+

युवा खेलाडीको प्रशंसा गर्दै श्रेयसले भने– आधा काम मात्र भएको छ, अर्को वर्ष पूरा गर्छौं

२०८२ जेठ  २१ गते ११:२६ २०८२ जेठ २१ गते ११:२६
युवा खेलाडीको प्रशंसा गर्दै श्रेयसले भने– आधा काम मात्र भएको छ, अर्को वर्ष पूरा गर्छौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रेयस अय्यरले पञ्जाब किङ्सको युवा खेलाडीहरूको निडर स्वभावको प्रशंसा गरे।
  • उहाँले भने, 'काम आधा मात्र पूरा भएको छ, अब ट्रफी अर्को वर्ष जित्नु छ।'
  • पञ्जाबले फाइनल यात्रा अनक्याप्ड खेलाडीहरूको प्रदर्शनले झल्काएको छ।

२१ जेठ, काठमाडौं । आईपीएल २०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग ६ रनले पराजित भएपनि पञ्जाब किङ्सका कप्तान श्रेयस अय्यरले आफ्नो टोलीको प्रदर्शनलाई उच्च मूल्यांकन गर्दै युवा खेलाडीको प्रशंसा गरेका छन्।

पहिलोपटक पञ्जाबको कप्तानी गर्दै गरेका उनले युवा खेलाडीहरूको ‘निडर स्वभाव’को खुलेर प्रशंसा गरे। ‘म टोलीमा सहभागी सबै खेलाडीप्रति गर्व महसुस गर्छु’ उनले खेलपश्चात प्रशारणमा भने ।

‘धेरै खेलाडीहरू पहिलो सिजन खेल्दै थिए, तर जसरी उनीहरूले निडरतापूर्वक प्रदर्शन गरे, त्यो साँच्चै असाधारण थियो। म बारम्बार यो कुरा दोहोर्याइरहेको छु – सबै खेलाडी, सहयोगी स्टाफ, व्यवस्थापन जसले योगदान गरेका छन्, सबैलाई सलाम। उनीहरू बिना हामी यहाँसम्म आइपुग्न सक्दैन थियौं’ उनले अगाडि थपे ।

श्रेयसले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै भने, ‘काम आधा मात्र पूरा भएको छ, अब ट्रफी अर्को वर्ष जित्नु छ।’

यस सिजनको सकारात्मक पक्षको बारेमा उनले भने, ‘हरेक खेलमा हाम्रा खेलाडीहरू सही समयमा अघि आएर “म खेल जिताउँछु” भनेका थिए । टिममा धेरै युवा खेलाडी थिए। मलाई लाग्छ, ती सबैले अहिले धेरै अनुभव प्राप्त गरे। अब आउने वर्ष उनीहरू अनुभवी भएर फर्कनेछन् र त्यसका आधारमा हामी नयाँ रणनीति बनाउन सक्छौं।’

पञ्जाबको फाइनल यात्रा विशेषगरी अनक्याप्ड (अन्तर्राष्ट्रिय अनुभव नभएका) खेलाडीहरूको प्रदर्शनले झल्किएको थियो। प्रारम्भिक ब्याटर प्रभसिमरन सिंह र प्रियंश आर्या, मध्यक्रमका शशांक सिंह र नेहल वधेरा, स्पिनर हरप्रीत बरार तथा तीव्र गतिका बलर विजयकुमार वैश्यकले शानदार योगदान दिए।

फाइनल खेलपछि श्रेयसले १९१ रनको लक्ष्य प्राप्त गर्न सकिने बताएका थिए। ‘हामीले मुम्बई इन्डियन्सविरुद्ध २०४ रन पछ्याएर जितेका थियौं, त्यसलाई ध्यानमा राख्दा २०० रन त बराबरी स्कोरजस्तै लाग्थ्यो’ उनले भने, ‘तर उनीहरूले उत्कृष्ट बलिङ गरे, विशेषगरी क्रुनाल पाण्ड्याको स्पेल शानदार रह्यो जुन खेलको टर्निङ पोइन्ट नै बन्यो।’

श्रेयस अय्यरको नेतृत्वमा ११ वर्षपछि पहिलो पटक तथा समग्रमा दोस्रोपटक फाइनल पुगेको पञ्जाब किङ्सले यसपटक उपाधिबाट वञ्चित भएपनि आगामी सिजनमा उपाधि जित्ने लक्ष्यसहित तयारी गर्ने विश्वास व्यक्त गरिएको छ।

पञ्जाब किङ्स श्रेयस अय्यर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय