
२० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा गृहमन्त्री रमेश लेखकले संसदमा आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।
गृहमन्त्री लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।
सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त छलफल गरेका थिए ।
बैठकमा सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलका नेताहरू यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् ।
बैठकमा सहभागी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आफूमाथि उठेका विषयमा प्रष्ट पार्न गृहमन्त्रीले समय मागेकाले बोल्न दिनुपर्ने बताए । ‘पहिलो कुरा गृहमन्त्रीले संसदमा बोल्छु भनेर पटकपटक टाइम लिनु भएको छ । त्यो छेक्नु भनेको संसदीय अभ्यास विरुद्ध हो । त्यो कामको समर्थन होइन, त्यसमा हामी सशक्त विरोध हुन्छ,’ बर्तौलाले भने, ‘पहिलो कुरा गृहमन्त्रीले बोल्ने कुरा सुनिश्चितता गर्नुस् भनेपछि हामी छलफल गर्छौं भनेर उहाँहरु निस्किनु भएको छ ।’
प्रतिक्रिया 4