लाग्छ जरुरी कुरा यो होइन कि जेट खसालिए, बरु किन खसालिए भन्ने हो ।’

चौहानसँग गरिएको कुराकानीको एक मिनेट पाँच सेकेन्डको अंश ब्लूमबर्ग टिभीले सामाजिक सञ्जालमा पोस्ट गरेको छ ।

त्यसमा पाकिस्तानसँग चार दिनसम्म चलेको सैन्य संघर्षमा भारतको कुनै लडाकु विमान खसेको थियो कि थिएन ? भनेर सोधिएको छ । त्यसको जवाफमा जनरल चौहानले भनेका छन्, ‘यो जरुरी छैन कि जेट खसालियो, जरुरी कुरा त किन खसालियो भन्ने हो ।’

त्यसपछि पत्रकारले पुनः सोधिन्, ‘कम्तीमा एउटा जेट खसालिएको थियो, के यो सही हो ?’

चौहानले जवाफ दिए, ‘राम्रो कुरा त के हो भने हामीले आफ्ना रणनीतिक कमजोरीहरू पत्ता लगायौं, त्यसलाई सच्यायौं र दुई दिनपछि कार्यान्वयन गर्यौं । त्यसपछि हामीले सबै जेट उडायौं र लामो दूरीमा रहेका लक्ष्यहरूमा प्रहार गर्यौं ।’

पत्रकारले फेरि भनिन्, ‘पाकिस्तानले दाबी गरेको छ कि उसले भारतका ६ वटा लडाकु विमान खसाल्न सफल भयो, के त्यो सही हो ?’

यसको जवाफमा जनरल चौहानले भनेका छन्, ‘त्यो बिल्कुल गलत हो । तर, मैले भनें, त्यो बिल्कुलै महत्वपूर्ण होइन। महत्वपूर्ण कुरा त के हो भने जेट किन खसे र त्यसपछि हामीले के गर्यौं । त्यो कुरा हामीका लागि धेरै जरुरी छ ।’

कति वटा विमान खसे भन्नेबारे कुनै स्पष्ट जवाफ दिएनन् । भारतका ६ वटा विमान खसालेको पाकिस्तानको दाबीलाई भने उनले अस्वीकार गरे ।

पहलगाममा आतंकवादी आक्रमणपछि भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ अभियान अन्तर्गत ७ मेको दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय फाइटर जेट खसालेको जानकारी संसदलाई गराएका थिए । उनले भनेका थिए, ‘हामीले भारतको हमलाको जवाफमा ५ भारतीय लडाकु विमान खसाल्यौं । त्यसमा ३ वटा राफेल थिए ।’ पछि पाकिस्तानी अधिकारीहरुले भारतका ६ लडाकु विमान खसालेको दाबी गरेका थिए ।

भारतले फ्रान्सबाट प्राप्त विश्वकै अत्याधुनिक मानिने राफेल लडाकु विमान पाकिस्तानले खसालेको खबरले सनसनी मच्चिएको थियो ।

त्यतिबेला भारतीय सेनाका अधिकारीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि यसबारे प्रश्न सोधिएको थियो । सो प्रश्नमा एयर मार्शल एके भारतीले भनेका थिए, ‘हामी युद्धको अवस्थामा छौं र क्षति हुनु त्यसको एउटा हिस्सा हो ।’

अहिले सांग्रिला संवादमा भाग लिन सिंगापुरमा रहेका बेला सीडीएस अनिल चौहानलाई पनि ब्लूमबर्ग टेलिभिजनले सोही जिज्ञासा सहित कुराकानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?