 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश सांसद कलबहादुर हमालले आफ्नो हाँसोलाई संघर्षको प्रतीक भन्दै यसको महत्त्व व्याख्या गरे।
- उनले हाम्रा दु:खमा पनि हाँस्न सक्ने साहस र समाजमा सकारात्मकता ल्याउने प्रयासलाई प्राथमिकता दिए।
- आफ्नो पीडा र संघर्षलाई हाँसो र सत्यता मार्फत व्यक्त गर्न चाहन्छले बताए।
२१ जेठ, सुर्खेत। ‘माननीय सभामुखज्यू, माननीय सदस्यज्यूहरू, सम्पूर्ण कर्णालीवासी जनता; म यहाँ कुनै गुनासो गर्न आएको छैन, बरु हाँस्न आएको छु, ठीक त्यही हाँसो, जसलाई केहीले आलोचनाको रूपमा लिएका छन्। संसद्मा मेरो हाँसो गुञ्जियो, र आज म फेरि भन्न चाहन्छु- त्यो हाँसो कुनै उपहास थिएन, त्यो त हुम्ला र कर्णालीको कठोर वास्तविकता भोगेका नागरिकको आँसु र संघर्षको आवाज थियो’, कर्णाली प्रदेश सांसद कलबहादुर हमालले सभामा व्यक्त गर्न नपाएको सम्बोधनको अंश हो यो।
४० सदस्यीय कर्णाली सभामा १६ समानुपातिक सांसदमध्ये एक मात्र पुरुष सदस्य हमाल हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्छन्। उनलाई एमालेले खस आर्य कोटामा प्रदेश सभामा पठाएको हो।
पार्टी राजनीतिमा लामो समय गुजारे पनि प्रदेश सभा सदस्यका रूपमा उनको यो नै पहिलो यात्रा हो। प्रदेश सभामा हुम्लाकै ठेट लवज र शैलीमा प्रस्तुत हुनु हमालको विशेषता हो। उनको यो शैलीलाई प्रदेश सांसदहरूले रूचाइरहेका पनि छन्।
गत चैत ११ गते भने यही शैली नै हमाललाई भारी पर्यो। त्यस दिन शून्य समयमा उनी मुख्य तीन विषय उठाउन चाहन्थे— हुम्लाको ग्रामीण विकासका लागि बजेट सुनिश्चित, ठेक्का लिने तर काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्दै विकासका कामलाई प्रभावकारी बनाउनुपर्ने र आईएनजीओ तथा एनजीओहरू सुर्खेतमा मात्र सीमित नभई दुर्गम जिल्लाहरूमा जान प्रेरित गर्नुपर्ने।
तर जसै उनको बोल्ने पालो आयो र उठे, बसिरहेका सांसदहरू गलल्ल हाँस्न थाले। अरू सांसदहरू हाँस्न थालेपछि हमालले पनि हाँसो रोक्न सकेनन्, हाँसोमा हाँसो मिसाए। उनी केवल १५ सेकेण्ड हाँसेका थिए। तर सामाजिक सञ्जालमा ट्रोल गर्नेहरूले अनेक खालका भिडियो बनाएर सेयर गरे। सामाजिक सञ्जालमा राम्रा भन्दा नराम्रा प्रतिक्रियाहरूको बाढी लाग्यो।
भिडियो काट्नेहरूले न कलबहादुर भन्दा अगाडि अरू हाँसेको देखाए न उनले उठाएका गम्भीर विषयमा चिन्तन गरे। यसले हमाललाई भने पर्नु पीर पर्यो। उनी कतै म हाँसेर गल्ती त गरिनँ भन्नेमा पुगे। आफू हाँसेकोमा आउन सक्ने सम्भावित परिणाम बारे चिन्तित भए।
‘शून्य समयमा आफ्ना कुरा भन्न थालेको थिएँ। मैले कुरा शुरू गर्दा अरू हाँस्न थालेका थिए। तल अरू हाँसेको केही देखाइदिएनन्। तल हाँसेपछि म पनि हाँसो थाम्न नसकेर हाँसेको मात्रै हो’ उनले अनलाइनखबरसँग भने, ‘हाँसो रोकेर मैले मेजर विषय राखें। त्यो पनि देखाइदिएनन्।’
अनि १५ सेकेण्डको हाँसोको परिणाम के निस्कियो थाहा छ? त्यसपछि केही दिन कलबहादुर मास्क नलगाई बाहिर निस्किएनन्। त्यो घटनाभन्दा पहिले कहिल्यै नचिन्ने मानिसहरूले उनलाई देख्दा चिन्न र उनलाई हेरेर हाँस्न थाले। ‘किसान महासंघको केन्द्रीय कमिटीको धेरै ठूलो बैठक थियो। त्यो भाइरल भएपछि महासंघका नयाँ कमरेडहरू सबैले मलाई चिने’ उनले भने, ‘मसँग लगातार फोटो खिचाउन थाले।’
यसो किन गरेका होलान् भनेर हमाललाई अप्ठ्यारो पनि लागेको रहेछ। ‘तर म त राजनीतिक मान्छे हुँ नि यस्ता सानातिना घटना त भइरहन्छन्, लामो समय मनमा लिनुहुन्न भनेर लिइनँ’ हमालले भने, ‘होइन त!’
