+
+
Shares

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव सिंहसहित तीन दोषी करार

एक करोड कृषि अनुदान वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश सरकारको भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन्।
  • विशेष अदालतले तीन व्यक्तिलाई एक–एक वर्ष कैद र २५–२५ लाख रुपैयाँ जरिवाना तोकेको छ।
  • अख्तियारले १ करोड रुपैयाँ अनुदान भ्रष्टाचारको मुद्दा दायर गरेको थियो, जसमा दोषी ठहर भएका छन्।

२२ जेठ, काठमाडौं । मधेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।

सोही मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख शंकरप्रसाद साह र एक करोड रुपैयाँ अनुदान लिएको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका संचालक लक्ष्मीनारायण साह पनि दोषी ठहर भएका छन् ।

विशेषका अध्यक्ष टेकबहादुर कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको बिहीबारको इजलासबाट उनीहरू दोषी ठहर भएका हुन् । तीनैजनालाई एक–एक वर्ष कैद र २५–२५ लाख रुपैयाँ जरिवाना र सोहीबराबरको बिगो असुल उपर हुने फैसला भएको छ ।

यही मुद्दाका प्रतिवादी कर्मचारीहरू अमरचन्द्र मण्डल, ब्रजेशकुमार साह, रंजिकुमार अधिकारी, अविनाशकुमार झा र विकासकुमार साहले सफाइ पाएका छन् ।

एक करोड कृषि अनुदान वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा सिंहसहितका कर्मचारी र कृषि फर्मका संचालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नक्कली कागजातका आधारमा कार्यक्रम सम्झौता गरी अनुदानका नाममा एक करोड रुपैयाँ भुक्तानी गरेको अख्तियारको अभियोग थियो ।

इजलासले कृषि फार्मबाट २५ लाख जरिवाना असुल उपर गर्न तथा दोषी ठहर भएका तीनैजनाबाट थप एक–एक लाख रुपैयाँ जरिवाना असुल गरी पीडित राहत कोषमा जम्मा गर्न भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?