+
+
Shares

सांसदलाई गाडी माग गर्थिन् रुचाल, समितिको सभापति नै पाइन्

गण्डकीमा भण्डारीबाहेक सबै माओवादी सांसदले पाए सुविधाको पद

‘मुस्ताङ, नवलपुरका सांसदलाई जनताको घर दैलोमा पुग्न आवश्यकताको आधारमा थन्किएर बसेका गाडी सुविधा प्रयोग गर्न दिनुपर्छ भन्ने मेरो मत थियो,’ रुचालले भनिन्, ‘अब भने गाडी भएकै पदमा आइपुगेकी छु, अब अरुलाई पनि सहयोग गर्छु ।’

अमृत सुवेदी अमृत सुवेदी
२०८२ जेठ २३ गते २०:०१
नवलपुरबाट प्रतिनिधित्व गर्ने माओवादीकी समानुपातिक सांसद दमयन्ती रुचाल

२३ जेठ, पोखरा । २०८० माघ १० गते सार्वजनिक लेखा समितिको बैठकमा गण्डकी प्रदेश सरकारको सम्पत्ति, जग्गा, जनशक्ति, सवारी साधनमाथि छलफल भएको थियो । समितिले सरकारलाई यसको यथार्थ विवरण पठाउन लिखित निर्देशन नै दिएको थियो । समितिको त्यही बैठकमा नवलपुरबाट प्रतिनिधित्व गर्ने माओवादीकी समानुपातिक सांसद दमयन्ती रुचालले मन्त्रीलाई मात्र होइन, सांसदलाई पनि आवश्यकताको आधारमा गाडी सुविधा माग गरिन् ।

गण्डकीमा मन्त्रालय संख्या १२ बाट घटाएर ७ कायम गरिएको थियो । त्यसैले पहिलेका मन्त्रीहरुले चढेका गाडी थन्किएर बसेको भए सांसदलाई पनि आवश्यकता आधारमा प्रयोग गर्न दिनुपर्ने धारणा उनको थियो ।

‘पहिलेका मन्त्रीले चढ्नुभएका सवारी साधन कहाँ छन् ? अहिले कुन–कुन मन्त्रालयमा–कति कति सवारी साधन छन् ? प्रदेश सरकारको सफलता ६० जना माननीयलाई कति क्रियाशील बनाउन सकिन्छ भन्नेमा भर छ । हामी जनतामा छिटोछरितो पुग्न नसकेका कारणले पनि गुनासो आउँछ’, सांसद रुचालले भनेकी थिइन्, ‘गाडी दिइयो भने त माननीयले पालो गरेर पनि प्रयोग गर्न सक्नुहुन्छ ।’

अहिले तिनै रुचाल गाडी सुविधासहितको संसदीय समिति सभापति पदमा चुनिएकी छन् । ‘मुस्ताङ, नवलपुरका सांसदलाई जनताको घर दैलोमा पुग्न आवश्यकताको आधारमा थन्किएर बसेका गाडी सुविधा प्रयोग गर्न दिनुपर्छ भन्ने मेरो मत थियो,’ रुचालले भनिन्, ‘अब भने गाडी भएकै पदमा आइपुगेकी छु, अब अरुलाई पनि सहयोग गर्छु ।’

आफू पनि मन्त्री बन्न योग्य रहेको दलको बैठकमा दाबा गरिरहने दमयन्ती अन्तत संसदीय समितिको नेतृत्व गर्ने पदमा पुगेकी छन् ।

गण्डकीका चार समितिको नेतृत्वलाई पूर्णता दिने क्रममा माओवादीले संसदीय अभ्यासअनुसार सार्वजनिक लेखा समितिमा दबाब सिर्जना गर्न सकेन । जसका कारण यसअघि माओवादीकै कोटामा सभापति बनेका फणीन्द्र देवकोटा मन्त्री बनेपछि रिक्त सभापतिमा रुचाल आइपुगेकी हुन् ।

भण्डारीबाहेक सबै माओवादी सांसदले पाए सुविधाको पद

अघिल्लो पटक १२ जना सांसद जितेको नेकपा माओवादीले यो कार्यकालमा भने ८ जनामात्र सांसद जित्दै गण्डकी प्रदेश सभा छिरेको हो । जसमध्ये म्याग्दीका हरि भण्डारीबाहेक सबै सुविधाको पदमा पुगिसकेका छन् ।

हरि भण्डारी

गण्डकीमा यसपटक खस्किएको माओवादीले यसअघि कास्कीबाट २ सिट जितेको थियो । तर, यसपटक उपयुक्त पात्र छनोट र ठूलो संख्यामा मतदाता नहुँदा दुबै सिटमा हार बेहोरे ।

अघिल्लो पटकका विकास समिति सभापति रहेका माओवादी दीपक कोइराला संघको स्वास्थ तथा गृहमन्त्री हुँदै प्रदेशमा मुख्यमन्त्रीका बलिया दाबेदार खगराज अधिकारीसँग हार बेहोरे । कास्की–१ (१) बाट जितेका खगराज मुख्यमन्त्री बनिसके ।

