
News Summary
Generated by OK AI. Editorially reviewed.- चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा कम्तीमा दसजनाको मृत्यु भएको छ।
- कर्नाटक प्रदेश सरकारका उपमुख्यमन्त्री डीके शिवकुमारले घटनाले मर्माहत बनाएको बताए।
- आरसीबीको आईपीएल जितको खुसीयाली मनाउने क्रममा दुर्घटना भएको र प्रहरीले बल प्रयोग गरेको रिपोर्ट छ।
२१ जेठ, काठमाडौं । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल विजेता बनेको थियो । सोही जितको खुसीयाली मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका बेला भागदौड मच्चिएको बताइएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेका तस्वीर सार्वजनिक भएका छन् । कर्नाटक प्रदेश सरकारका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जालमार्फत घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् ।
‘आरसीबीको जितमा खुसीयाली साट्न तथा साक्षी बन्न समर्थकहरू जम्मा भएका थिए । तर, अत्यन्त दुःखद र त्रासदीपूर्ण घटना हुन पुग्यो,’ उनले लेखेका छन्, ‘आरसीबीको जितप्रति गर्व छ । तर, कुनै पनि जित कसैको जिन्दगीभन्दा ठूलो हुन सक्दैन । म अपिल गर्न चाहन्छु कि सुरक्षामा विशेष ध्यान दिइयोस् ।’
उनले अस्पतालमा रहेका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका छन् ।
प्रतिक्रिया 4