+
+
Shares

राजेश हमाल : महानायक कि युग नायक ?

शिव मुखिया शिव मुखिया
२०८२ जेठ २१ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेपिएका, पेलिएका, दबाइएका वर्गलाई जुरुक्कै उचाल्ने ज्वराभाटासहित उनी पर्दामा देखिए ।
  • जब–जब उनी देखिए, आम दर्शकले आफ्ना स्पन्दन बढेको महसुस गरे । शरीरका तन्तुहरु जागृत भएको अनुभूत गरे ।
  • अन्ततः बेजोड ताली र सिठ्ठीले आफ्ना प्रिय नायकलाई स्वागत गरे ।

तीन दशकअघि ।

मुखिया प्रथाको ह्याङओभर बाँकी थियो । समाजको बहीखातामा थिचोमिचो, हेलाहोचोको जोडघटाउ चलिरहन्थ्यो । हेपिनेहरू हेपिरहन्थे, पेलिनेहरू पेलिरहन्थे । बोल्न नसक्ने र लड्न नसक्नेहरू समाजका पिँधमा बसेर ‘ज्यू..हजुर’ भनिरहन्थे ।

खेतला, गोठाला, ज्यालादारी, मजदुरमाथि साहुको बेहिसाब हैकम चल्थ्यो ।

ठिक त्यसैबेला हो । हलक्क बढेका जोसिला युवा मुटु नै हल्लाउने गह्रौँ आवाजमा यसो भन्दै देखापरे, ‘हे..मान्छे हुँ मान्छे… । तर तँ जस्तो असुरका लागि शंकर ।’

बाघझैँ बलवान्, चितुवाझैँ तीब्र, सिंहझैँ धीर । आड–भरोसा र आस्थाको पहाडजस्तै । इमान र श्रमको प्रतिमूर्तिजस्तै । प्रेम र करुणाको गंगाजस्तै । साँच्चैको नायकजस्तै । समाजले खोजिरहने सद्गुणी पात्र जस्तै । एउटा गहकिलो नाम प्रकट भयो, राजेश हमाल ।

उनी झुपडीमा बस्थे । दौरा–कछाड लगाउँथे । भारी बोक्थे, हलो जोत्थे । साधरण जीवन बाँच्थे । असाधारण कर्म गर्थे । असाह्य, कमजोर र दीनदुःखीलाई आड दिन्थे । अत्याचारी, शोषक र सामन्तीको सातो खान्थे । कहिल्यै नहार्ने, कहिल्यै नझुक्ने । एउटा अमर नामको उदय भयो, राजेश हमाल ।

एंग्री योङ म्यान

‘एंग्री योङ म्यान’ अर्थात राजेश हमाल । सन् १९५० को दशकमा बेलायतका विद्रोही लेखकहरूलाई जनाउने यो शब्दावली सलिम–जावेदले बलिउडमा अमिताभ बच्चनका लागि प्रयोगमा ल्याए । अन्याय र अत्याचारविरुद्ध लड्ने जुझारु चरित्र निर्माण गर्दै सलिम–जावेदले जसरी अमिताभ बच्चनलाई ‘एंग्री योङ म्यान’ बनाए, उसैगरी हाम्रा फिल्ममेकर्सले राजेश हमाललाई ।

हेपिएका, पेलिएका, दबाइएका वर्गलाई जुरुक्कै उचाल्ने ज्वराभाटासहित उनी पर्दामा देखिए । जब–जब उनी देखिए, आम दर्शकले आफ्ना स्पन्दन बढेको महसुस गरे । शरीरका तन्तुहरू जागृत भएको अनुभूत गरे । अन्ततः बेजोड ताली र सिठ्ठीले आफ्ना प्रिय नायकलाई स्वागत गरे ।

यसरी नेपाली सिनेमामा संभ्रान्त घरानाका छोरो एक मामुली मान्छे बनेर अवतरण गरे ।

उनी मामुली पक्कै थिए तर निरीह थिएनन् । कमजोर थिएनन् । अभावमा पनि आगो ओकल्ने र पीडामा पनि परकम्पन पैदा गर्ने अद्भूत शक्ति उनीसँग थियो । त्यसैले त वास्तविक दुनियाँबाट हेपिएकाहरूले उनलाई आफ्नो प्रतिनिधि ठाने र आफूभित्र दबिएका कुराहरू विस्फोटक बनेर निस्किएको अनुभूत गरे ।

