+
+
Shares

सप्तकोशीमा हेलिएका २ गोताखोर : कसरी टुट्यो लाइफलाइनको कम्युनिकेसन ?

दुई गोताखोर बेपत्ता भएपछि खोजी र उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले कोशी ब्यारेजको ह्युमपाइपमा राजवंशी र साउद फसेको आशंका गरेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ जेठ २३ गते १९:५५
सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोर सुरज साउद (बायाँ) र मृत भेटिएका गोताखोर हरदेव सिंह राजवंशी (बायाँ) ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सप्तकोशी नदीमा अभ्यासको क्रममा दुई गोताखोर बेपत्ता भए।
  • खोजी जारी रहँदा एउटा शव भेटिएको र अर्कोको अवस्था अज्ञात रहेको छ।

२३ जेठ, काठमाडौं । मनसुनको पूर्वसन्ध्यामा हरेक वर्ष सशस्त्र प्रहरी बल नेपालले पूर्वअभ्यास गर्दै आएको छ । तालुक गृह मन्त्रालयकै निर्देशन अनुसारको विपद् तयारी र आफूले पाएको विपद् उद्धारको जिम्मेवारीअनुसार सशस्त्र प्रहरीले मनसुनको पूर्वसन्ध्यामा विशेषगरी बाढीमा हुने उद्धारको पूर्वअभ्यास गर्दै आएको छ ।

वैशाखदेखि जेठ महिनासम्म चल्ने यस्ता पूर्वअभ्यासले वर्षायाममा बाढीमा फसेका, हराएका व्यक्तिको उद्धार र खोजमा सहज हुने भएकाले सशस्त्रका तालिमप्राप्त गोताखोर नदीमा हेलिँदै आएका छन् । सोही पूर्वअभ्यास अनुसार बिहीबार सप्तकोशी नदीमा गोताखोरले पूर्वअभ्यास गरेका थिए ।

मधेश र कोशी प्रदेशका बाहिनीको संयुक्त रूपमा एकै ठाउँ सप्तकोशीमा गोताखोरले पूर्वअभ्यास गर्दै आएका थियो । केही दिनदेखि भएको पूर्वअभ्यास बिहीबार पनि जारी थियो । शनिबार दुई प्रदेशका मुख्यमन्त्रीसहित सशस्त्र प्रहरीका बाहिनीपति (डीआईजी) सहितको उपस्थितिमा गोताखोरले डेमो देखाउने कार्यक्रम थियो । डेमोले गोताखोरले पानीमुनि कसरी काम गर्छन् । हराएको मान्छेको खोजी र उद्धार कसरी गरिन्छ जस्ता विषयहरू प्रदर्शन गरिन्छ ।

यही तयारीका लागि बिहीबार पनि बिहान ७:४५ बजेदेखि नै सशस्त्रका गोताखोर अभ्यास सुरु गरेका थिए । यस्तो अभ्यसलाई सिमुलेसन भनिन्छ । जेठ महिनामा मात्रै सशस्त्रका गोताखोर २९ पटक यो अभ्यास गरिसकेका छन् । यो अभ्यासमा नेपाल प्रहरी र नेपाली सेनाका टोली पनि सहभागी हुँदै आएका छन् । तर बिहीबार भने सशस्त्र प्रहरीले एकल अभ्यास सुरु गरेको थियो ।

जसमा दुई शसस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी), ५ गोताखोरसहित दुई प्रदेशबाट ५६ जना सुरक्षाकर्मी बिहान ७:४५ बजेदेखि नै सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा पुगेका थिए ।

