
News Summary
Generated by OK AI. Editorially reviewed.- मान्छेहरूले सामाजिक अन्तरक्रियाको क्रममा अरुको कुरा काट्ने परम्परा रहेको छ।
- गसिपलाई मनोवैज्ञानिक दृष्टिकोणबाट सामाजिक बन्धन, मनोरञ्जन र शक्ति प्राप्तिको माध्यम मानिन्छ।
- नकारात्मक गसिपले सम्बन्धमा तनाव र अविश्वास बढाउँछ, भने सकारात्मक गसिपले समूहमा विश्वास बढाउँछ।
सायद अरुको कुरा काट्नु मान्छेलाई निकै रुचि लाग्ने विषय हो । नेपाली परम्परामा धारा, पँधेरालाई कुरा काट्ने थलोका रुपमा चर्चा गरिन्छ अझै पनि । ग्रामीण क्षेत्रमा मेलापात, चिया पसल, चौतारामा जम्मा भएर कुरा काट्ने प्रचलन छ । बिहे, ब्रतबन्ध जस्ता अवसरमा भेला हुँदा पनि मान्छेहरू जम्मा भएर त्यहाँ नभएको व्यक्तिको कुरा काटिरहेका हुन्छन् ।
कसले कति कमायो ? कस्तो घर बनायो ? कस्तो कपडा लगायो ? कहिले कस्तो व्यवहार गर्यो ? कति प्रगति गर्यो वा कस्तो दुर्गति भोग्यो ? कसले कुन कपडा लगायो, कसको कोसँग लभ पर्यो ? को कति राम्रो, कति नराम्रो । कसको कुरा काट्ने, कुन प्रकारको कुरा काट्ने भन्ने विषय व्यक्तिहरूको उमेर, पेशा, रुचि, ज्ञान अनुसार निर्धारण हुन्छ ।
मानिस सामाजिक प्राणी हो । सामाजिक अन्तरक्रियाको एक हिस्साका रूपमा कुरा काट्ने प्रवृत्ति प्राचीन कालदेखि नै मानव व्यवहारको अभिन्न अंग रहँदै आएको छ। कुरा काट्नेलाई सामान्यतया अरुको बारेमा नकारात्मक वा व्यक्तिगत विषयमा अनावश्यक चासो लिनुका रुपमा बुझिन्छ ।
कुरा काट्नु कसैको खिल्ली उडाउनु, डाह गर्नु, निन्दा गर्नु, आलोचना गर्नुमा आधारित हुन्छ। तर, मान्छेले किन अरुको कुरा काट्छन् ?
यो प्रश्नको मानिसको मनोविज्ञानसँग जोडिएको हुन्छ । यसलाई गसिपका भन्ने गरिएको पाइन्छ ।
के हो गसिप ?
त्यो व्यक्तिको उपस्थिति नभएका बेला अरुको व्यक्तिगत जीवन, व्यवहार, वा कमजोरीबारे कुराकानी गर्नुलाई गसिप भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणबाट, गसिप एक जटिल सामाजिक व्यवहार हो जसले सूचना आदान-प्रदान, सामाजिक बन्धन र समूहको गतिशीलतालाई प्रभावित गर्छ। गसिप सधैं नकारात्मक हुँदैन, यसले सकारात्मक सूचनाको आदान-प्रदान पनि गर्न सक्छ । नकारात्मक गसिपले सामाजिक सम्बन्धमा तनाव र अविश्वास निम्त्याउँन सक्छ।
मानिसहरूले कुरा काट्नुको पछाडि विभिन्न मनोवैज्ञानिक प्रेरणाहरू हुन्छन्।
१. सामाजिक तुलना
लियोन फेस्टिङ्गरको सामाजिक तुलना सिद्धान्तका अनुसार, मानिसहरूले आफूलाई मूल्यांकन गर्न र आफ्नो स्थान समाजमा निर्धारण गर्न अरुसँग तुलना गर्छन्। जब कोही व्यक्तिले अरुको कमजोरी वा असफलताबारे कुरा गर्छ, उसले आफूलाई माथि राख्ने प्रयास गर्छ । जस्तो, कसैको असफलता वा गल्तीको कुरा काट्दा व्यक्तिलाई आफ्नो जीवन वा उपलब्धि उत्कृष्ट लाग्न सक्छ । यो व्यवहार विशेष गरी असुरक्षा वा आत्मसम्मान कम भएको अवस्थामा प्रबल हुन्छ।