स्टारडम

जसरी परिवारभित्रै विद्रोह गरेर राजेश हमाल नेपाली रजतपटमा हिरो बन्न आइपुगे, सिनेमामा पनि त्यही विद्रोही छवी स्थापित भइदियो । कहिले एकल महिलामाथि हुने ‘पारम्पारिक’ अत्याचारको पर्खाल भत्काउँदै त कहिले ज्यालादारीमाथि हुने श्रम शोषणको साङ्लो तोड्दै उनले धमाका मच्याइरहे । सुगठित शरीर, अग्लो कद र गह्रौं आवाजले उनलाई सधैँ साथ दिइरह्यो । नतिजा, लभर ब्वाइ भन्दा पनि उनलाई एंग्री योङ म्यानकै रुपमा बढी रुचाइयो । कतिसम्म रुचाइयो भने, सिनेमामा राजेश हमाललाई एक झलक भएपनि देखाउनैपर्ने भयो ।

त्यसैले सिनेमाको पोस्टरमा ‘राजेश हमालको टाउको बिक्न’ थाल्यो ।

यही बिन्दुमा आइपुगेपछि हो, नेपाली सिनेमाले स्टारडमको स्वाद चाखेको । एउटा नाम नै काफी थियो, सिनेमा चल्नलाई । एउटा अनुहार नै काफी थियो, हलसम्म दर्शक तान्नलाई । ‘राजेश हमालको फिल्म’ भनेपछि टिकटको लस्कर बढ्थ्यो र सिनेमाघरको माहोल फेरिन्थ्यो । कसैले सही भनेछन्, ‘राजेश हमाल जहाँ उभिन्छ, त्यहाँ मेला लाग्छ ।’

राजेश हमाल फगत नायक मात्र थिएनन् । नेपाली सिनेमाको गौरवपूर्ण प्रतिनिधि थिए । त्यसैले उनी जहाँ-जहाँ पुगे, नेपाली सिनेमाको कम्पन छाडेर आए।

उनको प्रभाव कतिसम्म रह्यो भने, सिनेमा नै नदेखेका हिजोको पुस्ता र सिनेमा नै नहेर्ने आजको पुस्तालाई ‘नेपाली हिरो को हो ?’ भनी सोध्यो भने रेडिमेड जवाफ दिन्छन्, ‘राजेश हमाल ।’

रसरंगको दुनियाँबाट बाह्र हात टाढा रहेका वामपन्थी नेता मोहनबिक्रम सिंहलाई हामीले एकपटक सोधेका थियौं, ‘कुनै नेपाली हिरो चिन्नुहुन्छ ?’ उनले आफ्नो भाँसिएको स्वरमा यसरी जवाफ दिएका थिए, ‘त्यो हमाल कि के भन्ने छ नि …।’

६ दशक लामो इतिहासमा नेपाली सिनेमाले उनको जस्तो स्टारडम कसैले पाएन ।

युग

आजभन्दा ठ्याक्कै ३४ वर्षअघि ।

सिनेमाको पर्दामा एउटा नामको यसरी उद्‍घाटन हुन्छ, ‘नयाँ प्रस्तुति–राजेश ।’ ओपनिङ क्रेडिटमा अभिनेत्री कृष्टि (मैनाली)को पछिल्तिर देखापर्ने त्यही नामले अन्ततः आफ्नो बेग्लै विरासत निर्माण गर्छ ।

चलचित्र हो, युगदेखि युगसम्म । यही चलचित्रले राजेश हमालको आकर्षक व्यक्तित्व दर्शकमाझ पेश गर्छ र अपार माया बटुल्छ । त्यसपछि सुरु हुन्छ ‘राजेश हमाल युग ।’

एक वर्षमै दर्जन हाराहारी सिनेमा पाउनु, दैनिक १६ देखि १८ घण्टा काममा खटिनु । नेपाली सिनेमाकै एक रोचक परिघटना हुनपुग्छ । एक सन्दर्भमा राजेश हमालले भनेका छन्, ‘मैले करियर सुरु गर्दा दोस्रो चलचित्र कहाँबाट आउँछ, कसले बनाउँछ भन्ने चिन्ताका साथ करियर सुरु गरेको थिएँ । मेरो पहिलो चलचित्र सफल भयो भने सफल कलाकारको अगाडिको बाटो के हुन्छ, कति लामो हुन्छ, यो क्षेत्रलाई व्यवसायिक हिसाबले लान सकिन्छ कि सकिदैन ? भन्ने प्रश्नचिह्नबाट सुरु गरेको थिएँ । जब कि दोस्रो चलचित्रसम्म आइपुग्दा १८ घण्टासम्म काम गर्ने भइसकेको थिएँ । दोस्रो वर्षमा मैले जुन रफ्तारमा काम गर्न थालें, त्यो रफ्तार थेग्न सक्ने जनशक्ति नै तयार भइसकेको थिएन ।’

