+
+
Shares
स्मरण :

बयलगाडामा जन्ती

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले आफ्नो बाल्यकालको बयलगाडामा जन्ती जानको रमाइलो अनुभव व्यक्त गरेका छन्।
  • बयलगाडामा सजावट, यात्रा र भोजको स्मृति रेखांकित गरिएको छ।
  • स्मृतिमा बसेको त्यो दिन र अनुभव जीवनभरि मनमा रहिरहने बताइएको छ।

बयलगाडा भनेको आजका बालबालिकाले सायद किताबमा पढ्ने, पुराना चलचित्रमा हेर्ने कुनै समयको सम्झना ठान्लान् । तर मेरो बाल्यकालमा बयलगाडा नै त थियो एक मात्र सवारी साधन। कहिले सामान ओसार्ने त कहिले मान्छे ओसार्ने। जन्ती जाने दिनमा त स्वर्गको सवारीझैँ लाग्थ्यो ।

म शायद कक्षा ४ वा ५ मा पढ्थें। उमेर १०–११ वर्षजति । बयलगाडामा चढेर जन्ती गएको पहिलो अनुभव, त्यो पनि नाताले काकाको बिहे, अझै पनि स्मृतिमा ताजा छ ।

वैशाख महिनाको थियो-गर्मीयाम। डुम्राहाबाट इनरुवा जन्ती जानुपर्ने, करिब सात किलोमिटर । बाटो चीरपरिचित नै थियो, किनभने इनरुवा हाम्रो सधैंको हाट बजार थियो। जन्ती जान पाइने खबरले हाम्रो बालचेतनामा असाध्यै उथलपुथल ल्याएको थियो । हामी गाउँका १० देखि १३ वर्षका केटाहरू, म, इन्द्रदेव, रामप्रित लगायत अलग्गै बयलगाडा लिएर जन्ती जान पाउने भयौँ । यसपछि हामीलाई आकाशै छोएजस्तै भयो।

त्यसबेलाको बयलगाडामा दुईवटा ठूला काठका पाङ्ग्रा हुन्थे । मुख्य भाग बाँस वा काठको बनेको हुन्थ्यो । अगाडि नारिएका दुई गोरू । आजकाल कार सजायजस्तो त्यो पनि बिहेको गाडा सजावट गर्ने चलन थियो । रंगीचंगी कागजका फूल, कपडाको फहर-फहर गेट, कहिले काहीं त बेलुन पनि। अझ बेहुलाको गाडा त विशेष झकिझकाउ हुन्थ्यो। हामीले पनि आफ्नो गाडालाई कागजका फूल, हरियो पात र डोरो बाँधेर सजाएका थियौं।

जन्तीको समूहमा करिब १०–१२ वटा बयलगाडाहरू थिए । कसैको आफ्नै घरको, कसैको काकाको, कसैको माइलो दाजुको । जन्ती जानेहरूले आ-आफू नै गाडाको व्यवस्था गरेर जान्थे । लगभग सबैको घरमा कम्तिमा एउटा गाढा हुन्थ्यो ।

साँझ ८ बजेतिर हामी बयलगाडामा चढ्यौं। रमाइलो मान्दै हामी बिहेघर तिर लाग्यौँ । बयलगाडा दौडाउने होडसमेत चल्यो । कतै गोरु छिटो हिँडे, कतै अल्मलिए । रमाइलोको कुनै सीमा थिएन । खेतको बाटो, गहुंत र माटोको गन्ध, बेलुकाको चिसो हावा र बयलगाडाको गडगड आवाजसँगै हामी यात्रा गरिरहेका थियौँ ।

इनरुवा, त्यो बेला पनि बजार क्षेत्र नै थियो, तर बिहेको घर बजारको छेउतिर गाउँजस्तै लाग्ने ठाउँमा थियो । बिहे घरमा अहिले जस्तो टेन्ट, झिलिमिली बत्ती, साउण्ड सिस्टमको चर्को कोलाहल थिएन । घर लिपपोत गरिएको थियो । कपडा फर्फराइरहेको गेट, स्वागतको ब्यानर, हातले लेखिएको । बस्नका लागि विद्यालयबाट मगाइएका वेञ्चहरू, पराल ओछ्याएर त्यो माथि पाल अनि तन्ना राखिएको थियो ।

जन्ती पुगेपछि हातखुट्टा धुन इनारमा मान्छे खटाइएको थियो । पानी अरुले दिएर हात खुट्टा धुन पाउनु, अनि नास्ता पनि बट्टामा प्याक गरिएको घरमै पकाइएको भए पनि । चिया, सर्वत, पकौडी, खजुरिया हामी केटाकेटीलाई त एक प्रकारको राजकीय स्वागतजस्तै लाग्यो ।

उता मुख्य कार्यक्रम त बिहे थियो। तर त्यो हाम्रो चासोको विषय नै थिएन। हाम्रो उद्देश्य थियो बेहुली हेर्ने, खाने, रमाइलो गर्ने । अहिले जस्तो जन्ती पुग्नेबित्तिकै माला लगाएर स्टेजमा फोटो खिच्दै स्वंम्बर गर्ने चलन थिएन, बेहुली हेर्न तिलकुको बेला कुर्नैपर्थ्यो ।

राति कति बजे खाना खाइयो, कसरी सुत्यौं त्यो थाहै छैन। बाल्यकालको थकाइ र रमाइलो मिसिएको निद्रा त्यो भन्दा मिठो सायदै होला । बिहान उठ्दा बेहुला–बेहुलीको कार्यक्रम बाँकी थियो। तर, हामीलाई त्यसको चासो कहाँ थियो र ? दतुवन, साबुन, नुहाउने पानीको व्यवस्था बेहुलीको घरबाटै थियो ।

त्यसबेला डिजिटल क्यामेरा थिएन । एउटा क्यामराम्यान थियो, रिल हालेर फोटो खिच्ने । बिहेमा ल्याएको क्यामेराले हामी नाथेको फोटो कहाँ खिच्न पाउनु । हामी केही साथीहरू फोटो स्टुडियोमा गएर एउटा फोटो खिचायौँ। त्यत्तिकै गर्व महसुस भयो । तर जब हामी फर्केर घर आयौं, खाजा खाने समय बितिसकेको रहेछ ।

हाम्रै नासो, हाम्रै लाज । गोजीमा पैसा थिएन, भोक त थियो। अनि हाम्रो आँखाले पत्ता लगायो-बेहुलीको घर नजिकैको काँक्राको बारी । काँक्रा लहरामा झुन्डिएको। तातो घाम, भोक र बाल्य चञ्चलता- हाम्रो धैर्‍यताको सीमा टुट्यो।

कसैले कोही आउँछ कि भनेर चियो गर्ने, कसैले लहरा फसाउने गर्दै काँक्रा चोरियो। खाइयो । स्वाद त बिर्सिसकेको छु, तर त्यो काँक्राको चोरिएको क्षण अझै पनि सम्झिन्छु। तर कुराकसैले देखेछ । बेहुलीको घरमा कुरा पुगेछ ।

कतिपयले भने- ‘केटाकेटीले खाए, छाडिदिऊँ।’ कोही भने कड्किए- ‘लहरा नै भाचिएको छ, केटाकेटीले भनेर कहाँ हुन्छ ?’

आकाशै खसेजस्तो लाग्यो । बयलगाडाको मस्ती एकाएक गायब भयो । शहनाइको मिठास एकै छिनमा हरायो । जन्तीको रुपमा त्यत्रो सत्कार पाएका हामी घृणाको पात्र बन्यौँ ।

हामीसाथीहरूले एक-अर्कालाई हेर्न थाल्यौँ । अनुहारमा डर थियो, तर व्यवहारमा फूर्ति देखाउनु थियो । कसैले भने-‘जन्ती भएर यस्तो गर्नुहुन्छ ?

बेहुलीको विदाई हुन बाँकी नै थियो । त्यो हुलमुल, त्यो तनाव, बदनाम हुने डर एकछिन केह नबोली बसियो । इन्द्रदेवले बिस्तारै भन्यो, ‘हेर, अब यहाँ बस्यौं भने हाम्रो नाम मुछिन्छ । बेइज्जत हुन्छ । मैले बिस्तारै जवाफ दिएँ-अब हामी फर्कौँ घरमै गएर खाउँला !

हामीले फर्कने निश्चय गर्‍यौँ ।

बयलगाडा घरतिर लाग्दै गर्दा बिस्तारै डर र लाज कम हुँदै गयो । अरु जन्तीहरू फर्किएका थिएनन् । बेहुलीको विदाइ पनि भएको थिएन । तर हामी चुपचाप, फुसफुस गर्दै बयलगाडा हुक्याउदै गाउँ फर्कियौं । केही रमाइला स्मरण, खुसी, संकोच, थोरै खिन्नता यस्तै अनुभूति थियो मनमा । गाडा अघि बढिरह्यो ।

घर पुग्नेबित्तिकै आमाले प्रश्न गरिन्, ‘के भयो, किन यति छिट्टै फर्किएको ? मैले झूटो मुस्कानसाथ भनें, ‘खाना पनि खाइयो, रमाइलो पनि सकियो, त कति बस्नु ।’ तर मनमा घुमिरहेको थियो काँक्रो । अनि सम्झनामा गडेर बसेको त्यसको स्वाद ।

त्यो विवाह, त्यो दिन, त्यो रात, त्यो बयलगाडा, त्यो काँक्रा, त्यो फोटो स्टुडियो, बाल्यकालको त्यो जन्ती, मेरो स्मृतिको गहिराइमा सधैँ रहिरहनेछ ।

बयलगाडामा जन्ती जीवनको एउटा सुन्दर अनुभूति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?