कोशी ब्यारेजबाट उत्तरतर्फ करिब २ सय मिटरमाथि सशस्त्रका गोताखोरले अभ्यास गरेका थिए । बिहीबार पनि यो क्रम जारी थियो । बिहानदेखि नै नदीमा हेलिएर अभ्यास गरेका गोताखोर मध्याह्न दिउँसो ३ बजेतिर भने एकाएक बिलखबन्दमा परे । के गर्ने, कसो गर्ने उनीहरूसँगै समाधानको कुनै उपाय नै भएन । दिउँसो ३ बजेको त्यो कहालीलाग्दो क्षणले अहिले पनि सशस्त्रका गोताखोर आजित छन् । गोताखोर कमान्डर सई भक्तबहादुर खत्रीका अनुसार दिउँसो ३ बजिसकेकोले र्‍याफ्टबोट, मोटरबोटमा रहेकाहरू खाजा खाने भन्दै फुत्तफुत्त निस्कन्छन् । तर दुई गोताखोर (जवान हरदेव सिंह राजवंशी र अर्का जवान सुरज साउद) भने पानीमुनिबाटै बाटो हेर्दै पार गरेर खाजा खाने बताउँछन् ।

अक्सिजन सिलिन्डरसहित पानीमुनिसम्म पुगेर खोजी, उद्धार गर्ने गोताखोरको शरीरमा अक्सिजन सिलिन्डरका साथै डोरी बाँधिएको हुन्छ । उक्त डोरी पनि बाहिर रहेकाले समात्दै गोताखोरसँग कम्युनिकेसन गर्छन् । यही डोरीले गोताखोरलाई दिशा निर्देश गर्ने, डोरीमार्फत नै कुराकानी हुने, त्यसैको इसाराअनुसार खोजी र उद्धार हुने भएकाले यो डोरीलाई लाइफलाइन भनिन्छ ।

र्‍याफ्टबोटमा रहेका सई खत्रीले उक्त लाइफलाइन (डोरी) समात्छन् । गोताखोरद्वय राजवंशी र साउद पानीमुनि पस्छन् । गोताखोरीको नियम नै छ, उनीहरू कहिल्यै एक्लै पानीमा पस्दैनन् । दुई गोताखारेसँगै हात समाएर कम्युनिकेसन गर्दै पानीमुनि छिर्छन् । बिहीबार दिउँसो ३ बजेतिर पनि उनीहरू यसैगरी पानीमुनि पसे । नदी पार गरेर खाजा खाने र केही अभ्यास सकेर ब्यारेक फर्कने सोचेका राजवंशी र साउद भने बीचमै अलप भए ।

नदी किनारा आइनपुग्दै लाइफलाइन डोरी अड्कियो । लाइफलाइन समाएका गोताखोर कमान्डर सई खत्रीले केही संकेत गरे । ‘मैले लाइफलाइनमार्फत कम्युनिकेसन गरे तर पानीमुनिका गोताखोरले कुनै कम्युनिकेसन गरेनन् । पानीमुनिबाट जवाफ आएन,’ गोताखोर कमान्डर खत्री भन्छन् ।

लाइफलाइन कम्युनिकेसन टुटेपछि पौडिएर बाहिर आउने अनुमान गर्दै गोताखोर टोलीले नदीतलसम्म आँखा टहलाए । तर उनीहरुको नामोनिसानो देखिएन । त्यसपछि भने गोताखोर टोली झनै झस्कियो ।

र्‍याफ्टबोटबाट लाइफलाइन समातेको टोलीले लाइफलाइनलाई तान्ने एक पटक हल्का तान्ने प्रयास गर्‍यो । तर लाइफलाइन अड्कियो । केही मिनेट र्‍याफ्टबोटको टोली पनि बीचमै होल्ड भयो । ३:१० बजे कम्युनिकेसन पनि टुट्ने र लाइफलाइन पनि अड्किने भएपछि र्‍याफ्टबोटको टोली आत्तियो ।

