+
आईपीएल २०२५ :

चौथो फाइनलमा अन्तत: भाग्यमानी बनेको बेंगलुरु

२०८२ जेठ  २१ गते १२:३३ २०८२ जेठ २१ गते १२:३३

आरसीबीका समर्थकहरूले वर्षौंदेखि जप्दै आएको नारा ‘ई साल कप नामदे’ ले अन्तत: सार्थकता पाएको छ ।

चौथो फाइनलमा अन्तत: भाग्यमानी बनेको बेंगलुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आरसीबीले आईपीएल २०२५ को फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गरी पहिलो पटक उपाधि जित्यो।
  • विराट कोहलीले १८ वर्षको प्रतीक्षा पछि आफ्नो करियरको पहिलो आईपीएल उपाधि प्राप्त गरे।
  • उपाधि जितपछि कोहली र कप्तान रजत पाटिदारले टिम र समर्थकको मेहनत र धैर्यताको प्रशंसा गरे।

२१ जेठ, काठमाडौं । १८ वर्षको लामो यात्रा, तीन पटकको फाइनल निराशा अनि एक अविस्मरणीय रात; अन्ततः रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले आफ्नो पहिलो इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि मंगलबार जित्यो ।

आईपीएल २०२५ को फाइनलमा आरसीबीले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो। यस क्रममा बेंगलुरुले तीनपटकको ‘फाइनल कर्स’ अन्तत: तोड्दै नयाँ च्याम्पियनको रूपमा स्थापित भयो ।

पहिलो उपाधिको खोजीमा रहेको पञ्जाब पनि नयाँ च्याम्पियन बन्न सक्थ्यो जसले बेंगलुरु समर्थकको दिल फेरि एकपटक तोड्ने थियो तर बेंगलुरुको शानदार बलिङसामु पञ्जाब चुक्यो, जसका कारण दोस्रोपटक उपविजेतामै सीमित भयो ।

‘ई साल कप नामदे’ अन्ततः पूरा

‘ई साल कप नामदे’  अर्थात् ‘यो वर्ष उपाधि हाम्रो हुनेछ’ यो नारा आरसीबीका समर्थकहरूले वर्षौंदेखि जप्दै आएका थिए। तर सन् २००९, २०११ र २०१६ का फाइनलमा हारपछि यो नारा मजाकको विषय बनेको थियो।

विराट कोहली, जसले आफ्नो सम्पूर्ण आईपीएल करियर एउटै फ्रेन्चाइज आरसीबीका लागि समर्पित गरे, १८ वर्षपछि अन्तत: यो सपना पूरा गर्न सफल भए।

फाइनल खेलमा विराट कोहलीले ३५ बलमा ४३ रन बनाए जुन् टोलीकै सर्वाधिक व्यक्तिगत स्कोर थियो । फिल साल्टसँग राम्रो ओपनिङ र अन्यसँग पनि राम्रो साझेदारी बनाएपछि आरसीबी १९०–९ को योगफलसम्म पुगेको थियो ।

आरसीबीका लागि मध्यक्रमका खेलाडीहरूले पनि योगदान दिए, तर अन्तिम ओभरमा अर्शदीप सिंहले तीन विकेट लिँदै आरसीबीलाई २०० पार गर्नबाट रोकिदिएका थिए ।

उक्त लक्ष्य पूरा गर्न सकिने ब्याटिङ कन्डिशनका बीच बेंगलुरुका बलरले शानदार प्रदर्शन गर्दै पञ्जाबलाई लक्ष्य भेट्टाउन दिएनन् ।

उपाधि जितेपछि अन्तिम लाइन कप्तान रजत पाटिदारले यसरी भने- ‘ई साल कप नामदु’ अर्थात् यो वर्ष उपाधि हाम्रो भयो, र अन्तत: वर्षौंदेखिको उक्त नाराले सार्थकता पायो ।

बेंगलुरुका लागि यस सिजन सबै खेलाडीहरूको उत्कृष्ट प्रदर्शन रह्यो । ब्याटिङमा फिल साल्ट र विराट कोहली तथा बलिङमा जोश हेजलवूडको शानदार प्रदर्शनले बेंगलुरुको उपाधि यात्रामा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्यो । त्यसमा अन्य खेलाडीहरूले पनि आवश्यकता अनुसार भरपुर साथ दिएर उपाधि दिलाउन मद्दत गरे ।