तर उनलाई पार्टीभित्रकै केही कमरेडहरूले भने अरूलाई हँसाइरहने मान्छे आफैं नहाँसेको भए हुन्थ्यो भनेका पनि रहेछन्। उनले अर्को घटना पनि हामीलाई सुनाए।
‘गोकुल बाँस्कोटा कमरेड सुर्खेत आउनुभयो। उहाँलाई मैले नमस्कार कमरेड भनें’ हमालले भने, ‘उहाँले ओहो हाँस्ने कमरेड ठीक गर्नुभयो। आफ्ना कुरा राख्नुपर्छ भन्नुभयो। मलाई खुसी लाग्यो।’
हाँसो आफैंमा नकारात्मक कुरा होइन। हाँसो मानव स्वभावको एक आयाम पनि हो। यसले तनाव कम गर्न, सम्बन्ध सुधार्न र सकारात्मक वातावरण सिर्जना पनि गर्छ। दु:खको कुरा हाँसेर भन्दा त्यसको महत्व बेग्लै किसिमको हुन्छ भन्न कुनै खोज अनुसन्धानले पुष्टि गरिरहनु पनि पर्दैन।
‘यसका बावजुद पनि मेरो हाँसोले यो सदनको गरिमालाई असर परेको वा कसैलाई चित्त दु:खेको छ भने म क्षमाप्रार्थी छु। तर, मेरो उद्देश्य कसैलाई चोट पुर्याउनु थिएन। मेरो उद्देश्य त हाम्रो समाजका विद्यमान समस्याहरूप्रति ध्यानाकर्षण गराउनु थियो भनेर संसद्मा फेरि सम्बोधन गर्न चाहन्थें,’ उनले भने, ‘तर संसदीय दलका नेताले तपाईंले गल्ती गर्नुभएको छैन बोल्नुपर्दैन भनेपछि बोलिनँ ।’
हमालले प्रतिनिधित्व गर्ने हुम्ला विकासकै दृष्टिकोणमा पनि कर्णालीका अरू जिल्ला भन्दा पछाडि छ। हिउँदमा धुलो, बर्खामा बाढी त्यहाँको अहिलेको वास्तविकता हो। आधारभूत यातायात सुविधा विना नागरिकहरूले कुन प्रकारको जीवन बाँचिरहेका छन् यदाकदा सुर्खेत र काठमाडौंसम्म खबर पुर्याउने कलबहादुर हमालहरूले नै हो।
हुम्लाको त विपत्तिको खबर पनि कैयौं दिनपछि मात्रै थाहा हुन्छ भन्ने पछिल्लो उदाहरणका रूपमा पछिल्लो महिनाको नाम्खा घटना नै प्रकट छ। यस्तै पीडाहरूले झोक चल्दा कलबहादुरहरू दु:खी हुँदाहुँदै हाँसिदिन्छन्।
‘म हाँसें, किनभने हाम्रा बस्तीहरूमा सडक छैन, तर हामी हिंड्न छोडेका छैनौं। म हाँसें, किनभने हिउँको चिसोले कठ्याङ्ग्रिएर हाम्रा जनता रात काट्छन्, तर उनीहरू बाँच्ने आशा मार्दैनन्। म हाँसें, किनभने ठेकेदारले काम नगरे पनि, हामीले आफ्नै पौरखले बाटो बनाएका छौं र हिंडिरहेका छौं’ उनी भन्छन्, ‘यो हाँसो अपमान होइन, यो हाँसो हाम्रा दु:खलाई अँगाल्ने साहस हो। हुम्लाको हावा जस्तै हाम्रा आँखा चिसा छन्, तर हाम्रो मन बलियो छ। यो हाँसो कर्णालीका नागरिकहरूको मिहिनेत, प्रेम र सहनशीलताको प्रतीक हो। अतः हामी उन्मुक्त हाँस्छौं पीडा दबाएर।’
हुम्लाका दु:खबारे प्रदेश सभाका दुई वर्ष खुब बोले कलबहादुर हमाल। उनले बारम्बार माग गरे- सडक निर्माणका लागि बजेट व्यवस्थित बनाउनुपर्छ, योजनाहरू पारदर्शी हुनुपर्छ। तर बजेट विनियोजन मात्रै समाधान होइन। ठेकेदारहरूले समयमै काम नगर्ने, गुणस्तरीय काम नगर्ने प्रवृत्तिले कर्णालीलाई झन् पछाडि धकेलेको छ।
त्यसैले जसले समयमै काम सम्पन्न गर्दैन, तिनलाई कारबाही गरिनुपर्छ र बाँकी काम छिट्टै सकिनुपर्छ भन्ने माग प्रदेश सभामा खुब उठाए कलबहादुरले। त्यो कसैले सुनेनन्। सभामुखको ध्यानाकर्षण भएन। उनकै पार्टीका नेताहरूले रेस्पोन्स गरेनन्। अरू सांसदहरूले साथ दिएनन्। तर जब उनी हाँसे, देशै गुञ्जियो।
शायद त्यसैले प्रदेश सभामा हाँसोबारे स्पष्टीकरण दिन चाहन्थे उनी र भन्न खोजिरहेका थिए- ‘संसद्मा उठेको मेरो हाँसोले केहीलाई अचम्मित गर्यो होला, तर यो हाम्रो जिन्दगीको कथा हो- जहाँ दु:खमा पनि माया हुन्छ, कठोरता पनि साहसले बोकिन्छ, र हाँसो पनि संघर्षको एउटा सुन्दर साथी बन्छ। त्यसैले, म पुन: हाँस्छु, किनभने कर्णालीले बाँच्ने कला जानेको छ, कर्णाली लडेर पुन: उठ्ने साहस राख्छ।’
कलबहादुर विकट जिल्लाबाट आएका समानुपातिक सांसद हुन्। उनले वर्षौंदेखि आफ्नो क्षेत्रका जनताको दुःख र पीडा देखेका अनि भोगेका पनि छन्। उनलाई प्रदेश सभामा आफ्नो क्षेत्रको आवाज उठाउनुपर्छ भन्ने थाहा छ। उनलाई आफू हुम्लाबाट सुर्खेत झरेको उनीहरूको आवाज उठाउन हो भन्ने बोध पनि छ।
तर कलबहादुरलाई अरू नेताहरू झैं मिलाएर बोल्न आउँदैन। ‘मलाई चिप्लो बोल्न आउँदैन, तर म सत्य बोल्छु। मेरो सत्यपनलाई हेप्न खोज्नेहरूलाई म भन्न चाहन्छु- हामी सबै नेपाली हौं र सबैको स्वतन्त्रता उही हो’ उनले भने, ‘मलाई मुखमा राम राम र बगलीमा छुरा गर्न आउँदैन। जे छ यथार्थ हाँसेर, खुलेर बोल्छु।’
कलबहादुरको हृदयमा पीडा छ तर त्यससँगै, जिम्मेवारीको भारी पनि। त्यसैले उनले ठेकेदारी प्रथा र भइरहेको ढिलाइ बारे घरीघरी प्रश्न उठाइरहेका हुन्। समयमै काम नसक्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्ने उनको माग जुन भाषा र शैलीमा बोले पनि जायज छन्।
‘हामीलाई थाहा छ, कति ठेकेदारहरू ठेक्का लिएर हराउँछन्। जनताको करको पैसाले निर्माण हुने बाटोमा तिनकै कारण बजेट बर्बाद हुन्छ। यो केवल आर्थिक अनियमितता मात्र होइन, नैतिक अपराध पनि हो। हाम्रो आशामाथिको तुषारापात पनि हो’ उनले भने, ‘बाटो समयमै नबन्दा हाम्रा आमा–बुबाहरू स्वास्थ्य सुविधाबाट वञ्चित हुनुपर्छ। हाम्रा दाजुभाइ–दिदीबहिनी शिक्षाबाट वञ्चित हुनुपर्छ। अनि कर्णाली झन् अँध्यारोमा धकेलिन्छ। यी बेइमानीलाई कडा रूपमा दण्डित गरिनुपर्छ।’
र त; दिल खोलेर हाँसेकोमा कुनै पश्चात्ताप छैन कलबहादुरलाई। सामाजिक सञ्जालमा ट्रोल भए पनि कुनै दु:ख लागेको छैन। बरू दु:खको बेला पनि हाँस्न नछाड्ने आफ्नै शैलीसँग कलबहादुर हमाल पुलकित छन्।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4