कास्की–३ (१) जमिनसँग नभिजेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बालशखा दुर्गादत्त भण्डारी जनता समाजवादी पार्टी हुँदै एमालेमै फर्किएका गणेशमान गुरुङसामु सहज हार बेहोरे । यसअघि कास्की प्रदेशमै चुनाव जितेर गण्डकीको अर्थमन्त्रीसमेत रहेका रामजी बराज (जीवन) संघका उम्मेदवार थिए तर हार बेहोरे ।

एमालेसहितको गठबन्धनबाट नेकपा भएर चुनावमा जाँदाभन्दा ४ सिट गुमाएर झनै कमजोर अवस्थामा प्रदेश छिरेको माओवादीका सांसद भने एकजनाबाहेक सबै सुविधाको पद भोग गर्ने ठाउँमा पुगेका छन् । रुचाल समितिको सभापति बनेसँगै गण्डकीका माओवादी सांसदमा सुविधाको पदमा नपुग्ने म्याग्दीका हरिबहादुर भण्डारीमात्र भएका छन् ।

भण्डारी पनि यसअघि एमाले सहितको सरकारमा मन्त्री हुने चर्चा थियो । तर, संघमा कांग्रेस–एमाले मिलेपछि अवसर पाएनन् ।

गोरखाबाट निर्वाचित कृष्ण धिताल सभामुख चुनिएका छन् । सुरुमा मन्त्री हुन चाहेका धिताल एमालेसहितको समर्थनले सभामुख निर्वाचित भएका हुन् ।

अघिल्लो कार्यकालमै संसदीय दलका नेता बनेर कानुनमन्त्री बनेको हरिबहादुर चुमान यसपटक भौतिक पूर्वाधार र केही दिन अर्थमन्त्रीसमेत बने । अघिल्लो कार्यकालदेखि नै मुख्यमन्त्री हुने तीव्र आकांक्षा राखेका चुमान मन्त्री पाउँदा पनि आफैं सरकारमा गए ।

गोरखाबाटै माओवादी चुनाव चिह्नमा विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा फ्लोर क्रस गर्दै उपहारमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय प्राप्त गरेका छन् ।

माओवादी संसदीय दलमा रहेका देवकोटाले पाण्डेलाई बहुमत पुर्‍याउन फ्लोर क्रस गर्दै निर्णायक मत दिएका थिए । माओवादीले उनलाई पदबाट हटाउने निर्णय गरेपछि सर्वोच्च गएका फणीन्द्रको सांसद पद तत्काल रहे पनि मुद्दा विचाराधीन नै छ ।

गोरखाबाटै समानुपातिक सांसदका रुपमा संसद छिरेकी सुशीला सिम्खडा सुरुमा प्रमुख सचेतक बनिन् भनेपछि सामाजिक विकास मन्त्री हुन सफल भइन् ।

गाउँपालिकामा हार बेहोरे पनि माओवादीले संघमा प्राप्त गरेको टिकट साटेर म्याग्दीबाट विजयी रेशमबहाुर जुग्जाली पनि दुई पटक मन्त्री बनिसके । सुरुमा खगराज नेतृत्वको सरकारमा पर्यटन मन्त्री बनेका जुग्जाली सुरेन्द्रराज नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री बनेका हुन् ।

माओवादीबाट समानुपातिक तिनै महिला गाडीसहितको सुविधामा पुगेका छन् । सिम्खडा प्रमुख सचेतक र मन्त्री हुँदा पनि गाडीसहितको सुविधाकै पदमा थिइन् भने उनीपछि बागलुङकी कुशुम बुढामगर प्रमुख सचेतक बनेर सुविधा प्रयोग गरिरहेकी छन् ।

अहिले रुचाल पनि समिति सभापति बन्दै सुविधाको पदमा पुगेकी हुन् । गठबन्धन तलमाथि हुन पनि सक्ने र त्यस्तो अवस्थामा म्याग्दीका भण्डारी मन्त्री हुने पहिलो रोजाइमै पर्ने भएकाले सांसद सबैले सुविधाको पदमा पुग्न सक्ने नेताहरुको भनाइ छ ।

आलो–पालो सधैं सत्तामै रहेको माओवादी गण्डकीमा पहिलो पटक प्रतिपक्षमा पुगेको हो । अघिल्लो कार्यकालयता सधैं सत्तामै रहेको माओवादी संघमा कांग्रेस–एमाले मिलेसँगै प्रतिपक्षको बेन्चमा पुगेको छ । सबैजसो सुविधाको पदमा पुग्न सफल भए पनि गण्डकीमा कमजोर प्रतिपक्ष रहेको माओवादीले संसदमा प्रभाव जमाउन भने सकेको छैन ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?