चौथोपटकको फाइनलमा भाग्यमानी

यसअघि तीनपटक फाइनल खेलेको भएपनि बेंगलुरुले उपाधि जित्न सकेको थिएन । सन् २००९ मा डेक्कन चार्जर्सविरुद्धको फाइनलमा बेंगलुरु ६ रनले पराजित भएको थियो ।

त्यस्तै सन् २०११ मा पनि फाइनल पुगेको बेंगलुरुले फाइनलमा चेन्नई सुपर किङ्ससँग ५८ रनको फराकिलो हार बेहोर्दा फेरि पनि उपाधिबाट वञ्चित भयो ।

त्यसको ५ वर्षपछि बेंगलुरु र कोहलीका लागि सबैभन्दा उत्कृष्ट सिजन रहँदा फाइनलमा उपाधि दाबदारका रूपमा हेरिएको बेंगलुरु सनराइजर्स हैदराबादसँग पराजित भएर फेरि पनि उपाधिबाट टाढा नै रह्यो ।

उक्त फाइनलमा २०९ रनको लक्ष्य पछ्याउँदा १४०-१ को बलियो अवस्थामा भएपनि बेंगलुरु अन्तिममा गएर ८ रनले पराजित भएको थियो । विराट कोहली त्यस सिजन टप फर्ममा रहेर ९०० भन्दा धेरै रन बनाएका थिए जुन् एकै सिजनमा कुनैपनि ब्याटरले बनाएको हालसम्मकै धेरै रन हो ।

तर मंगलबारको फाइनलमा भने बेंगलुरु धैर्यतापूर्वक खेलिरहेको थियो । एक समय पञ्जाब बलियो अवस्थामा देखिएपनि बेंगलुरुले बलिङमार्फत पुनरागमन गर्दै पञ्जाबलाई जितबाट निरन्तर दूरीमा राख्दै अन्त्यमा ६ रनको जित निकाल्यो ।

बेंगलुरुको उपाधि जित मनाउन पूर्वखेलाडीहरू एबी डिभिलियर्स र क्रिस गेल पनि आएका थिए जसले जर्सी लगाएर उपाधि जितेको क्षण सेलेब्रेट गरेका थिए । कोहलीले आफु जति डिजर्भ गर्छु उनीहरूले पनि यो उपाधि त्यति नै डिजर्भ गर्ने उल्लेख गरे ।

जर्सी नं १८ को लक्की १८औं सिजन

खेल सकिने बेला बेंगलुरुको जित निश्चित भएपछि कोहली भावुक मुद्रामा देखिइसकेका थिए । अन्तिम बलपछि उनी घुँडा टेकेर मैदानमै टाउको झुकाएर रुँदै गरेको दृश्य सम्पूर्ण क्रिकेटप्रेमीका लागि भावुक बन्यो।

जर्सी नं १८ लगाएर खेल्ने गरेका उनका लागि यो १८औं सिजनको आईपीएल लक्की छ भनेर थुप्रै समर्थकहरू भनिरहेका थिए । साथै फाइनल खेलको मितिमा भएको अंक जोड्दा आउने योगफल पनि १८ नै भएको कुराले समर्थकहरू यसपटक सबै ताराहरू एकैसाथ रहेको भनिरहेका थिए ।

हुन पनि १८औं सिजन विराटका लागि साँच्चै नै लक्की रह्यो । विशेषगरी उनले टिमलाई दिएको १८ वर्षको मेहेनतले उनले यो कुरा डिजर्भ नै गर्छन् ।

कोहलीले खेलपछि भनेका थिए, ‘यो उपाधि टिमका लागि जति महत्त्वपूर्ण छ, त्यति नै हाम्रो समर्थकका लागि पनि हो। मैले यो टिमलाई मेरो युवावस्था, उत्कर्ष र अनुभव दिएको छु।’

‘१८ वर्ष लामो प्रतिक्षापछि यो क्षण प्राप्त गर्नु असाधारण अनुभूति हो। मैले प्रत्येक सिजनमा १०० प्रतिशत दिएको छु। मलाई कहिल्यै लागेन यो दिन आउँछ। अन्तिम बलपछि म भावना थाम्न सकिनँ’ उनले थपे, ‘म सधैँ ठूला उपाधि जित्ने सपना देख्थेँ। यो उपाधि मेरो करियरकै सबैभन्दा विशेष हो, किनभने मैले मेरो आत्मा बेङ्गलुरुलाई दिएको छु। यो टिम मेरो अन्तिम आईपीएल खेलसम्म मेरो साथमा रहनेछ।’

