+
+
Shares

अख्तियार विधेयक अड्किएकोमा कांग्रेस सांसद असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते ११:१३

२१ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग आयोग ऐन संशोधन विधेयक संसदीय समितिमा अड्किएकोमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद नै असन्तुष्ट भएका छन् ।

बुधबार यो विषय प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेको छ । अख्तियार विधेयक यही समितिमा अड्किएको छ ।

नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियार विधेयक अड्किएकोमा असन्तुष्टि जनाए । ‘अख्तियार विधेयकको बारेमा धेरै बोलिन । आफूलाई पर्ने कुरामा कोही तयार छैन । अर्कोलाई पार्ने कुरामा सदनदेखि सडकसम्म विरोध गरेर अगाडि बढ्ने परिस्थिति छ’, उनले भने ।

नीतिगत निर्णय समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा आउने गरी विधेयकको प्रतिवेदन तयार भएको छ । यही विषय विधेयकमा राखिएका कारण अगाडि बढ्न नसकेको थानीको भनाइ छ । ‘नीतिगत निर्णयको कुरा अलिकति आएको थियो विधेयक रोकियो’, उनी थप्छन्, ‘ललित निवास के हो ? पतञ्जली के हो ? पोखरा विमानस्थल के हो ? भैरहवा विमानस्थलको कुरा के हो ? त्यही होइन ?’

अख्तियार विधेयक अगाडि बढाउन समिति सभापति रामहरि खतिवडालाई उनको आग्रह छ । अगाडि भन्छन्, ‘सभापति ज्यु मर्का बुझिदिनुस् । चिया बगान त्यही होइन । नेपाल ट्रस्टको जग्गाको कुरा के हो त्यही होइन ?’

विधेयक रोकेको दोष नबोक्न समिति सभापति खतिवडालाई उनको सुझाव छ । ‘क्याबिनेटले जे गरे पनि हुने ? अरु सबै थुनिनुपर्ने मन्त्रिपरिषदले जे गरे पनि हुने ? मन्त्रिपरिषद्‍लाई छुन नपाउने कानुन बनाउने कुरा गलत छ’ उनी थप्छन्, ‘सभापति ज्यु दोष तपाई पनि नलिनुस् ।’

अख्तियार ऐन संशोधन विधेयक ६ माघ २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । २७ चैत २०७९ मा राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आए।

त्यसपछि प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० मा दुवै विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो । यो विधेयकमाथि राज्य व्यवस्था समितिले संसदीय उपसमिति बनाएर छलफल चलाएको थियो ।

उपसमितिको संयोजकमा कांग्रेस सांसद थानी नै थिए । २५ कातिक २०८१ मा गठित संसदीय उपसमितिले विधेयकको प्रतिवेदन ४ पुस २०८१ मा मूल समितिलाई बुझाएको थियो । त्यसपछि विधेयक अगाडि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?