त्यसपछि र्‍याफ्टबोटको गोताखोर टोलीले कतै फसेको हुनसक्ने आशंका गर्दै लाइफलाइन लुज छोड्दा आफैं पौडिएर बाहिर निस्कन सक्ने अनुमान गर्दै लाइफलाइन लुज छाडेको थियो । पौडिएर बाहिर आउने अनुमान गर्दै गोताखोर टोलीले नदी तल–तलसम्म आँखा टहलाए । तर उनीहरूको नामोनिसान देखिएन । सँगै खोजीको काम पनि गोताखोरले जारी राखेको थियो । बरु एउटा अक्सिजन सिलिन्डर छुट्टै फेला पर्‍यो । त्यसपछि भने पानी भित्रका गोताखोर फसेपछि बरु पौडिएर निस्कन्छु भनेर शरीरको सिलिन्डर फुकालेर पौडने प्रयास गरेको हुनसक्ने आशंका गोताखोरले गरेको छ ।

बिहीबार साँझसम्म खोजी गर्दासम्म उनीहरूको अवस्था पत्ता लागेन । राति नै चितवनको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट अनुभवप्राप्त गोताखोर प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जनाको टोली घटनास्थल पठाइएको थियो । भण्डारी २०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका व्यक्ति हुन् । त्यसयता नेपालमा सञ्चालित गोताखोर तालिमका उनी प्रशिक्षक हुन् ।

कुरिनटारको टोलीसँगै दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी सहितको टोलीले अहिले पनि संयुक्त रूपमा खोजी जारी राखेको छ । खोजी गर्ने क्रममा आज शुक्रबार बिहान अभ्यास गरिएको ठाउँबाट करिब ३ किलोमिटर दक्षिणतर्फ तल गोताखोर राजवंशीको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । खोजी अझै जारी रहे पनि बेपत्ता भएका अर्का गोताखोर साउको अवस्था भने अझै अज्ञात छ ।

ह्युमपाइपमा फसेको आशंका

दुई गोताखोर बेपत्ता भएपछि खोजी र उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले कोशी ब्यारेजको ह्युम पाइपमा राजवंशी र साउद फसेको आशंका गरेको छ । त्रिशूली लगायत अन्य नदीको जस्तो खोँच नभएको अवस्थामा पनि लाइफलाइन अड्किएकाले उनीहरू ब्यारेजको ह्युमपाइपमा फसेको आशंका गोताखोरले गरको एक अधिकृत सुनाउँछन् ।

गोताखोरलाई उद्धृत गर्दै ती अधिकृतले भने, ‘सप्तकोशीका ५६ वटै ढोकामुनि ठूला–ठूला ह्युमपाइप पनि राखिएको भन्ने बुझ्नमा आएको छ । पानीमुनिबाट नदी पार गर्ने क्रममा उनीहरूलाई बहाव बगाउँदै ब्यारेजको ढोका नजिकसम्म पुर्‍याएको र ह्युमपाइपमा उनीहरू फसेको आशंका गरेका छौं ।’

ह्युमपाइपमा फसेकाले लाइफलाइन पनि अड्किएको र उनीहरूसँगको कम्युनिकेसन टुट्दा दुर्घटना भएको हुनसक्ने आशंका सशस्त्रका गोताखोरले गरेका छन् । ‘यो अभ्यास भइरहने ठाउँ हो । तर यस्तो खालको कुनै दुर्घटना र समस्या यसअघि परेको थिएन । अहिले ह्युमपाइप पनि राखिएको भन्ने बुझिएकाले त्यसैमा फसेर दुर्घटना भएको हो कि भन्ने आशंका गरेका छौं,’ खोजीमा खटिएका एक गोताखोर अनलाइनखबरसँग भन्छन् ।

ठूलो क्षति

सशस्त्र प्रहरीको इतिहासमा गोताखोर नै बेपत्ता भएको र मृत भेटिएको यो पहिलो घटना हो । यसअघि निकै जोखिमपूर्ण नदीहरूको खोँचमा समेत गएर उद्धार गर्दै आएका सशस्त्रका गोताखोरहरू बेपत्ता र मृत भेटिएका थिएनन् ।