बेंगलुरुका कप्तान रजत पाटिदारले पनि यो उपाधि विराटले भन्दा बढी अरु कसैले पनि डिजर्भ नगर्ने बताए । ‘कोहली भएको टिमलाई कप्तानी गर्नु मेरो लागि ठूलो अवसर थियो र यो मेरो लागि एक उत्कृष्ट सिकाइ पनि भयो। मलाई लाग्छ यो उपाधि उहाँभन्दा बढी कसैले पनि डिजर्भ गर्दैन’ पाटिदारले फाइनलको पोस्ट म्याच प्रेजेन्टेसनमा भने ।

क्रुणालको म्याच विनिङ स्पेल

पञ्जाब किङ्सले १९१ रनको लक्ष्य पछ्याउँदै गर्दा ४३-० को अवस्थामा भएपनि त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । विशेषगरी कप्तान श्रेयस अय्यर फाइनलमा १ रन मात्र बनाएर आउट भए।

कप्तान सस्तैमा आउट भएपछि अर्का सेट ब्याटर जोश इङ्लिस ३९ रनमा आउट भए । यी दुवै ब्याटर गलत समयमा आउट भएका थिए जब मिडल ओभरहरूमा पञ्जाबलाई एउटा सोलिड साझेदारीको खाँचो थियो ।

यसबीचमा क्रुणाल पान्ड्याले शानदार बलिङ स्पेल गरेर पञ्जाबलाई जितबाट टाढा राखे । उनले ओपनर प्रभसिमरनलाई लोभ्याएको बलमा क्यचआउट गराए भने सेट ब्याटर इङ्लिसको विकेट पनि उनकै नाममा थियो ।

त्यसपछि बीचका ओभरमा पञ्जाबले स्लो खेल्दा रनरेट उकालो लाग्दै गयो जसले अन्त्यमा ६ रनको हार थमायो ।  शशांक सिंहले ३० बलमा ६१ रनको अविजित पारी खेलेपनि त्यो हारको अन्तर घटाउन मात्र पर्याप्त भयो ।

उनले अन्तिम ओभरमा २९ रन चाहिँदा सुरुको २ बल डट खेल्ने बित्तिकै जोश हेजलवुडलाई लगातार ६, ४, ६, ६ प्रहार गर्दै लक्ष्य नजिक पुर्‍याए पनि ६ रन कम नै रह्‍यो। जसका कारण पञ्जाबका लागि  आईपीएल उपाधि जित्ने सपना यो वर्ष अधुरो रह्यो।

***

यस सिजन आरसीबीलाई जिम्बाबेका पूर्वखेलाडी तथा प्रशिक्षक एन्डी फ्लावरले नेतृत्व गरेका थिए, जसले खेलाडीहरूको सामूहिक प्रयास, अनुभव र रणनीतिक समन्वयमार्फत टोलीलाई सफल बनाए ।

यसअघि मुम्बईबाट २ आईपीएल जितिसकेका क्रुनाल पाण्ड्या, गुजरातबाट आईपीएल जितेका यश दयाल, हैदराबादबाट आईपीएल जितेका भुवनेश्वर कुमार, चेन्नईबाट आईपीएल जितेका जोश हेजलवूडजस्ता अनुभवी बलरहरूको संयोजनले फाइनलमा टोलीलाई जीत दिलाउन महत्त्वपूर्ण भूमिका खेले।

मंगलबारको जितपछि अब आरसीबी समर्थकका लागि ‘ई साल कप नामदे’ केवल नारा होइन, एक यथार्थ बनिसकेको छ। विराट कोहलीले लामो समयदेखि पर्खिएको उपाधि पनि अन्तत: चुमे जसले उनको टी२० करियरलाई थप पूर्णता दिएको छ ।

यो जित आरसीबीको इतिहासमा मात्र होइन, सम्पूर्ण आईपीएलको इतिहासमा एक प्रतीकात्मक मोडको रूपमा रहनेछ, जहाँ एक दशकभन्दा लामो समर्पणले अन्ततः सफलता पायो।

रोयल च्यालेन्जर्स बेंगलुरु
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय