
१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट काठमाडौंका तीन क्षेत्रबाहेक अन्यत्र प्रदर्शन गर्न नपाउनेगरी आदेश जारी गर्ने निर्णय भएकोप्रति आपत्ति जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार साँझ काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि बालकुमारी क्षेत्र, बल्खु क्षेत्र र सिफल चौरमा मात्रै प्रदर्शन गर्न आदेश जारी गरेको थियो ।
उक्त निर्णयप्रति आपत्ति जनाउँदै राप्रपाले तत्काल आदेश फिर्ता लिन आग्रह गरेको हो ।
‘हामी सरकारको यस कदमको घोर विरोध गर्दछौं र सरकारको उक्त आदेश तत्काल फिर्ता लिन आग्रह गर्दछौं । सरकारको यस निर्णय नेपाली जनालाई किमार्थ स्वीकार्य छैन,’ पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुई तिहाईको सरकारले इतिहासमा नै नयाँ कीर्तिमान राख्ने गरी काठमाडौं महानगर क्षेत्रलाई नै निषेधित क्षेत्र तोक्ने हास्यास्पद निर्णय गरेको राप्रपाको ठहर छ ।
‘सरकारको यस निर्णय घोर अलोकतान्त्रिक, सर्वसत्तावादी, गैर संवैधानिक र पराजित मानसिकताको उपज रहेको राप्रपाको ठहर छ । सरकारको यस निर्णयबाट शान्तिपूर्वक बिना हातहतियार भेला हुन पाउने, आफ्नो विचार राख्न पाउने र राजनैतिक दलले निर्वाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको गम्भीर उल्लंघन गरेको छ,’ राप्रपाको निर्णयमा भनिएको छ ।
प्रतिक्रिया 4