उही तीब्रता र उही लयमा उनले अविछिन्न २२ वर्ष बिताए, नेपाली सिनेमामा ।

उनी थप्छन्, ‘एकसाथ तीन, चार वटा चलचित्रमा काम गर्थें । मलाई चलचित्र क्षेत्रको विस्तार गर्नुथियो ।’ अधिकार, भाउजू, देउता, देउकी, चट्याङ, कसम, अपराध, चाहना, सडक, परिभाषा हुँदै पृथ्वीसम्म आइपुग्दा राजेश हमाल ‘एंग्री योङ म्यान’को रुपमा स्थापित हुन्छन्। चलचित्र ‘पृथ्वी’मा उनी गुण्डाको मुकामभित्र प्रवेश गर्दै यसरी धावा बोल्छन्, ‘साथीका लागि यो हात सलाम हो, दुश्मनको लागि फलाम हो ।’ प्रकाश सायमी निर्देशित फिल्मको यही संवाद उनको करियर–सार बन्छ ।

अनुहारको रौद्र भाव र आवाजको घनत्वले उनलाई अरु भयानक बनाउँछ । यस्तो भयानक, जो सधैँ खलनायकमाथि जाइलाग्छन् । आडम्बरको पर्दा च्यातिदिन्छन् । सत्य, निष्ठा, इमानको कित्तामा उभिएर अपराधीको छाती फुटाइदिन्छन् ।

यसरी उनले निम्न तप्काबाट जुझारु र विद्रोही युवाको ‘आइकोनिक’ व्यक्तित्व निर्माण गर्छन् ।

नायक

समाजले अक्सर नायकको खोजी गर्छ । त्यस्तो नायक, जसलाई आफ्नो मार्गदर्शन बनाउन सकियोस् । समाजको यही सदीक्षालाई एक हदसम्म सम्बोधन गरे, राजेश हमालले ।

उनको सिनेमा हेर्दै हुर्केका पुस्ताले सधैँ आफूलाई ‘राजेश हमाल’को रुपमा चित्रण गर्न चाहे र त्यस्तै जुझारु युवामा रुपान्तरण हुन खोजे । यस्तो युवा, जो असाय भएर पनि स्वभिमानी छन् । आफ्नो पसिना र पाखुरीमा विश्वास गर्छन् । इमानको मानो खान्छन् । अन्याय गर्दैनन्, अन्याय सहँदैनन् । समाजको बिकार र विकृतिसँग लडिरहन्छन् । र, आफूलाई एक सामाजिक योद्धाको रुपमा जीवित राखिरहन्छन् ।

महानायक

कहिलेकहीँ मान्छेको नाम मात्रले पुग्दैन । उनको उचाई नाप्न उपमाको फुर्को चाहिन्छ । जसरी राजेश हमालको अघिल्तिर ‘महानायक’ जोडिएको छ ।

महानायक यस्तो आलङ्कारिक उपमा हो, जो यर्थाथ भन्दा बढी चमत्कृत लाग्छ । तिलस्मी लाग्छ ।

त्यसैले त मान्छेहरू जहिले पनि नायक बन्न खोज्छन्, महानायक होइन । चाहे बाढीमा बग्दै गरेको मान्छेलाई बचाएर होस् वा हिमालको टाकुरामा पुगेर । चाहे भाग्दै गरेको चोरलाई पक्रेर होस् वा बलात्कृत युवतीका खातिर न्याय माग्दै सडकमा उभिएर । चाहे सुकिलोमुकिलो पहिरनमा ठाँटिएर होस् वा तीब्र गतिको बाइकमा बत्तिएर । मान्छेभित्र कहीँ न कहीँ नायक बन्ने दौड चलिरहन्छ।

यो युगले चाहन्छ, राजेश हमाल पनि नायकको रुपमा बाँचिरहोस् । महानायक होइन ।

सत्तामाथि प्रश्न गरिदियोस्, न्यायका लागि पैरवी गरिदियोस् । राज्यको बेथितीमाथि खबरदारी गरिदियोस्, सत्यका लागि आवाज उठाइदियोस् । सर्वसाधरणको मनोभावनालाई सम्बोधन गरिदियोस् । उनी त्यस्तै भइदियोस्, जस्तो सिनेमाभित्र भइदिन्थे ।

सिनेमा भित्रका राजेश हमाल जस्तै भइदियोस् वास्तविक राजेश हमाल पनि ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?