तर, बिहीबार एकसाथ दुई गोताखोर बेपत्ता हुनु र एक मृत भेटिनुले ठूलो क्षति पुगेको सशस्त्र प्रहरीले बताएको छ । तालिमप्राप्त भएर विभिन्न खोज तथा उद्धारमा खटिँदै आएका उनीहरूको अभाव संगठनमा पर्ने सशस्त्र प्रहरीले बताएको छ ।

मृत भेटिएका झापाको गौरादह-८ पक्कीभिट्टाका राजवंशी त सशस्त्रमा प्रहरी निकै कठिन र चुनौतीपूर्ण मानिने तीनवटा तालिम समेत गरेका थिए । उनले स्पेसल टास्क फोर्स (एसटीएफ), डिजास्टर म्यानेजमेन्ट (डीएम) र गोताखोर गरी तीन तालिम गरेका थिए । उनी एसटीएफ तालिमका प्रशिक्षक समेत हुन् ।

गोताखोरको काम अत्यन्त जोखिमपूर्ण हुन्छ । थोरै मात्रै सन्तुनलन नमिलेको अवस्थामा ज्यान तलमाथि हुने जोखिम देखिएपछि ६ जना गोताखोरले त्यतिबेला राजीनामा समेत दिएका थिए । अहिले बंगलादेशमा तालिम गरेर आएका गोताखोरमध्ये १६ जना मात्रै संगठनमा रहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता थापा बताउँछन् ।

उनले उच्च शारीरिक सहिष्णुता आवश्यक पर्ने कडा तालिम गर्ने थोरै जनशक्तिमध्ये एक हुन् राजवंशी । त्यहाँमाथि प्रशिक्षक समेत भएकाले यसले संगठनमा ठूलो क्षति पुगेको सह-प्रवक्ता थापा बताउँछन् । बेपत्ता साउद पनि गोताखोर तालिम प्राप्त जवान हुन् । यो घटनाले अन्य गोताखोरमा पर्ने मनोवैज्ञानिक क्षति झन ठूलो हुने र लामो समयसम्म रहने बताइएको छ ।

राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए । राजवंशीले चौथो ब्याचको रूपमा २०८० भदौमा गोताखोर तालिम सम्पन्न गरेका थिए । साउदले भने पाँचौं ब्याचको रूपमा २०८१ जेठमा गोताखोर तालिम सम्पन्न गरेका थिए । त्यसयता उनीहरू विभिन्न खोज तथा उद्धारमा खटिँदै आएका थिए ।

३ भदौ २०८१ मा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा पुलस्थित धरान उपमहानगरपालिका–१६ जोरसुखना बस्ने १६ वर्षीय सुनिल शाह को९प ९८६५ नम्बरको मोटरसाइकल, मोबाइल र चप्पल पुलको बीच भागमा छाडी सप्तकोशीमा हामफाली बेपत्ता भएका थिए । शाहको खोजीमा राजवंशीसहितको गोताखोरको टोली खटिएको थियो ।

त्यसैगरी २० असोज २०८१ मा उदयपुरको बेलका नगरपालिका–८ सप्तकोशी चतरा पुलबाट को १ ह ९३३० नम्बरको अटो दुर्घटना हुँदा हामफाल्ने क्रममा धरानकै ५० वर्षीय शिवकुमार सोनी बेपत्ता भएका थिए । उनको खोजी तथा उद्धारका लागि पनि राजवंशी खटिएका थिए ।

२०८१ भदौमा सर्लाहीको इश्वरपुर नगरपालिका–५ सुखवनी अन्दाजी १७ वर्षीय निशान्त थापा मगर क्रसरका लागि खनेको खाल्डोको पानीमा डुबेर बेपत्ता भएका थिए । यो घटनामा साउद खोजी तथा उद्धारका लागि खटिएका थिए । मगरलाई मृत अवस्थामा निकालिएको थियो ।