२. ईर्ष्या र असुरक्षा
ईर्ष्या गसिपको एक प्रमुख कारण हो । जब कोही व्यक्ति अरुको सफलता, सौन्दर्य वा समृद्धिलाई देखेर आफूलाई कमजोर वा अपूर्ण महसुस गर्छ, उसले अर्कोलाई होच्याउन गसिपको सहारा लिन्छ । यदि सहकर्मीको भयो भने अर्को व्यक्तिमा ईर्ष्या जाग्न सक्छ, र उसले ती सहकर्मीको कमजोरी वा गल्तीको कुरा काट्न थाल्छ । यो व्यवहारले व्यक्तिलाई क्षणिक रूपमा सन्तुष्टि दिन्छ, तर दीर्घकालमा यो हानिकारक हुन्छ ।
३. सामाजिक बन्धन
गसिपले सामाजिक बन्धनलाई बलियो बनाउन पनि भूमिका खेल्छ । एक प्रसिद्ध मानवविज्ञ रोबिन डन्बरले आफ्नो अनुसन्धानमा गसिपलाई सामाजिक गोंदको रूपमा वर्णन गरेका छन्। जब मानिसहरूले एक-अर्कासँग गसिप गर्छन्, उनीहरूले समान रुचि र मूल्यहरूको आधारमा नजिकको सम्बन्ध निर्माण गर्छन् ।कुनै दुई व्यक्तिले दुवैलाई मन नपर्ने मान्छेको बारेमा काट्छन् भने उनीहरूबीच विश्वास र एकताको भावना विकास हुन्छ । जस्तो- कार्यस्थलमा रहेका दुई व्यक्तिले आफूमाथि हैकम चलाउने हामिकको बारेमा सँगै बसेर कुरा काट्छन् भने उनीहरूबीच घनिष्ठता बढ्छ ।
४. मनोरञ्जन
गसिपले कुराकानीलाई रमाइलो र रोचक बनाउँछ। मानिसहरू प्रायः नीरस दैनिकीबाट बच्न वा सामाजिक अन्तरक्रियालाई रोचक बनाउन गसिप गर्छन् । कोही व्यक्तिका बारेमा मजाक उडाएर ठट्टा, हाँसो गर्दै रमाइलो गर्न सक्छन् । कुनै सेलिब्रेटीको व्यक्तिगत जीवनबारे कुरा गर्नुले मानिसहरूलाई मनोरञ्जन र सामाजिक संलग्नताको अनुभव हुन्छ।
५. शक्तिको चाहना
गसिपले सामाजिक शक्ति प्राप्त गर्ने माध्यमको रूपमा पनि काम गर्छ। कसैको बारेमा विशेष जानकारी राख्नु वा फैलाउनुले व्यक्तिलाई समूहमा प्रभावशाली बनाउँछ । कसैको गोप्य जानकारी फैलाएर व्यक्ति आफूलाई शक्तिशाली र नियन्त्रणमा भएको महसुस गर्छ । यो व्यवहारले सामाजिक सम्बन्धमा तनाव र अविश्वास निम्त्याउन सक्छ।
६. पीडा, कुण्ठा पोख्ने माध्याम
कसैले धेरै दु:ख दिएको, सताएको छ भने उसबाट पीडित अर्को व्यक्तिसँग वा अरु कसैसँग भएर उसको नकारात्मक पक्षका बारेमा मान्छेले कुराकाटिरहेका हुन्छन् । कसैसँगको रिस, आवेगलाई शान्त बनाउन, मनमा कसैप्रति उब्जिएको कुण्ठा पोख्नका लागि पनि अरुको कुरा काट्ने गरेको देखिन्छ ।
सकारात्मक प्रभाव
गसिपले समूहमा विश्वास र एकता बढाउँछ।
व्यक्तिहरूलाई सामाजिक गतिशीलता र जोखिमबारे जानकारी दिन्छ।
सामाजिक नियम र मूल्यहरू पालना गर्न प्रेरित गर्छ।
नकारात्मक प्रभाव
-नकारात्मक गसिपले सम्बन्धमा तनाव र अविश्वास निम्त्याउँछ।
-गसिपको शिकार भएका व्यक्तिको आत्मविश्वास कमजोर हुन सक्छ ।
-उपलब्धिविहीन कुरामा अनावश्यक समय र दिमाग खर्छ हुन्छ ।
-अरूको बारेमा चासो, चिन्ता लिँनमा मजा लाग्दा आफ्नो काम, सिर्जनशीताको असर पर्नसक्छ ।
प्रतिक्रिया 4