२०८१ भदौमै धनुषाको औरही गाउँपालिका–५ र ६ को सीमामा रहेको नहरमा १८ वर्षीय सुन्दर मण्डल पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । यो घटनामा पनि साउद खोजी तथा उद्धारका लागि खटिएका थिए ।

अन्य व्यक्तिको खोजी र उद्धारमा खटिँदै आएका एक दिनदेखि सप्तकोशी नदीमा हराइरहेका छन् ।

जोखिम उच्च, सुविधा ३ सय

२०६९ सम्म सशस्त्र प्रहरी बलसँग पानीमुनि गएर खोज तथा उद्धार गर्ने दक्ष जनशक्ति थिएन । दुर्घटना तथा विपदका कारण नदी, ताल तलैया, पोखरीमुनि गएर खोज तथा उद्धार गर्नुपर्ने भएपछि सशस्त्र प्रहरीले गोताखोरको आवश्यकता महसुस गरेको थियो ।

२५ जना सुरक्षाकर्मीलाई २०६९ वैशाखमा पहिलो पटक गोताखोर तालिमका लागि टोली बंगलादेश पठायो । ३० वैशाख २०६९ देखि ३१ साउन २०६९ सम्म गरी तीन महिना तालिम गरेर २५ जनाको टोली काठमाडौं फर्कियो ।

बंगलादेशमा तालिम गरेर आएको गोताखोरको टोलीले नै २०७६ सालसम्म काम गरेको थियो । गोताखोरको काम अत्यन्त जोखिमपूर्ण हुन्छ । थोरै मात्रै सन्तुलन नमिलेको अवस्थामा ज्यान तलमाथि हुने जोखिम देखिएपछि ६ जना गोताखोरले त्यतिबेला राजीनामा समेत दिएका थिए । अहिले बंगलादेशमा तालिम गरेर आएका गोताखोरमध्ये १६ जना मात्रै संगठनमा रहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता थापा बताउँछन् ।

तर, सशस्त्र प्रहरीले आफैंले तालिम दिएर गोताखोर उत्पादन गर्दै आएको छ । पहिलो पटक ९ असोज २०७६ देखि २६ कात्तिकसम्म बराह बाहिनी पकलीमा सुनसरीमा गोताखोर तालिम सञ्चालन भएको थियो । १९ जना सशस्त्र प्रहरीले तालिम लिए ।

त्रिशूली, कोशी नदी, फेवाताल, कुलेखानी लगायतका फरक-फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण गराइन्छ । विशेषगरी सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोरको तालिम दिने गरिन्छ । अहिले सशस्त्र प्रहरीसँग १२८ गोताखोर रहेको सह-प्रवक्ता थापा बताउँछन् । १२८ मध्ये एक मृत भेटिएका छन्, अर्को एक जनाको अवस्था अज्ञात छ ।

अहिले सातै प्रदेशका ७ बाहिनी मुख्यालय, तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, नं. २४ कालीका गण कास्की र सिन्धुलीको खुर्कोट बेसमा गोताखोर तैनाथ छन् ।

निकै चुनौतीपूर्ण मानिने गोताखोर भने सरकारको उपेक्षामा पर्दै आएको छ । आठ वर्षसम्म त गोताखोर अन्य सुरक्षाकर्मी सरह मासिक तलब बोहक केही पाएका थिएनन् । सशस्त्र प्रहरी बल हेडक्वार्टरले पटक–पटक गोताखोरलाई मासिक तलब हुनुपर्ने भन्दै लबिइङ गर्दै आएको थियो ।

आठ वर्षपछि बल्ल भत्ता पाउने त भयो तर त्यो भने उद्धारमा खटिएको दिनको मात्रै । ८ असोज २०७७ को मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा, काम गरेका दिन ३०० रुपैयाँका दरले भत्ता दिने निर्णय ग‍र्‍यो । त्यो बाहेक राज्यले अहिलेसम्म गोताखोरलाई कुनै थप सेवा सुविधा उपलब्ध गराएको छैन ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?